“‘शबाथको भोलिपल्टदेखि, अर्थात् तिमीहरूले डोलाइने बलिको बिटा ल्याएको दिनदेखि सात हप्ता तिमीहरूले गन्नू, अर्थात् सातौँ शबाथको भोलिपल्टसम्म पचास दिन गन्नू। त्यही दिन तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि चढ़ाउनू। तिमीहरूले आफ्नो घरदेखि एक पाथी मसिनो पीठोले बनाएका र खमिर मिलाएर पकाएका दुई वटा रोटी परमप्रभुको निम्ति अगौटे फलको बलि स्वरूप ल्याउनू। ती रोटीसित एक वर्षे सात वटा निष्खोट थुमा र एउटा साँढ़े र दुई वटा भेड़ाहरू चढ़ाउनू। ती तिनीसँगका अन्नबलि र अर्घ-बलिसमेत परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने मीठो बास्नाको होमबलि होस्। त्यसपछि तिमीहरूले पापबलिको निम्ति एउटा बोका र मेलबलिको निम्ति एक वर्षे दुई वटा थुमा चढ़ाउनू। पूजाहारीले परमप्रभुको सामु, अगौटे फलको रोटीसँगसँगै डोलाइने बलिको निम्ति दुई वटा थुमा डोलाऊन्। पूजाहारीको हिस्सा हुनलाई त्यो परमप्रभुको निम्ति पवित्र बलि होस्। त्यस दिन पवित्र सभा हो भनी तिमीहरूले घोषणा गर्नू। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्। “‘तिमीहरूले आफ्नो देशमा खेतको बाली काट्दा खेतका छेउ-छेउसम्म निखारेर नकाट्नू। तिमीहरूले आफ्नो बालीको शिला-बाला नबटुल्नू। ती तिमीहरूले गरीब र परदेशीहरूका निम्ति छोड़िदिनू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्: ‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूका निम्ति विशेष विश्रामको दिन होस्। त्यस दिन सम्झनाको लागि तुरही फुकेर पवित्र सभा राखिओस्। तिमीहरूले त्यस दिनमा दैनिक काम नगर्नू, तर परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू’।” परमप्रभुले मोशालाई भन्नुभयो, “सातौँ महिनाको दशौँ दिनचाहिँ प्रायश्चितको दिन होस्। त्यस दिन तिमीहरूले पवित्र सभा राख्नू। तिमीहरूले आफैलाई इन्कार गर्नू, र तिमीहरूले परमप्रभुको निम्ति अग्नि-होम चढ़ाउनू। त्यस दिन तिमीहरूले कुनै किसिमको काम नगर्नू, किनभने परमप्रभुको सामुन्ने तिमीहरूका निम्ति प्रायश्चित गरिने यो प्रायश्चितको दिन हो। त्यस दिन जसले आफूलाई इन्कार गर्दैन, त्यो आफ्ना मानिसहरूबाट बहिष्कार गरिओस्। त्यस दिन कुनै किसिमको काम गर्ने मान्छेलाई त्यसका मानिसहरूमध्येबाट म नाश गर्नेछु। तिमीहरूले कुनै किसिमको काम नगर्नू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्। तिमीहरूका निम्ति यो विशेष विश्रामको शबाथ होस्, र तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू। त्यस महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्ट साँझसम्म तिमीहरूले आफ्नो शबाथ पालन गर्नू।”
लेवीहरू 23 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 23:15-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू