मत्ती 13:24-46
मत्ती 13:24-46 नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य त्यो मानिसजस्तो हो, जसले आफ्नो खेतबारीमा असल बीउ छर्यो। तर जब सबै सुतिरहेका थिए, उसको शत्रु आयो र गहुँको बीचमा सामा छरेर गयो। जब गहुँ उम्रियो अनि बाला लाग्यो, त्यहाँ सामा पनि देखा पर्यो। “मालिकका सेवकहरू आएर उसलाई भने, ‘मालिक, के तपाईंले आफ्नो खेतबारीमा असल बीउ छर्नुभएको होइन, अनि यी सामाहरू कताबाट आए त?’ “ ‘कुनै शत्रुले यो गर्यो,’ उसले जवाफ दियो। “ती सेवकहरूले उसलाई सोधे, ‘के हामी गएर ती उखेलिदिऔं भन्ने तपाईं चाहनुहुन्छ?’ “उसले जवाफ दियो, ‘होइन, किनकि जब तिमीहरूले सामा उखेलिरहेका हुन्छौ, तिमीहरूले सामासित गहुँ पनि उखेल्न सक्छौ। कटनीको समयसम्म दुवैलाई सँगसँगै बढ्नदेओ। त्यस बेला म कटनी गर्नेहरूलाई भन्नेछु: पहिले सामा बटुलेर जलाइनको लागि बिटा बाँध: त्यसपछि गहुँ बटुलेर मेरो धनसारमा ल्याओ।’ ” उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य एउटा रायोको बीउजस्तो हो, जसलाई कुनै मानिसले लिएर बारीमा रोप्यो। यो तिम्रा अरू बीउहरूभन्दा सानो भए तापनि, जब यो बढ्छ, यो बारीमा भएका अरू बोटबिरुवाहरू भन्दा ठूलो भएर झाँगिन्छ, अनि चराचुरुङ्गीहरू यसका हाँगाहरूमा बास बस्छन्।” उहाँले तिनीहरूलाई अझ अर्को दृष्टान्त भन्नुभयो: “स्वर्गको राज्य खमीरजस्तै हो, जसलाई एउटी स्त्रीले लिएर करीब सत्ताईस किलो जति पीठोमा मिसाई, अनि सम्पूर्ण पीठो खमीरी नहुन्जेल राखी।” येशूले भीडलाई यी सबै कुराहरू दृष्टान्तहरूमा भन्नुभयो: उहाँले तिनीहरूलाई दृष्टान्तहरू प्रयोग नगरी केही भन्नुभएन। यसरी अगमवक्ताद्वारा भनिएको यो कुरा पूरा भयो: “म दृष्टान्तहरूमा आफ्नो मुख खोल्नेछु, म संसारको उत्पत्तिदेखि गुप्त रहेका कुराहरू प्रकाश गर्नेछु।” तब येशू भीडलाई छोडेर घरमा आउनुभयो। उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “हामीलाई खेतबारीमा भएको सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।” उहाँले जवाफ दिनुभयो, “जसले असल बीउ छरे, त्योचाहिँ मानिसका पुत्र हुन्। खेत संसार हो, अनि असल बीउहरू राज्यका सन्तान हुन्। सामाचाहिँ त्यस दुष्टका सन्तान हुन्, अनि त्यसलाई छर्ने शत्रु शैतान हो। कटनी युगको अन्त्य हो, अनि खेतालाहरू स्वर्गदूतहरू हुन्। “सामा उखेलिएर आगोमा हालिएझैं यस युगको अन्त्य पनि हुनेछ। मानिसका पुत्रले आफ्ना दूतहरू पठाउनेछ, अनि तिनीहरूले पाप गर्न लाउने र दुष्ट काम गर्ने हरेकलाई राज्यदेखि बटुल्नेछन्। अनि तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ। तब धर्मात्माहरू तिनीहरूका पिताको राज्यमा सूर्यझैं चम्कनेछन्। जसको कान छ, उसले सुनोस् र बुझोस्। “स्वर्गको राज्य खेतमा लुकाइ राखिएको गाडधनजस्तो हो। जब एकजना मानिसले त्यसलाई भेट्टायो, त्यसले फेरि लुकाइ राख्यो, अनि आनन्दसाथ गएर आफूसित भएका सबै थोक बेचेर त्यो खेत किन्यो। “फेरि स्वर्गको राज्य असल मोतीहरूको खोजी गर्ने एकजना व्यापारीजस्तो हो। जब उसले एउटा बहुमूल्य मोती भेट्टायो, ऊ गइहाल्यो अनि आफूसित भएका सबै थोक बेचेर त्यो किन्यो।
मत्ती 13:24-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले फेरि तिनीहरूलाई अर्को दृष्टान्त सुनाउनुभयो: “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले आफ्नो खेतमा असल बीउ छर्यो। तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो। जब बोट निस्केर त्यसमा दाना लागे, तब सामा पनि देखा पर्यो। “घरका मालिकका कमाराहरूले आएर उसलाई भने, ‘हजूर, के तपाईंले आफ्नो खेतमा असल बीउ छर्नुभएको होइन? त्यहाँ सामा कहाँबाट आयो?’ “घरको मालिकले तिनीहरूलाई भन्यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’ “तर उसले भन्यो, ‘त्यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्दा गहूँसमेत उखेल्नेछौ। फसलको समयसम्म दुवैलाई सँगसँगै बढ्न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।” येशूले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो। त्यो सबै बीउहरूमा सानो हुन्छ, तर जब बढ्छ, तब त्यो सबै सागपातहरूभन्दा ठूलो हुन्छ र रूख नै भइहाल्छ। आकाशका चराचुरुङ्गीहरू आएर त्यसका हाँगाहरूमा गुँड़ लाउँछन्।” उहाँले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो, “स्वर्गको राज्य खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलोग्राम पीठोमा मिसाई, र त्यो जम्मै खमिरले फुलिएर ठीक नभएसम्म त्यसलाई एक ठाउँमा राखी।” येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन। अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्नो मुख दृष्टान्तहरूमा खोल्नेछु, संसारको उत्पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।” तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्टान्तको अर्थ हामीलाई बताइदिनुहोस्।” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो। खेत संसार हो। असल बीउचाहिँ राज्यको सन्तान हो, र सामा दुष्टको सन्तान हो। सामा रोप्ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्त्य हो। खेतालाहरू स्वर्गदूतहरू हुन्। “जसरी सामा उखेलेर आगोमा भस्म गरिन्छ, युगको अन्त्यमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्येक थोक र दुष्ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्यबाट बटुल्नेछन्, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्। त्यहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्। तब धर्मी जनहरू आफ्ना पिताको राज्यमा सूर्यजस्ता चम्किला हुनेछन्। जसको कान छ, त्यसले सुनोस्। “स्वर्गको राज्य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्दछ, र आनन्दित भएर ऊ जान्छ र आफूसित भएका सबै बेच्छ, र त्यो खेत किन्छ। “फेरि स्वर्गको राज्य असल मोतीहरू खोज्ने एउटा व्यापारीजस्तो हो। त्यसले एउटा बहुमूल्य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्यो मोती किन्यो।
मत्ती 13:24-46 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो, त्यो रात सबै मानिसहरू निदाइरहेका थिए। त्यो मानिसको शत्रु आयो अनि गहूँको बीच-बीचमा सामा छरेर गयो। केही समयपछि गहूँ उम्रियो र बढन थाल्यो त्यही समय सामा पनि बढन थाल्यो, उसका चाकरहरू आए र मालिकलाई सोधे, ‘हजूरले आफ्नो खेतमा असल बीऊ रोप्नु भएको होइन? तब सामाको बोट चाहिं कहाँबाट आयो?’ “त्यो मानिसले जवाफ दियो, ‘केही शत्रुले त्यो छरेको थियो।’ “चाकरहरूले सोधे, ‘त के हामीले गएर ती सामा उखेलेको तपाईं चाहनु हुन्छ?’ “त्यो मानिसले जवाफ दियो, ‘अँहँ, किनभने तिमीहरूले सामा उखेल्दा गहूँ पनि उखेल्न सक्छौ। फसलको समयसम्म सामा र गहूँ दुवैलाई सँगसँगै बढन देऊ। फसल कटाइको बेलामा म खेतालाहरूलाई भन्नेछु, पहिले: सामा बटुलेर तिनीहरूलाई जलाउनुको निम्ति बिटा-बिटा बाँध। त्यसपछि गहूँ बटुल र मेरो भण्डारमा जम्मा गर।’” तब येशूले मानिसहरूलाई अर्को उखान भन्नु भयो: “स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो। त्यो बीऊ अरू बीऊहरूमध्ये सबैभन्दा सानो बीऊ हुन्छ। तर जब यो उम्रन्छ त्यो बारीको सबभन्दा ठूलो पोथ्रा हुन सक्छ। त्यो रूख जस्तै उम्रन सक्छ हाँगाहरू यति ठुला उम्रन सक्छन् कि तिनमा चरा-चुङ्गीहरूले आफ्ना निम्ति गुँड बनाउन सक्छन्।” येशूले अर्को उखान भन्नुभयो, “स्वर्गको राज्य खमीर जस्तो हो। जसलाई एउटी स्त्रीले रोटी बनाउन एउटा ठूलो भाँडामा पिठोसित मिसाइन्। त्यो खमीरले पीठोको सबै डल्लालाई खमीरी बनायो।” येशूले मानिसहरूलाई यी सबैकुराहरू भन्नलाई उखानहरू उपयोग गर्नुभयो। वास्तवमा उहाँले तिनीहरूलाई उखानहरूको उपयोग नगरी कहिले केही भन्नु भएन। अगमवक्ताद्वारा भनिएका कुराहरूलाई पूर्ण गर्न यस्तो भएको हो: “म उखान मार्फत तिमीहरूसँग बोल्छु; उखानहरूमा संसारको सृष्टि भएको समय देखि गुप्त राखिएका कुराहरू भन्नेछु।” त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, “कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।” येशूले जवाफ दिनुभयो, “खेतमा असल बीऊ छर्ने मानिस मानिसको पुत्र हो। संसार नै खेत हो। असल बीऊहरू राज्यमा परमेश्वरकै मानिसहरू हुन्। सामा दुष्टका सन्तानहरू हुन्। नराम्रो बीऊहरू छर्ने शत्रुका चाहिं शैतान हो। फसलकाटने समय चाहिँ संसारको अन्त्य हो। अनि फसल काट्नेहरू परमेश्वरका दूतहरू हुन्। “सामाहरू बटुले पछि ती अगोमा जलाइनेछन्, संसारको अन्त्यमा पनि त्यस्तै हुनेछ। मानिसको पुत्रले आफ्ना दूतहरू पठाउनेछन् र तिनीहरूले ती सबैलाई भेला गर्नेछन् जसले पाप र दुष्टता गर्छन् दुतहरूले उनीहरूलाई राज्यदेखि बाहिर निकालि दिनेछन्। स्वर्गदूतहरूले तिनीहरूलाई ज्वलन्त भट्टीमा फालिदिने छन्। त्यहाँ मानिसहरू रूवाबासी गर्दै दाँतकिट्दै रहनेछन्। तब धर्मीहरू घाम जस्तै चम्कने छन्। तिनीहरू आफ्ना पिताको राज्यमा हुनेछन्। हे मानिसहरू जसले सुन्न सक्छौ, मेरो कुरा सुन। “स्वर्गको राज्य जमीनमा लुकाइएको सम्पत्ति जस्तै हो। कुनै एक दिन एउटा मानिसले त्यो पायो, ऊ खूबै खुशी भयो। उसले त्यसलाई फेरि खेतमा लुकायो। तब ऊ गएर आफूसंग भएको सबै चिजहरू बेच्यो र त्यो खेत किन्यो। “फेरि, स्वर्गको राज्य एक व्यापरी जस्तै हो, जसले असल मोतीहरू खोज्छ। एकदिन त्यो व्यापारीले एउटा बहुमूल्य मोती फेला पार्यो। र उसले गएर आफूसँग भएको सबै बेचेर त्यो मोती किन्यो।
मत्ती 13:24-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले फेरि दृष्टान्त भन्नुभयो, “हेर, परमेश्वरको राज्य आफ्नो बारीमा राम्रो बिउ छर्ने एक जना मानिसजस्तो हुन्छ। शत्रुले राती सबै सुतेको मौका छोपेर त्यही असल गहुँ छरेको बारीमा सामाको बिउ छरिदियो। अब गहुँ बढेर बाला लाग्दा सामा पनि देखा पर्यो । अनि बारीको धनीका नोकरहरूले आएर तिनलाई भने, ‘हजुर, तपाईंले बारीमा राम्रो बिउ छर्नुभएको होइन र? हेर्नुहोस् त, यो सामा कहाँबाट आयो?’ तिनले भने, ‘कुनै शत्रुले यसो गरिदियो होला।’ नोकरहरूले सोधे, ‘त्यसो भए हामी गएर ती सामाहरू उखेलौं त?’ तर बारीका धनीले भने, ‘होइन, अहिले नउखेल। यदि सामा उखेल्न लाग्यौ भने त झुक्किएर गहुँ पनि उखेलिनेछ। बरु बाली थन्क्याउने बेला नभएसम्म दुवैलाई सँगसँगै बढ्न देओ अनि बाली थन्क्याउने बेलामा म खेतालाहरूलाई ‘पहिले सामा जम्मा गरेर आगोमा डढाउन मुठो पार अनि गहुँचाहिँ उठाएर भकारीमा राख’ भन्नेछु।” येशूले फेरि अर्को एउटा दृष्टान्तको रूपमा शिक्षा दिनुभयो, “परमेश्वरको राज्य रायोको बिउजस्तो हुन्छ। एउटा मान्छेले रायोको बिउ लिएर आफ्नो बारीमा छर्छ। बिउहरूमा सबभन्दा सानो भए पनि उम्रेपछि त्यो बारीमा हुने अरू बोटभन्दा ठूलो हुन्छ अनि चरा-चुरुङ्गी आएर यसका हाँगा-बिँगामा गुँड बनाएर बस्छन्।” अनि फेरि पनि येशूले अर्को एउटा दृष्टान्त दिँदै भन्नुभयो, “परमेश्वरको राज्य रोटी फुलाउने खमिरजस्तो हुन्छ। एउटी स्त्रीले अलिकति खमिर लिएर तीन पाथी जति पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!” येशूले मानिसहरूलाई सबै कुरा दृष्टान्तको रूपमै भन्नुहुन्थ्यो। उहाँले तिनीहरूलाई दृष्टान्तबिना शिक्षा दिनुभएन अनि यसरी अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– म तिनीहरूलाई दृष्टान्तको रूपमा कुरा गर्नेछु र संसारको सृष्टि भएदेखि थाहा नपाइएका कुराहरू भन्नेछु। त्यसपछि येशू मानिसहरूलाई छोडेर भित्र पस्नुभयो अनि चेलाहरूले आएर उहाँलाई भने, “हामीलाई सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।” येशूले भन्नुभयो, “राम्रो बिउ छर्ने मानिसचाहिँ मानव पुत्र हो। बारीचाहिँ यो संसार हो अनि राम्रा बिउहरू परमेश्वरका राज्यका सन्तान हुन् र सामाचाहिँ दुष्टका सन्तान हुन्। सामाको बिउ छर्ने शत्रुचाहिँ शैतान हो अनि बाली थन्क्याउने बेला भनेको चाहिँ यस संसारको आखिरी दिन हो र बाली काट्ने र थन्क्याउने खेतालाचाहिँ स्वर्गदूतहरू हुन्। सामा आगोमा डढाउन बटुलिएजस्तै यस संसारको आखिरी दिनमा पनि त्यसै गरिनेछ। त्यस दिन मानव पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन् र तिनीहरूले उनको राज्यभरिका पाप गर्ने र पाप गर्न लगाउनेहरू सबैलाई बटुलेर आगोको भट्टीमा हालिदिनेछन्। त्यहाँ तिनीहरूले दाह्रा किट्दै रुवाबासी गर्नेछन्। परमेश्वरका सामुन्ने धर्मी ठहरिनेहरूचाहिँ आफ्ना पिता परमेश्वरको राज्यमा सूर्यजस्तै चम्केर बस्नेछन्। जसको कान छ, त्यसले सुनोस्! “परमेश्वरको राज्यचाहिँ जमिनमा गाडेको बहुमूल्य धनजस्तै हुन्छ। कुनै मानिसले यसलाई पाउँछ र फेरि छोपेर राख्छ अनि ऊ खुसी हुँदै गएर आफ्ना भएभरको सम्पत्ति बेची त्यो बारी किनिछोड्छ। “फेरि परमेश्वरको राज्य राम्रो खालको मोती खोज्दै हिँड्ने एउटा व्यापारीजस्तै हो। धेरैभन्दा धेरै मोल पर्ने मोती भेट्टाउँदा उसले आफ्नो भएभरको जेथा बेचेर त्यो मोती किनिछोड्छ!