YouVersion लोगो
खोज आइकन

मत्ती 13:24-46

मत्ती 13:24-46 NCV

येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बीउ छर्‍यो। तर जब सबै सुतिरहेका थिए, उसको शत्रु आयो र गहुँको बीचमा सामा छरेर गयो। जब गहुँ उम्रियो अनि बाला लाग्यो, त्यहाँ सामा पनि देखा पर्‍यो। “मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बीउ छर्नुभएको होइन, अनि यी सामाहरू कताबाट आए त?’ “ ‘कुनै शत्रुले यो गर्‍यो,’ उसले जवाफ दियो। “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔं भन्‍ने तपाईं चाहनुहुन्छ?’ “उसले जवाफ दियो, ‘होइन, किनकि जब तिमीहरूले सामा उखेलिरहेका हुन्छौ, तिमीहरूले सामासित गहुँ पनि उखेल्न सक्छौ। कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्‍नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ” उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य एउटा रायोको बीउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो। यो तिम्रा अरू बीउहरूभन्दा सानो भए तापनि, जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरू भन्दा ठूलो भएर झाँगिन्छ, अनि चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।” उहाँले तिनीहरूलाई अझ अर्को दृष्‍टान्त भन्‍नुभयो: “स्वर्गको राज्य खमीरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करीब सत्ताईस किलो जति पीठोमा मिसाई, अनि सम्पूर्ण पीठो खमीरी नहुन्जेल राखी।” येशूले भीडलाई यी सबै कुराहरू दृष्‍टान्तहरूमा भन्‍नुभयो: उहाँले तिनीहरूलाई दृष्‍टान्तहरू प्रयोग नगरी केही भन्‍नुभएन। यसरी अगमवक्‍ताद्वारा भनिएको यो कुरा पूरा भयो: “म दृष्‍टान्तहरूमा आफ्नो मुख खोल्नेछु, म संसारको उत्पत्तिदेखि गुप्‍त रहेका कुराहरू प्रकाश गर्नेछु।” तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्‍टान्तको अर्थ बुझाइदिनुहोस्।” उहाँले जवाफ दिनुभयो, “जसले असल बीउ छरे, त्योचाहिँ मानिसका पुत्र हुन्। खेत संसार हो, अनि असल बीउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्‍टका सन्तान हुन्, अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो, अनि खेतालाहरू स्वर्गदूतहरू हुन्। “सामा उखेलिएर आगोमा हालिएझैं यस युगको अन्त्य पनि हुनेछ। मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछ, अनि तिनीहरूले पाप गर्न लाउने र दुष्‍ट काम गर्ने हरेकलाई राज्यदेखि बटुल्नेछन्। अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। तब धर्मात्माहरू तिनीहरूका पिताको राज्यमा सूर्यझैं चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्। “स्वर्गको राज्य खेतमा लुकाइ राखिएको गाडधनजस्तो हो। जब एकजना मानिसले त्यसलाई भेट्टायो, त्यसले फेरि लुकाइ राख्यो, अनि आनन्दसाथ गएर आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो। “फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एकजना व्यापारीजस्तो हो। जब उसले एउटा बहुमूल्य मोती भेट्टायो, ऊ गइहाल्यो अनि आफूसित भएका सबै थोक बेचेर त्यो किन्यो।

मत्ती 13 पढ्नुहोस्