(परमप्रभुले खटाएको काम आफ्नो पूरा मनले नगर्ने मानिस श्रापित हो! तरवारले काट-मार नगर्ने श्रापित हो!)
परमप्रभुले भन्नुभयो, “मोआब सधैँ ढुक्क भएर बसेको छ। त्यो कहिल्यै कैदमा लगिएको छैन। त्यो एउटा भाँडोबाट अर्कै भाँडोमा नखन्याएको र नचलाई राखेको दाखमद्यजस्तो छ। त्यसको स्वाद बिग्रेको छैन र जस्ताको तस्तै छ।
“यसकारण अब त्यो दिन आउँदै छ, जब म मोआबलाई दाखमद्यजस्तो गरी खन्याउन मानिसहरू पठाउनेछु। तिनीहरूले त्यसको दाखमद्यका भाँडाहरू रित्त्याएर फुटाई चुर-चुर पारिदिनेछन्। तब जसरी इस्राएलीहरूले आफूले भरोसा राखेको बेथेल देवबाट धोका खाएथे, त्यसरी नै मोआबीहरूले तिनीहरूको कमोश देवबाट धोका खानेछन्।
“ए मोआबीहरू हो, तिनीहरू किन धाक लाउँछौ?
युद्धका वीर योद्धा हौं भनी सुनाउँछौ?
मोआब र त्यसका सहरहरू नाश पारिनेछन्,
त्यसका हट्टाकट्टा जवानहरू मारिनेछन्।
म राजा सर्वशक्तिमान् परमप्रभु बोलेको छु।
मोआबको नाश नजिक आएको छ,
त्यसको विनाश चाँडै आउँदै छ।
“ए मोआबका छिमेकीहरू
र त्यसका सुनाम सुन्नेहरू सबै,
त्यस देशको लागि तिमीहरूले विलाप गर।
‘त्यसको शक्तिको राज्य तोडिएको छ।
त्यसको गौरव र प्रताप हरायो भनी भन।
हे दीबोनका बासिन्दा हो,
आफ्नो सम्मानको स्थानबाट ओर्ली आऊ।
र धुलो भएको जमिनमा बस;
मोआबलाई नाश गर्ने यहीं छ,
जसले किल्लाहरू ध्वस्त पारेको छ।
हे अरोएरका बासिन्दा हो,
बाटोको छेउमा उभ र पर्ख;
के भएको छ भनी भाग्नेहरूसित सोध।
‘मोआब पतन भएछ’ भनी तिनीहरूबाट जवाफ आउनेछ;
‘त्यो बदनाम भयो, त्यसको लागि विलाप गर।
अर्नोन नदीको किनारै किनार,
मोआब नाश भएको प्रचार गर।’
“टारका सहरहरूमाथि दण्ड परेको छ अर्थात्, होलोन, यहसाह, मेपात, दीबोन, नेबो, बेथ-दिब्लतैम, किर्या-तैम, बेथ-गमूयल, बेथ-मोन, किर्योत र बोज्रोमाथि दण्ड परेको छ। मोआबका टाढा र नजिकका सबै सहरहरूमाथि दण्ड परेको छ। मोआबको सिङ काटिएको छ र त्यसका पाखुरा भाँचिएको छ। म परमप्रभु बोलेको छु।”
परमप्रभुले भन्नुभयो, “मोआबलाई दाखमद्य मातिञ्जेल पिउन दे किनभने त्यसले मेरो विरुद्धमा विद्रोह गरेको छ। मोआब आफ्नै बान्तामा लडीबडी गर्नेछ र मानिसहरू हाँस्नेछन्। ए मोआब, याद गर्, तैँले कसरी इस्राएलका मानिसहरूको ठट्टा उडाएको थिइस्? तिनीहरू चोरहरूका बीचमा पक्राउ परेजस्तै गरी तैँले तिनीहरूसित व्यवहार गरेको थिइस्।
“ए मोआबका बासिन्दाहरू हो, सहरहरू छोड! गएर पहराहरूमा बास गर! ओढारका किनारामा गुँड लाउने ढुकुरसरि होओ। मोआब साह्रै अहङ्कारी छ! त्यहाँका मानिसहरू कस्ता घमण्डी, सेखीवाल र अहङ्कारी छन् र आफैंलाई कति ठूला छौं भनी सम्झन्छन्, त्यसका घमन्डको बारेमा मैले सुनेको छु।