“ ‘शब्बाथको भोलिपल्ट अर्थात् तिमीहरूले विशेष भेटीको बिटा ल्याएको दिनदेखि पूरा सात हप्ता गन्नू। सातौँ शब्बाथको भोलिपल्टसम्म पचास दिन गन्नू; अनि नयाँ अन्नबलि याहवेहकहाँ चढाउनू। तिमीहरू जहाँ भए तापनि आ-आफ्नो घरबाट चढाउने भेटीको रूपमा दुई वटा रोटीहरू ल्याउनू। यी रोटीहरू एपाको दश भागको दुई भाग मसिनो पिठो प्रयोग गरेर बनाउनू। यी रोटीहरू खमिर हालेर बनाउनू। अनि कटनी गरेको पहिलो फल बलिस्वरूप विशेष भेटीको रूपमा चढाइनका लागि याहवेहकहाँ ल्याउनू त्यस रोटीसित भेडाका निष्खोट एकवर्षे सात वटा पाठा, एउटा बाछा र दुई वटा भेडा ल्याउनू। ती तिनीहरूका अन्नबलि र अर्घबलिसहित अग्निबलिको रूपमा याहवेहका निम्ति मिठो बास्नाको होमबलि हुनेछन्। त्यसपछि पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका र मेलबलिका निम्ति भेडाका एकवर्षे दुई वटा पाठाहरू चढाउनू। पुजारीले ती दुई भेडालाई अगौटे फलको रोटीसित विशेष भेटीको रूपमा अर्पण गरिनका लागि उचालोस्। पुजारीका निम्ति ती याहवेहकहाँ पवित्र बलि हुन्। त्यही दिन तैँले एउटा पवित्र सभाको घोषणा गर्नू; तर दैनिक काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि पुस्तौँ-पुस्ताका लागि यो एउटा सधैँ रहिरहने विधि हो। “ ‘तिमीहरूले आफ्नो जमिनको फसल कटनी गर्दा जमिनको किनारसम्म नकाट्नू, अथवा आफ्नो कटनीको सिलाबाला नबटुल्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।’ ” याहवेहले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति शब्बाथ विश्रामदिन हुनुपर्छ। तुरही फुकेर सम्झनाका निम्ति एक पवित्र सभा हुनुपर्छ। नियमित काम नगर्नू, तर आगोद्वारा चढाइने भेटी याहवेहकहाँ चढाउनू।’ ” याहवेहले मोशालाई भन्नुभयो, “यस सातौँ महिनाको दशौँ दिन प्रायश्चितको दिन हो। एउटा पवित्र सभा बोलाउनू र आफूलाई इन्कार गर्नू; अनि याहवेहकहाँ अग्निबलि चढाउनू। त्यस दिन कुनै काम नगर्नू। किनकि त्यो याहवेह तिमीहरूका परमेश्वरको सामु तिमीहरूका निम्ति प्रायश्चित गरिने प्रायश्चितको दिन हो। त्यस दिन आफूलाई इन्कार नगर्नेलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। त्यस दिन कुनै पनि काम गर्नेलाई म त्यसका मानिसहरूबाट नाश गर्नेछु। तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि भावी पुस्ताका लागि यो सधैँभरि रहिरहने एक विधि हो। यो तिमीहरूका निम्ति शब्बाथ विश्रामदिन हो। अनि तिमीहरूले आफूलाई इन्कार गर्नू। महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्टको साँझसम्म तिमीहरूले आफ्ना शब्बाथ पालन गर्नू।”
लेवी 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 23:15-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू