YouVersion लोगो
खोज आइकन

लेवीहरू 23:15-32

लेवीहरू 23:15-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“‘शबाथको भोलिपल्‍टदेखि, अर्थात्‌ तिमीहरूले डोलाइने बलिको बिटा ल्‍याएको दिनदेखि सात हप्‍ता तिमीहरूले गन्‍नू, अर्थात्‌ सातौँ शबाथको भोलिपल्‍टसम्‍म पचास दिन गन्‍नू। त्‍यही दिन तिमीहरूले परमप्रभुको निम्‍ति नयाँ अन्‍नको बलि चढ़ाउनू। तिमीहरूले आफ्‍नो घरदेखि एक पाथी मसिनो पीठोले बनाएका र खमिर मिलाएर पकाएका दुई वटा रोटी परमप्रभुको निम्‍ति अगौटे फलको बलि स्‍वरूप ल्‍याउनू। ती रोटीसित एक वर्षे सात वटा निष्‍खोट थुमा र एउटा साँढ़े र दुई वटा भेड़ाहरू चढ़ाउनू। ती तिनीसँगका अन्‍नबलि र अर्घ-बलिसमेत परमप्रभुको निम्‍ति आगोद्वारा चढ़ाइने मीठो बास्‍नाको होमबलि होस्‌। त्‍यसपछि तिमीहरूले पापबलिको निम्‍ति एउटा बोका र मेलबलिको निम्‍ति एक वर्षे दुई वटा थुमा चढ़ाउनू। पूजाहारीले परमप्रभुको सामु, अगौटे फलको रोटीसँगसँगै डोलाइने बलिको निम्‍ति दुई वटा थुमा डोलाऊन्‌। पूजाहारीको हिस्‍सा हुनलाई त्‍यो परमप्रभुको निम्‍ति पवित्र बलि होस्‌। त्‍यस दिन पवित्र सभा हो भनी तिमीहरूले घोषणा गर्नू। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌। “‘तिमीहरूले आफ्‍नो देशमा खेतको बाली काट्‌दा खेतका छेउ-छेउसम्‍म निखारेर नकाट्‌नू। तिमीहरूले आफ्‍नो बालीको शिला-बाला नबटुल्‍नू। ती तिमीहरूले गरीब र परदेशीहरूका निम्‍ति छोड़िदिनू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्‌: ‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूका निम्‍ति विशेष विश्रामको दिन होस्‌। त्‍यस दिन सम्‍झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस्‌। तिमीहरूले त्‍यस दिनमा दैनिक काम नगर्नू, तर परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू’।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “सातौँ महिनाको दशौँ दिनचाहिँ प्रायश्‍चितको दिन होस्‌। त्‍यस दिन तिमीहरूले पवित्र सभा राख्‍नू। तिमीहरूले आफैलाई इन्‍कार गर्नू, र तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू। त्‍यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू, किनभने परमप्रभुको सामुन्‍ने तिमीहरूका निम्‍ति प्रायश्‍चित गरिने यो प्रायश्‍चितको दिन हो। त्‍यस दिन जसले आफूलाई इन्‍कार गर्दैन, त्‍यो आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिओस्‌। त्‍यस दिन कुनै किसिमको काम गर्ने मान्‍छेलाई त्‍यसका मानिसहरूमध्‍येबाट म नाश गर्नेछु। तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌। तिमीहरूका निम्‍ति यो विशेष विश्रामको शबाथ होस्, र तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू। त्‍यस महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्‍ट साँझसम्‍म तिमीहरूले आफ्‍नो शबाथ पालन गर्नू।”

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्

लेवीहरू 23:15-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“ ‘शब्बाथको भोलिपल्ट अर्थात् तिमीहरूले विशेष भेटीको बिटा ल्याएको दिनदेखि पूरा सात हप्‍ता गन्‍नू। सातौँ शब्बाथको भोलिपल्टसम्म पचास दिन गन्‍नू; अनि नयाँ अन्‍नबलि याहवेहकहाँ चढाउनू। तिमीहरू जहाँ भए तापनि आ-आफ्नो घरबाट चढाउने भेटीको रूपमा दुई वटा रोटीहरू ल्याउनू। यी रोटीहरू एपाको दश भागको दुई भाग मसिनो पिठो प्रयोग गरेर बनाउनू। यी रोटीहरू खमिर हालेर बनाउनू। अनि कटनी गरेको पहिलो फल बलिस्वरूप विशेष भेटीको रूपमा चढाइनका लागि याहवेहकहाँ ल्याउनू त्यस रोटीसित भेडाका निष्खोट एकवर्षे सात वटा पाठा, एउटा बाछा र दुई वटा भेडा ल्याउनू। ती तिनीहरूका अन्‍नबलि र अर्घबलिसहित अग्निबलिको रूपमा याहवेहका निम्ति मिठो बास्‍नाको होमबलि हुनेछन्। त्यसपछि पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका र मेलबलिका निम्ति भेडाका एकवर्षे दुई वटा पाठाहरू चढाउनू। पुजारीले ती दुई भेडालाई अगौटे फलको रोटीसित विशेष भेटीको रूपमा अर्पण गरिनका लागि उचालोस्। पुजारीका निम्ति ती याहवेहकहाँ पवित्र बलि हुन्। त्यही दिन तैँले एउटा पवित्र सभाको घोषणा गर्नू; तर दैनिक काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि पुस्तौँ-पुस्ताका लागि यो एउटा सधैँ रहिरहने विधि हो। “ ‘तिमीहरूले आफ्नो जमिनको फसल कटनी गर्दा जमिनको किनारसम्म नकाट्नू, अथवा आफ्नो कटनीको सिलाबाला नबटुल्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ” याहवेहले मोशालाई भन्‍नुभयो, “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति शब्बाथ विश्रामदिन हुनुपर्छ। तुरही फुकेर सम्झनाका निम्ति एक पवित्र सभा हुनुपर्छ। नियमित काम नगर्नू, तर आगोद्वारा चढाइने भेटी याहवेहकहाँ चढाउनू।’ ” याहवेहले मोशालाई भन्‍नुभयो, “यस सातौँ महिनाको दशौँ दिन प्रायश्‍चितको दिन हो। एउटा पवित्र सभा बोलाउनू र आफूलाई इन्कार गर्नू; अनि याहवेहकहाँ अग्निबलि चढाउनू। त्यस दिन कुनै काम नगर्नू। किनकि त्यो याहवेह तिमीहरूका परमेश्‍वरको सामु तिमीहरूका निम्ति प्रायश्‍चित गरिने प्रायश्‍चितको दिन हो। त्यस दिन आफूलाई इन्कार नगर्नेलाई आफ्ना मानिसहरूबाट बहिष्कार गरियोस्। त्यस दिन कुनै पनि काम गर्नेलाई म त्यसका मानिसहरूबाट नाश गर्नेछु। तिमीहरूले कुनै काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि भावी पुस्ताका लागि यो सधैँभरि रहिरहने एक विधि हो। यो तिमीहरूका निम्ति शब्बाथ विश्रामदिन हो। अनि तिमीहरूले आफूलाई इन्कार गर्नू। महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्टको साँझसम्म तिमीहरूले आफ्ना शब्बाथ पालन गर्नू।”

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्

लेवीहरू 23:15-32 पवित्र बाइबल (NERV)

“परमप्रभुलाई डोलाउने अन्नको बिटा ल्याएको दिनबाट सात हप्ताहरू गन। सातौं हप्ताहरू पछिको आइतवार (त्यो पचास दिनपछि) तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि ल्याउँनेछौ। त्यस दिन तिमीहरूले आफ्नो घरबाट दुइवटा खमीर मिसाएको रोटी ल्याउनु पर्छ खमीर अनि सोह्र बटुको पीठो प्रयोग गरेर यी रोटीहरू पकाऊ। त्यो डोलाउने बलिक लागि हुनेछ त्यो तिम्रो पहिलो उब्जनीबाट परमप्रभुको निम्ति अन्न बलि हुनेछ। “एउटा साँढे दुइवटा भेंडाहरू अनि सातवटा एक बर्षे पाठहरू अन्नबलि अनि अर्घबलिसित चढाउनु पर्नेछ। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। यी पशुहरू आगोद्वारा जलाइने होमबलि हुनुपर्छ अनि यसको बास्नाले परमप्रभुलाई खुशी पार्नेछ। तिमीहरूले पापबलिको निम्ति एउटा बोका अनि दुइवटा एक बर्षे पाठाहरू पनि मैत्रीबलिको निम्ति चढाउनु पर्छ। “पूजाहारीले रोटीले तिनीहरूलाई परमप्रभुको अघि दुइवटा थुमाहरूसित डोलाउने तिनीहरू परमप्रभुको निम्ति पवित्र हुन्छ र ती सबै पूजाहारीको हुनेछ। तिमीहरूले त्यस दिन केही काम गर्ने हुँदैन अनि एउटा पवित्र सभा बोलाउनेछौ। यो नियम तिमीहरू घरहरूमा तिमीहरूको पुस्तौ-पुस्तासम्म चलि रहने छ। “जब तिमीहरू आफ्नो जमीनमा बाली उठाउँछौ खेतको कुना-कुनासम्म नउठाऊ अनि त्यसरी छोडीएको अन्न उठाउनु फर्केर नजाऊ। ती सब गरीबहरू तथा तिमीहरूको जमीन भएर जाने विदेशीहरूको निम्ति छोडी देऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन: सातौं महीनाको पहिलो दिन तिमीहरूको विशेष विश्रामको दिन हुन्छ र मानिसहरूलाई यो पवित्र सभा हो भनी सम्झाउन तुरही बजाऊ। तिमीहरू सामान्य काम नगर तिमीहरूले आगोद्वारा चढाउने बलि परमप्रभु कहाँ ल्याउँनेछौ।” परमप्रभुले मोशालाई भन्नुभयो, “प्रायश्चितको दिन सातौं महीनाको दशौं दिनमा पर्छ। त्यसदिन तिमीहरूले केही खानु हुँदैन अनि तिमीहरूले आगोद्वारा परमप्रभुलाई बलि चढाउनु पर्छ अनि पवित्र सभा गर्नुपर्छ। त्यस दिन तिमीहरूले केही काम गर्ने छैनौ, किनभने त्यो दिन तिमीहरूको प्रायश्चितको दिन हो। त्यसदिन पूजाहारी परमप्रभुको सामुने जानेछन् र तिमीहरूलाई पवित्र पार्न उत्सव गर्नेछन्। “यदि कुनै मानिसले यस दिनमा उपवास बस्न अस्वीकार गरे उसलाई उसका मानिसहरूबाट छुट्‌याउनु पर्छ। यदि कुनै मानिसले त्यस दिन केही काम गर्छ म उसलाई उसका मानिसहरूको बीचबाट शेष पार्नेछु। त्यसदिन तिमीहरूले कुनै काम गर्नु हुदैन अनि यो विधि तिमीहरू जहाँ बस्छौ त्यहाँ सधैँको निम्ति चालू रहनेछ। यो दिन तिमीहरूको निम्ति एक विशेष विश्रामको दिन हो र तिमीहरूले त्यस दिन केही खाने छैनौ। यो विशेष विश्रामको दिन त्यस महिनाको नवौं दिनको साँझबाट शुरू हुनेछ र भोलिपल्ट साँझसम्म रहनेछ।”

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्

लेवीहरू 23:15-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जुन पवित्र विश्राम दिनको भोलिपल्‍ट तिमीहरूले अन्‍नको बिटा परमप्रभुलाई चढाउन ल्‍याउँछौ, त्‍यो दिनदेखि सात-साता गन्‍नू। पचासौँ दिन, जुन सातौँ पवित्र विश्राम दिनको भोलिपल्‍ट पर्छ, अर्को नयाँ अन्‍नबलि परमप्रभुलाई चढाउनू। हरेक परिवारले दुईवटा रोटी ल्‍याएर प्रभुलाई विशेष भेटीको रूपमा चढाउनेछ। एक-एक रोटी दुई किलोग्राम पीठो खमिरसित मिसाई पकाउनू र कटनी गरेको पहिलो अन्‍नको रूपमा परमप्रभुलाई चढाउनू। अनि रोटीसित सारा जन-समूहले मिलेर निष्‍खोट सातवटा एकवर्षे थुमा, एउटा साँढे र दुईवटा बोका चढाउनुपर्नेछ। अन्‍नबलि र मद्यबलि सँगसँगै ती पशु परमप्रभुलाई होमबलि चढाउनू। यस बलिको सुबास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ। साथै एउटा बोको पापबलिको लागि, दुईवटा एकवर्षे थुमाहरू मेलबलिको लागि पनि चढाउनू। पूजाहारीले रोटी र दुईवटा थुमा पूजाहारीहरूको निम्‍ति परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्। यी भेटीहरू पवित्र हुन्। त्‍यस दिन आफ्‍नो सधैँको दैनिक काम कसैले नगर्नू तर सबैजना उपासनाको निम्‍ति एक साथ भेला हुनू। तिम्रा सन्‍तानले तिनीहरू जहीँ बास गरे तापनि यो नियम, आउँदा दिनहरूमा सदाकालको निम्‍ति मान्‍नुपर्नेछ। जब तिमीहरू आफ्‍ना खेतबाट अन्‍न बटुल्‍छौ, खेतका किनारकिनारमा भएको बाली नकाट्‍नू र छाडिएका अन्‍नको बाला काट्‍नलाई फर्केर नजानू। ती गरीब र विदेशीहरूको निम्‍ति छोडिदेओ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। सातौँ महिनाको पहिलो दिन एउटा विशेष विश्रामको दिन मनाउनू र तुरही बज्‍दा उपासनाको लागि भेला हुनू। परमप्रभुलाई एउटा अन्‍नबलि चढाउनू र तिम्रा दिन-दिनका काम नगर्नू। सातौँ महिनाको दशौँ दिन इस्राएलीहरूले पाप काट्‍नको लागि मानिने रीति पूरा गर्ने प्रायश्‍चितको दिन हो। त्‍यो दिन पवित्र सभामा भेला हुनू, आफूलाई इन्‍कार गर्नू र उपवास बस्‍नू अनि प्रभुलाई होमबलि चढाउनू। त्‍यो दिन काम नगर्नू किनभने त्‍यो पाप काट्‍ने विधि पूरा गर्ने दिन हो। त्‍यो दिन जसले केही थोक खान्‍छ, त्‍यो परमेश्‍वरको जन ठानिनेछैन। अनि त्‍यो दिन कसैले काम गर्‍यो भने परमप्रभु आफैंले त्‍यसलाई मार्नुहुनेछ। तिम्रा सन्‍तानहरू जहीँ बास गरून्, तिनीहरूले यो नियम पालन गर्नुपर्नेछ। त्‍यस महिनाको नवौँ दिन बेलुका घाम डुबेपछि भोलिपल्‍ट घाम डुब्‍ने बेलासम्‍म त्‍यस दिनलाई एउटा विशेष विश्राम दिन मान्‍नुपर्छ र केही कुरा खानुहुन्‍न।

शेयर गर्नुहोस्
लेवीहरू 23 पढ्नुहोस्