YouVersion लोगो
खोज आइकन

इजकिएल 22:1-12

इजकिएल 22:1-12 NCV

याहवेहको वचन मकहाँ आयो: “हे मानिसको छोरा, के तैँले त्यसको न्याय गर्नेछस्? के तैँले रक्तपातको यो सहरलाई न्याय गर्नेछस्? तब त्यसका सबै घिनलाग्दा कामहरूसँग सामना गर्, र त्यसलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हे सहर तैँले आफ्नो बीचमा रक्तपात गरेर आफूमाथि सर्वनाश ल्याउँछस्, र मूर्तिहरू बनाएर आफूलाई अशुद्ध पार्छस्, तैँले रक्तपात गरेको कारण तँ दोषी भएको छस्; अनि तैँले मूर्तिहरू बनाएको कारण तँ अपवित्र भएको छस्। तैँले तेरा दिनहरूको अन्त्य नजिक ल्याएको छस्; अनि तेरा वर्षहरूको अन्त्य आइपुगेको छ। यसकारण जातिहरूका निम्ति म तँलाई गिल्‍लाको पात्र र सबै देशहरूका निम्ति हाँसोको पात्र बनाउनेछु। हे कुख्यात सहर, उपद्रवले भरिएको तेरा नजिक हुने देशहरू र तँबाट टाढा हुने देशहरूले तँलाई गिल्‍ला गर्नेछन्। “ ‘हेर्, सहरमा भएका इस्राएलका हरेक राजकुमारले कसरी आफ्नो शक्ति रक्तपात गर्नलाई प्रयोग गर्छन्। तँभित्र तिनीहरूले आफ्ना बुबा र आमालाई घृणा गरेका छन्; विदेशीमाथि अत्याचार गरेका छन् र अनाथहरू र विधवाहरूलाई दुर्व्यवहार गरेका छन्। तैँले मेरा पवित्र कुराहरूलाई तुच्छ ठानेको छस्, र मेरा शब्बाथहरूलाई अपवित्र पारेको छस्। तँभित्र रक्तपात गर्न रुचाउने र निन्दा गर्ने मानिसहरू छन्; तँभित्र देवस्थानहरूका झूटा मूर्तिहरूलाई चढाइएका खानेहरू र कामुक काम गर्ने मानिसहरू छन्। तँभित्र ती मानिसहरू छन्, जो आफ्ना बुबाको ओछ्यानको अनादर गर्छन्; तँभित्र यस्ता मानिसहरू छन्, जो रजस्वलाको अवस्थामा र विधिपूर्वक अशुद्ध अवस्थामा रहेकी स्त्रीहरूसित यौन सम्पर्क राख्छन्। तँभित्र एउटा मानिसले आफ्नो छिमेकीकी पत्नीसित घिनलाग्दो काम गर्छ, र अर्को मानिसले आफ्नो बुहारीलाई शर्मलाग्दो तरिकाले अशुद्ध पार्छ; अनि अर्को मानिसले आफ्नी बहिनी र आफ्नै बुबाकी छोरीसँग यौन सम्पर्क राखेर अशुद्ध पार्छ। तँभित्र तिनीहरूले घूस लिएर रक्तपात गर्छन्; तैँले खाँचोमा पर्नेहरूबाट वा गरिबहरूबाट ब्याज लिन्छस् र आफ्नो फाइदा गर्छस्। तैँले जबरजस्ती लिएर आफ्ना छिमेकीहरूबाट अन्यायपूर्वक फाइदा लिन्छस्। अनि तैँले मलाई पनि भुलेको छस्, प्रभु याहवेह भन्‍नुहुन्छ।

इजकिएल 22 पढ्नुहोस्