YouVersion लोगो
खोज आइकन

मत्ती 12:7-21

मत्ती 12:7-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तर ‘म बलिदान होइन, दया चाहन्‍छु’ भनेको अर्थ के हो सो तिमीहरूले जानेका भए तिमीहरूले निर्दोषीलाई दोष लाउनेथिएनौ। किनकि मानिसको पुत्र शबाथको प्रभु हो।” त्‍यहाँबाट निस्‍केर उहाँ तिनीहरूको सभाघरमा जानुभयो। त्‍यहाँ एउटा हात सुकेको मानिस थियो। तिनीहरूले येशूलाई दोष लगाउने अभिप्रायले उहाँलाई सोधे, “के शबाथमा कसैलाई निको पार्नु उचित छ?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूमध्‍ये कसैको एउटा भेड़ा छ, र शबाथमा त्‍यो खाल्‍डोमा पर्‍यो भने, के तिमी त्‍यसलाई समातेर बाहिर निकाल्‍दैनौ र? भेड़ाभन्‍दा मानिस कति बढ़ी मूल्‍यवान्‌ छ? यसैकारण शबाथमा भलो गर्नु उचित छ।” तब उहाँले त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले हात पसार्‍यो, र त्‍यो हात अर्को जस्‍तै सद्दे भइगयो। तर फरिसीहरूले बाहिर गएर उहाँलाई कसरी नाश गरौं भनेर उहाँको विरुद्धमा मतो गर्न लागे। तब त्‍यो कुरा थाहा पाएर येशू त्‍यहाँबाट गइहाल्‍नुभयो, र धेरै जना उहाँको पछि लागे, र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो, र उहाँ को हुनुहुन्‍छ सो कसैलाई नबताउने चेताउनी तिनीहरूलाई दिनुभयो। यशैया अगमवक्ताद्वारा भनिएको वचन पूरा हुनलाई नै यो भएको हो, “मेरा दास जसलाई मैले चुनेको छु, मेरा प्रिय जोसँग म प्रसन्‍न छु, म मेरो आत्‍मा तिनमा राखिदिनेछु, र तिनले जाति-जातिलाई न्‍यायको घोषणा गरिदिनेछन्‌। तिनी न त झगड़ा गर्नेछन्‌ न साह्रै चिच्‍च्‍याउनेछन्, न त कसैले तिनको सोर गल्‍लीहरूमा सुन्‍नेछ। फुटेको निगालो तिनले भाँच्‍नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्, र अन्‍त्‍यमा न्‍यायलाई विजयसम्‍म पुर्‍याउनेछन्‌। तिनैको नाउँमा जाति-जातिहरूले आशा राख्‍नेछन्‌।”

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:7-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

यदि तिमीहरूले यो कुरा अर्थात् ‘म बलिदान होइन, तर दया चाहन्छु’ भन्‍ने बुझेका भए, तिमीहरूले निर्दोषलाई दोषी ठहराउने थिएनौ। किनकि मानिसको पुत्र शब्बाथको प्रभु हो।” त्यस ठाउँदेखि अगि बढ्दै उहाँ तिनीहरूका सभाघरमा जानुभयो। त्यहाँ हात सुकेर नचल्ने भएको एक जना मानिस थियो। येशूलाई दोष लगाउने कारण भेट्टाउनलाई तिनीहरूले उहाँलाई सोधे, “के शब्बाथमा निको पार्नु उचित छ?” उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरूको एउटा भेडा छ; अनि त्यो शब्बाथमा खाडलभित्र खस्यो भने के तिमीहरूले त्यसलाई समातेर बाहिर निकाल्नेछैनौ र? मानिस भेडाभन्दा कति मूल्यवान् हुन्छ! यसकारण शब्बाथमा असल गर्नु उचित हुन्छ।” तब उहाँले त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पसार।” त्यसले सीधा पसार्‍यो, र त्यसको हात अर्कोजस्तै निको भयो। तर फरिसीहरू बाहिर गइहाले; अनि येशूलाई कसरी मार्ने भनी षड्यन्त्र रच्न थाले। त्यो कुरा थाहा पाएर येशू त्यस ठाउँबाट गइहाल्नुभयो। एउटा ठूलो भीड उहाँका पछि लागे; र उहाँले तिनीहरूका सबै बिरामीहरूलाई निको पार्नुभयो। अनि उहाँ को हुनुहुन्छ त्यो कसैलाई नभन्‍नू भनी चेतावनी दिनुभयो। यो यशैयाबाट भनिएको कुरा पूरा हुनलाई थियो: “यिनी मेरा सेवक हुन्, जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु, जससँग म प्रसन्‍न छु; म मेरो आत्मा तिनीमाथि राख्नेछु, अनि तिनले राष्ट्रहरूलाई न्यायको घोषणा गर्नेछन्। तिनले झगडा गर्नेछैनन्, न त चिच्याउनेछन्; तिनको सोर सडकतिर कसैले पनि सुन्‍नेछैन। चोट परेको निगालोलाई तिनले भाँच्नेछैनन्, अनि धुवाँ आउँदैगरेको सलेदोलाई तिनले निभाउनेछैनन्, जबसम्म तिनले न्यायलाई विजयसम्म पुर्‍याउँदैनन्। तिनकै नाममा राष्ट्रहरूले आफ्ना आशा राख्नेछन्।”

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:7-21 पवित्र बाइबल (NERV)

धर्मशास्त्रमा भनिएको छ, ‘म पशुहरूको बलिदान चाहन्न। म मानिसहरूमा दया चाहन्छु।’ वास्तवमा तिमीहरू ती शब्दहरूका अर्थ के हो त्यो पनि जान्दैनौ। यदि ती शब्दहरूका अर्थ तिमीहरूले बुझ्यौ भने ती तिमीहरूले निर्दोषहरूलाई न्याय गर्ने थिएनौ। “मानिसको पुत्र विश्राम दिनको पनि प्रभु हो।” येशू त्यहाँबाट हिँड्नु भयो अनि तिनीहरूको सभाघरमा जानूभयो। उहाँले सभाघरमा एउटा सुकेर चाउरिएको हात भएको मानिसलाई देख्नु भयो। केही यहूदीहरू येशूलाई दोष लगाउनलाई निहुँ खोजिरहेका थिए। अनि तिनीहरूले उहाँलाई सोधे, “के विश्रामको दिनमा कसैलाई निको पार्नु न्यायोचित छ?” उहाँले भन्नुभयो, “यदि तिमीहरूमध्ये कसैको एउटा भेंडा़ छ, त्यो विश्रामकोदिनमा एउटा खाल्डामा खस्यो भने के आफ्नो हातले समातेर बाहिर तान्दैनौ? एउटा मानिस भेंडा़ भन्दा धेरै असल हुन्छ। त्यसर्थ विश्रामको दिनमा भलो गर्न व्यवस्थाले दिन्छ।” तब उहाँले त्यस डुँडेहात भएको मानिसलाई भन्नुभयो, “मलाई तिम्रो हात हेर्न देऊ।” त्यसले येशू भएतिर हात पसार्यो। अनि उसको हात, त्यो अर्को हात जस्तै निको भयो। तर फरिसीहरू बाहिर गए अनि येशूलाई मार्नका निम्ति योजना बनाए। फरिसीहरूले के गर्न लगिरहेका थिए सो येशूलाई थाहा भयो। अनि उहाँले त्यो ठाउँ छोड्नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याउन लागे। उहाँले सबै रोगीहरूलाई निको पारी दिनुभयो। उहाँ को हुनुहुन्छ भनेर मानिसहरूलाई केही नभन्नुभनी तिनीहरूलाई येशूले चेताउनी दिनुभएको थियो। येशूले यी कुराहरू यशैया अगमवक्ताले भनेका कुराहरू पूर्ण गर्नका निम्ति गर्नु भयो। “यहाँ मेरो दास छ, मैले उसलाई चुनेको हुँ। म उसलाई प्रेम गर्छु अनि म उसित खुशी छु। म मेरो आत्मा उसमा हालिदिनेछु, अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ। उसले झगडा गर्नेछैन न त चिच्याउने नै छ; उसको स्वर कसैले पनि गल्लीहरूमा सुन्ने छैन। उसले बाङ्गि सकेको निगालो भाँच्ने छैन। उसले जलिहरेको दीयो निभ्दै जाँदैछ भनि निभाउने छैन। उसले यी सबै गरिरहनेछ जबसम्म साँच्चो न्यायले विजय प्राप्त गर्दैन। सबै राष्ट्रहरूले उहाँमाथिनै आशा गर्नेछन्।”

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्

मत्ती 12:7-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

‘म पशु बलि होइन, तिमीहरूले दया गरेको पो चाहन्‍छु’ भनेर परमेश्‍वरले भन्‍नुभएको कुरा बुझेका भएदेखि तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। म मानव पुत्र विश्राम दिनको पनि मालिक हुँ।” त्‍यहाँबाट येशू तिनीहरूको सभाघरमा जानुभयो। त्‍यहाँ एक जना हात सुकेको मानिस थियो। अनि येशूलाई दोष लगाउने विचारले फरिसीहरूले सोधे, “विश्रामको दिन बिरामीलाई निको पार्नुहुन्‍छ कि हुँदैन?” येशूले जवाफ दिनुभयो, “तिमीहरूमध्‍ये कसैको भेडा विश्रामको दिन खाडलमा पर्‍यो भने त्‍यसलाई झट्टै बाहिर निकाल्‍दैनौ र? भेडाभन्दा त मानिस धेरै मूल्‍यवान् हो। यसकारण व्यवस्थाअनुसार पनि विश्रामको दिनमा राम्रो काम गर्नु ठीक ठहरिन्‍छ।” त्‍यसपछि येशूले त्‍यस हात सुकेको मानिसलाई भन्‍नुभयो, “तिम्रो हात तन्‍काऊ!” त्‍यस मानिसले हात तन्‍कायो र त्‍यो हात निको भइहाल्‍यो। तब फरिसीहरू सभाघरबाट निस्‍केर गए र येशूलाई कसरी मारौं भनी सल्‍लाह गर्न लागे। आफ्‍नो विरुद्धमा सल्‍लाह गरेको थाहा पाएर येशू त्‍यहाँबाट हिँड्‍नुभयो। धेरै मानिसहरूले उहाँलाई पछ्याए र उहाँले तिनीहरूको बीचमा भएका सबै बिरामीलाई निको पार्नुभयो। तर उहाँले तिनीहरूलाई ‘यस विषयमा कसैलाई केही नभन्‍नू’ भन्‍ने आज्ञा दिनुभयो। यसरी परमेश्‍वरले यशैया अगमवक्ताद्वारा भन्‍नुभएको यो कुरा पूरा हुन आएको हो– हेर, मैले चुनेको मेरो प्‍यारो सेवक यिनी नै हुन्। यिनीदेखि म धेरै खुसी छु, यिनमा म आफ्‍नो आत्‍मा खन्‍याउँछु अनि यिनले नै सबै जातिका मानिसहरूलाई न्‍यायको प्रचार गर्नेछन्। यिनले न झगडा गर्नेछन्, नता चिच्‍च्‍याएर हल्‍ला गर्नेछन्, न सडकहरूहुँदो कराउँदै हिँड्‍नेछन्। नुहेको निगालो पनि यिनले भाँच्‍नेछैनन् र धिपधिप गरिरहेको बत्ती पनि निभाउनेछैनन्। यिनले न्‍यायलाई जितमा पुर्‍याउनेछन् र सबै जातिका मानिसहरूले आफ्‍नो आशा यिनकै नाउँमा राख्‍नेछन्।

शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्