YouVersion लोगो
खोज आइकन

मत्ती 13:24-46

मत्ती 13:24-46 NNRV

येशूले फेरि तिनीहरूलाई अर्को दृष्‍टान्‍त सुनाउनुभयो: “स्‍वर्गको राज्‍य एक जना मानिसजस्‍तो हो, जसले आफ्‍नो खेतमा असल बीउ छर्‍यो। तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो। जब बोट निस्‍केर त्‍यसमा दाना लागे, तब सामा पनि देखा पर्‍यो। “घरका मालिकका कमाराहरूले आएर उसलाई भने, ‘हजूर, के तपाईंले आफ्‍नो खेतमा असल बीउ छर्नुभएको होइन? त्‍यहाँ सामा कहाँबाट आयो?’ “घरको मालिकले तिनीहरूलाई भन्‍यो, ‘कुनै शत्रुले यसो गरेको हो।’ कमाराहरूले उसलाई भने, ‘के हामी गएर ती बटुलौं?’ “तर उसले भन्‍यो, ‘त्‍यसो नगर, नत्रता तिमीहरूले सामा उखेल्‍दा गहूँसमेत उखेल्नेछौ। फसलको समयसम्‍म दुवैलाई सँगसँगै बढ्‌न देओ। फसलको बेलामा म कटनी गर्नेहरूलाई भन्‍नेछु, ‘पहिले सामा उखेलेर जलाउनलाई बिटा बाँध, तर गहूँचाहिँ मेरो ढुकुटीमा राख’।” येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा रोप्‍‍यो। त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ। आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड़ लाउँछन्‌।” उहाँले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, “स्‍वर्गको राज्‍य खमिरजस्‍तो हो, जो एउटी स्‍त्रीले पच्‍चीस किलोग्राम पीठोमा मिसाई, र त्‍यो जम्‍मै खमिरले फुलिएर ठीक नभएसम्‍म त्‍यसलाई एक ठाउँमा राखी।” येशूले यी सबै कुरा मानिसहरूलाई दृष्‍टान्‍तमा भन्‍नुभयो। विनादृष्‍टान्‍त उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन। अगमवक्ताद्वारा यसरी भनिएको वचन पूरा भयो: “म आफ्‍नो मुख दृष्‍टान्‍तहरूमा खोल्‍नेछु, संसारको उत्‍पत्तिदेखि लुकाइराखेका कुरा म जाहेर गर्दछु।” तब उहाँ भीड़लाई छोड़ेर घरमा जानुभयो, र उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “खेतको सामाबारे दृष्‍टान्‍तको अर्थ हामीलाई बताइदिनुहोस्‌।” उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “असल बीउ छर्नेचाहिँ मानिसको पुत्र हो। खेत संसार हो। असल बीउचाहिँ राज्‍यको सन्‍तान हो, र सामा दुष्‍टको सन्‍तान हो। सामा रोप्‍ने शत्रुचाहिँ दियाबलस हो। फसलको समयचाहिँ युगको अन्‍त्‍य हो। खेतालाहरू स्‍वर्गदूतहरू हुन्‌। “जसरी सामा उखेलेर आगोमा भस्‍म गरिन्‍छ, युगको अन्‍त्‍यमा पनि त्‍यस्‍तै हुनेछ। मानिसको पुत्रले आफ्‍ना दूतहरू पठाउनेछ, र पाप गर्न लाउने प्रत्‍येक थोक र दुष्‍ट काम गर्नेहरू सबैलाई तिनीहरूले उसको राज्‍यबाट बटुल्‍नेछन्, र उनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌। तब धर्मी जनहरू आफ्‍ना पिताको राज्‍यमा सूर्यजस्‍ता चम्‍किला हुनेछन्‌। जसको कान छ, त्‍यसले सुनोस्‌। “स्‍वर्गको राज्‍य कुनै एउटा खेतमा गाडी राखिएको गाड़धनजस्‍तो हो, जो एक जना मानिसले भेट्टाएर लुकाइराख्‍दछ, र आनन्‍दित भएर ऊ जान्‍छ र आफूसित भएका सबै बेच्‍छ, र त्‍यो खेत किन्‍छ। “फेरि स्‍वर्गको राज्‍य असल मोतीहरू खोज्‍ने एउटा व्‍यापारीजस्‍तो हो। त्‍यसले एउटा बहुमूल्‍य मोती भेट्टाएपछि गएर आफूसँग भएका सबै बेचेर त्‍यो मोती किन्‍यो।