येशूले फेरि दृष्टान्त भन्नुभयो, “हेर, परमेश्वरको राज्य आफ्नो बारीमा राम्रो बिउ छर्ने एक जना मानिसजस्तो हुन्छ। शत्रुले राती सबै सुतेको मौका छोपेर त्यही असल गहुँ छरेको बारीमा सामाको बिउ छरिदियो। अब गहुँ बढेर बाला लाग्दा सामा पनि देखा पर्यो । अनि बारीको धनीका नोकरहरूले आएर तिनलाई भने, ‘हजुर, तपाईंले बारीमा राम्रो बिउ छर्नुभएको होइन र? हेर्नुहोस् त, यो सामा कहाँबाट आयो?’ तिनले भने, ‘कुनै शत्रुले यसो गरिदियो होला।’ नोकरहरूले सोधे, ‘त्यसो भए हामी गएर ती सामाहरू उखेलौं त?’ तर बारीका धनीले भने, ‘होइन, अहिले नउखेल। यदि सामा उखेल्न लाग्यौ भने त झुक्किएर गहुँ पनि उखेलिनेछ। बरु बाली थन्क्याउने बेला नभएसम्म दुवैलाई सँगसँगै बढ्न देओ अनि बाली थन्क्याउने बेलामा म खेतालाहरूलाई ‘पहिले सामा जम्मा गरेर आगोमा डढाउन मुठो पार अनि गहुँचाहिँ उठाएर भकारीमा राख’ भन्नेछु।” येशूले फेरि अर्को एउटा दृष्टान्तको रूपमा शिक्षा दिनुभयो, “परमेश्वरको राज्य रायोको बिउजस्तो हुन्छ। एउटा मान्छेले रायोको बिउ लिएर आफ्नो बारीमा छर्छ। बिउहरूमा सबभन्दा सानो भए पनि उम्रेपछि त्यो बारीमा हुने अरू बोटभन्दा ठूलो हुन्छ अनि चरा-चुरुङ्गी आएर यसका हाँगा-बिँगामा गुँड बनाएर बस्छन्।” अनि फेरि पनि येशूले अर्को एउटा दृष्टान्त दिँदै भन्नुभयो, “परमेश्वरको राज्य रोटी फुलाउने खमिरजस्तो हुन्छ। एउटी स्त्रीले अलिकति खमिर लिएर तीन पाथी जति पिठोमा मिसाउँछे अनि पूरै पिठो फुलेर आउँछ!” येशूले मानिसहरूलाई सबै कुरा दृष्टान्तको रूपमै भन्नुहुन्थ्यो। उहाँले तिनीहरूलाई दृष्टान्तबिना शिक्षा दिनुभएन अनि यसरी अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– म तिनीहरूलाई दृष्टान्तको रूपमा कुरा गर्नेछु र संसारको सृष्टि भएदेखि थाहा नपाइएका कुराहरू भन्नेछु। त्यसपछि येशू मानिसहरूलाई छोडेर भित्र पस्नुभयो अनि चेलाहरूले आएर उहाँलाई भने, “हामीलाई सामाको दृष्टान्तको अर्थ बुझाइदिनुहोस्।” येशूले भन्नुभयो, “राम्रो बिउ छर्ने मानिसचाहिँ मानव पुत्र हो। बारीचाहिँ यो संसार हो अनि राम्रा बिउहरू परमेश्वरका राज्यका सन्तान हुन् र सामाचाहिँ दुष्टका सन्तान हुन्। सामाको बिउ छर्ने शत्रुचाहिँ शैतान हो अनि बाली थन्क्याउने बेला भनेको चाहिँ यस संसारको आखिरी दिन हो र बाली काट्ने र थन्क्याउने खेतालाचाहिँ स्वर्गदूतहरू हुन्। सामा आगोमा डढाउन बटुलिएजस्तै यस संसारको आखिरी दिनमा पनि त्यसै गरिनेछ। त्यस दिन मानव पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन् र तिनीहरूले उनको राज्यभरिका पाप गर्ने र पाप गर्न लगाउनेहरू सबैलाई बटुलेर आगोको भट्टीमा हालिदिनेछन्। त्यहाँ तिनीहरूले दाह्रा किट्दै रुवाबासी गर्नेछन्। परमेश्वरका सामुन्ने धर्मी ठहरिनेहरूचाहिँ आफ्ना पिता परमेश्वरको राज्यमा सूर्यजस्तै चम्केर बस्नेछन्। जसको कान छ, त्यसले सुनोस्! “परमेश्वरको राज्यचाहिँ जमिनमा गाडेको बहुमूल्य धनजस्तै हुन्छ। कुनै मानिसले यसलाई पाउँछ र फेरि छोपेर राख्छ अनि ऊ खुसी हुँदै गएर आफ्ना भएभरको सम्पत्ति बेची त्यो बारी किनिछोड्छ। “फेरि परमेश्वरको राज्य राम्रो खालको मोती खोज्दै हिँड्ने एउटा व्यापारीजस्तै हो। धेरैभन्दा धेरै मोल पर्ने मोती भेट्टाउँदा उसले आफ्नो भएभरको जेथा बेचेर त्यो मोती किनिछोड्छ!
मत्ती 13 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 13:24-46
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू