YouVersion लोगो
खोज आइकन

इजकिएल 22:1-12

इजकिएल 22:1-12 NNRV

परमप्रभुको यो वचन मकहाँ आयो: “हे मानिसको छोरो, के तँ त्‍यसको न्‍याय गर्छस्‌? के तँ यस खूनी सहरको न्‍याय गर्छस्‌? त्‍यसो भए त्‍यसका सबै घृणित व्‍यवहारहरूसँग त्‍यसको सामना गर्, र भन्‌: ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘आफ्‍नै अन्‍त्‍यको समय ल्‍याउन, आफ्‍नै बीचमा रगत बगाउने र आफूलाई बिटुलो पार्नलाई मूर्तिहरू बनाउने तँ सहर! तैंले बगाएको रगतको कारण तँ दोषी भएको छस्‌। तैंले बनाएका मूर्तिहरूद्वारा तँ बिटुलो भएको छस्‌। तैंले आफ्‍ना दिनहरूको अन्‍त्‍य गरेको छस्, र तेरा वर्षहरूको अन्‍त्‍य गरेको छस्‌। यसैकारण मैले तँलाई जाति-जातिहरूका बीचमा गिल्‍ला र सबै देशहरूमा ठट्टाको पात्र बनाउनेछु। तेरो नजिक र टाढ़ा हुनेहरूले तेरो ठट्टा गर्नेछन्, ए नीच र उपद्रवले भरिएको सहर! “‘हेर्, तँमा भएका इस्राएलका राजकुमारहरू हरेकले आफ्‍नो शक्तिअनुसार रगत बगाउने व्‍यवहार गर्छ। तँमा नै तिनीहरूले माता-पितासँग निन्‍दाजनक व्‍यवहार गरेका छन्‌। तँमा नै तिनीहरूले विदेशीहरूमाथि अत्‍याचार गरेका छन्, र टुहुरा-टुहुरी र विधवाहरूलाई दुर्व्‍यवहार गरेका छन्‌। तैंले मेरा पवित्र चीजहरूलाई तुच्‍छ ठानेको छस्‌ र मेरा शबाथहरू अपवित्र गरेको छस्‌। रगत बगाउनलाई निन्‍दाजनक बदख्‍वाइँ गर्ने मानिसहरू तँमा तयार रहन्‍छन्‌। अनि यस्‍ता मानिसहरू पनि तँमा छन्, जसले डाँड़ाका थानहरूमा प्रसाद खान्‍छन्‌ र कुकर्म गर्छन्‌। तँभित्रै मानिसहरूले आफ्‍ना पिताको ओछ्यान भ्रष्‍ट पार्छन्‌। तँभित्रै मानिसहरूले रजस्‍वला भएकी स्‍त्रीसँग अशुद्ध सम्‍भोग गर्छन्‌। तँभित्रै कसैले आफ्‍नो छिमेकीकी पत्‍नीसँग घिनलाग्‍दा अपराध गर्छ, अर्कोले आफ्‍नी बुहारीलाई लज्‍जापूर्वक अशुद्ध पार्छ, अर्कोले आफ्‍नै बुबाकी छोरी, आफ्‍नी बहिनीसित कुकर्म गर्छ। तँमा नै मानिसहरूले हत्‍या गर्नलाई घूस लिन्‍छन्‌। तैंले ब्‍याजमा बढ़ी ब्‍याज लिन्‍छस्, आफ्‍नो छिमेकीलाई अन्‍याय गरेर जबरदस्‍ती गरी नाफा लिन्‍छस्‌। अनि तैंले मलाई बिर्सेको छस्, परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छ।