यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइन, तर दया चाहन्छु’ भन्ने बुझेका भए, तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ। किनकि मानिसको पुत्र शब्बाथको प्रभु हो।” त्यस ठाउँदेखि अगि बढ्दै उहाँ तिनीहरूका सभाघरमा जानुभयो। त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। येशूलाई दोष लगाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, “के शब्बाथमा निको पार्नु उचित छ?” उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि तिमीहरूको एउटा भेडा छ; अनि त्यो शब्बाथमा खाडलभित्र खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ र? मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण शब्बाथमा असल गर्नु उचित हुन्छ।” तब उहाँले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पसार।” त्यसले सीधा पसार्यो, र त्यसको हात अर्कोजस्तै निको भयो। तर फरिसीहरू बाहिर गइहाले; अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले। त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँका पछि लागे; र उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो। अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्नू भनी चेतावनी दिनुभयो। यो यशैयाबाट भनिएको कुरा पूरा हुनलाई थियो: “यिनी मेरा सेवक हुन्, जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु, जससँग म प्रसन्न छु; म मेरो आत्मा तिनीमाथि राख्नेछु, अनि तिनले राष्ट्रहरूलाई न्यायको घोषणा गर्नेछन्। तिनले झगडा गर्नेछैनन्, न त चिच्याउनेछन्; तिनको सोर सडकतिर कसैले पनि सुन्नेछैन। चोट परेको निगालोलाई तिनले भाँच्नेछैनन्, अनि धुवाँ आउँदैगरेको सलेदोलाई तिनले निभाउनेछैनन्, जबसम्म तिनले न्यायलाई विजयसम्म पुर्याउँदैनन्। तिनकै नाममा राष्ट्रहरूले आफ्ना आशा राख्नेछन्।”
मत्ती 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 12:7-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू