YouVersion लोगो
खोज आइकन

यर्मिया 48:10-29

यर्मिया 48:10-29 NCV

“याहवेहको काममा लापर्बाही गर्ने व्यक्ति श्रापित होस्! तिनीहरूको तरवारलाई रक्तपात गर्न नदिने व्यक्ति श्रापित होस्! “मोआब त्यसको युवाअवस्थादेखि नै आराममा छ; एउटा भाँडाबाट अर्को भाँडामा नखन्याई भाँडामा छोडिराखेको दाखमद्यजस्तै, अर्थात् मोआब निर्वासनमा गएकी छैन। त्यसको स्वाद पहिलेको जस्तै छ; अनि त्यसको वासना बदलिएको छैन।” यसकारण, “हेर, दिनहरू आउँदैछन्,” याहवेह घोषणा गर्नुहुन्छ, जब म मानिसहरू पठाउनेछु, जसले मशकबाट दाखमद्य खन्याउनेछन्, त्यसरी नै तिनीहरूले मोआबलाई पोखाइदिनेछन्; तिनीहरूले त्यसका मशकहरू रित्याइदिनेछन्, र त्यसका मशकहरू चकनाचुर पारिदिनेछन्। जसरी इस्राएलीहरूले बेथेल झूटो देवतामाथि भरोसा गर्दा इस्राएलको घराना लाजमा परेको थियो, त्यसरी नै मोआब पनि कमोश देवताको कारण लज्जित हुनेछ। “तिमीहरूले कसरी भन्‍न सक्छौ, ‘हामी लडाइँका वीर योद्धाहरू वा बहादुर मानिसहरू हौँ?’ मोआब नष्‍ट हुनेछ र त्यसका सहरहरूमा आक्रमण गरिनेछ; त्यसका अति असल जवानहरू शत्रुहरूले काटेर मर्नेछन्,” राजाले घोषणा गर्नुहुन्छ, जसको नाम सेनाहरूका याहवेह हो। “मोआबको पतन नजिकै आइपुगेको छ; त्यसको विनाश चाँडै आउनेछ। त्यसका वरिपरि बस्‍नेहरू, त्यसको ख्याति थाहा पाउनेहरू सबैले त्यसको निम्ति शोक गर; र यसो भन, ‘शक्तिशाली राजदण्ड कसरी तोडिएको छ, गौरवशाली राज्यको लहुरो कसरी भाँचिएको छ!’ “हे दीबोन सहरकी छोरीहरू वा बासिन्दाहरू हो, तिमीहरूका गौरवको उचाइबाट ओर्लेर आओ, र सुक्खा धुलोमा बस; किनकि मोआबलाई विनाश गर्ने शत्रुहरू तिमीहरूको विरुद्धमा आउनेछन्, र तिमीहरूका सुरक्षित सहरहरू ध्वस्त पारिदिनेछन्। हे अरोएरका बासिन्दाहरू हो, सडकको छेउमा खडा होओ र ध्यानसित हेर। भाग्दै गरेका मानिसहरू र उम्कँदै गरेकी स्त्रीहरूलाई सोध, तिनीहरूलाई, ‘के भयो?’ भनेर सोध। मोआब अपमानित भएकी छे; किनकि ऊ चकनाचुर पारिएकी छे; विलाप गर र रोओ! अर्नोन नदीको छेउमा गएर बताइदेओ, मोआब नष्‍ट पारिएकी छे। उच्‍च पठारमाथि न्याय आएको छ— अर्थात् होलोन, यहसा र मेपातमाथि, दीबोन, नेबो र बेथ-दिब्लातैममाथि, किर्यातैम, बेथ-गामूल र बेथ-मोनमाथि, किर्योत र बोज्रामाथि— मोआबका टाढा र नजिकका सबै सहरहरूमाथि न्याय आएको छ। मोआबको सिङ काटियो; त्यसको पाखुरा भाँचिएको छ,” याहवेह घोषणा गर्नुहुन्छ। “मोआबलाई दाखमद्यले मताओ; किनकि त्यसले याहवेहको विरुद्धमा विद्रोह गरेको छ। मोआबलाई त्यसकै बान्तामा लडीबुडी गर्न देओ; मोआबलाई हाँसोको पात्र हुन देओ। ए मोआब, के तैँले इस्राएलको हाँसो उडाएको थिइनस् र? के त्यो चोरहरूसँग पक्राउ परेकी थिई, त्यसको बारेमा कुरा गर्दा त्यसको ठट्टा गर्दै तैँले आफ्नो टाउको हल्‍लाउने गर्थिस्? ए मोआबमा बस्‍नेहरू हो, तिमीहरूले आफ्ना सहरहरू छोडेर चट्टानको ओडारहरूमा बस। तिमीहरू ओडारको मुखमा आफ्नो गुँड बनाउने ढुकुरजस्तै होओ। “हामीले मोआबको घमण्डको बारेमा सुनेका छौँ— त्यसको घमण्ड अति ठूलो छ! त्यसको अहङ्कार, त्यसको घमण्ड र अभिमान; अनि त्यसका हृदयको सेखीको बारेमा सुनेका छौँ।

यर्मिया 48 पढ्नुहोस्