जुन पवित्र विश्राम दिनको भोलिपल्ट तिमीहरूले अन्नको बिटा परमप्रभुलाई चढाउन ल्याउँछौ, त्यो दिनदेखि सात-साता गन्नू। पचासौँ दिन, जुन सातौँ पवित्र विश्राम दिनको भोलिपल्ट पर्छ, अर्को नयाँ अन्नबलि परमप्रभुलाई चढाउनू। हरेक परिवारले दुईवटा रोटी ल्याएर प्रभुलाई विशेष भेटीको रूपमा चढाउनेछ। एक-एक रोटी दुई किलोग्राम पीठो खमिरसित मिसाई पकाउनू र कटनी गरेको पहिलो अन्नको रूपमा परमप्रभुलाई चढाउनू। अनि रोटीसित सारा जन-समूहले मिलेर निष्खोट सातवटा एकवर्षे थुमा, एउटा साँढे र दुईवटा बोका चढाउनुपर्नेछ। अन्नबलि र मद्यबलि सँगसँगै ती पशु परमप्रभुलाई होमबलि चढाउनू। यस बलिको सुबास्नाले परमप्रभुलाई खुसी पार्नेछ। साथै एउटा बोको पापबलिको लागि, दुईवटा एकवर्षे थुमाहरू मेलबलिको लागि पनि चढाउनू। पूजाहारीले रोटी र दुईवटा थुमा पूजाहारीहरूको निम्ति परमप्रभुलाई विशेष भेटीको रूपमा चढाओस्। यी भेटीहरू पवित्र हुन्। त्यस दिन आफ्नो सधैँको दैनिक काम कसैले नगर्नू तर सबैजना उपासनाको निम्ति एक साथ भेला हुनू। तिम्रा सन्तानले तिनीहरू जहीँ बास गरे तापनि यो नियम, आउँदा दिनहरूमा सदाकालको निम्ति मान्नुपर्नेछ। जब तिमीहरू आफ्ना खेतबाट अन्न बटुल्छौ, खेतका किनारकिनारमा भएको बाली नकाट्नू र छाडिएका अन्नको बाला काट्नलाई फर्केर नजानू। ती गरीब र विदेशीहरूको निम्ति छोडिदेओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। सातौँ महिनाको पहिलो दिन एउटा विशेष विश्रामको दिन मनाउनू र तुरही बज्दा उपासनाको लागि भेला हुनू। परमप्रभुलाई एउटा अन्नबलि चढाउनू र तिम्रा दिन-दिनका काम नगर्नू। सातौँ महिनाको दशौँ दिन इस्राएलीहरूले पाप काट्नको लागि मानिने रीति पूरा गर्ने प्रायश्चितको दिन हो। त्यो दिन पवित्र सभामा भेला हुनू, आफूलाई इन्कार गर्नू र उपवास बस्नू अनि प्रभुलाई होमबलि चढाउनू। त्यो दिन काम नगर्नू किनभने त्यो पाप काट्ने विधि पूरा गर्ने दिन हो। त्यो दिन जसले केही थोक खान्छ, त्यो परमेश्वरको जन ठानिनेछैन। अनि त्यो दिन कसैले काम गर्यो भने परमप्रभु आफैंले त्यसलाई मार्नुहुनेछ। तिम्रा सन्तानहरू जहीँ बास गरून्, तिनीहरूले यो नियम पालन गर्नुपर्नेछ। त्यस महिनाको नवौँ दिन बेलुका घाम डुबेपछि भोलिपल्ट घाम डुब्ने बेलासम्म त्यस दिनलाई एउटा विशेष विश्राम दिन मान्नुपर्छ र केही कुरा खानुहुन्न।
लेवी 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवी 23:15-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू