YouVersion लोगो
खोज आइकन

प्रस्थान 7:14-25

प्रस्थान 7:14-25 NCV

तब याहवेहले मोशालाई भन्‍नुभयो, “फारोको हृदय कठोर भएको छ; त्यसले मानिसहरूलाई जान दिँदैन। बिहान फारो नदीमा गएको बेला त्यसकहाँ जा। नील नदीको किनारमा त्यससँग भेट गर्नलाई पर्खिबस्; अनि सर्पमा परिणत भएको त्यो लहुरो हातमा लिएर जा। तब त्यसलाई भन्, ‘याहवेह हिब्रूहरूका परमेश्‍वरले मलाई तपाईंकहाँ यसो भन्‍न पठाउनुभएको छ: मेरा मानिसहरूलाई उजाडस्थानमा मेरो आराधना गर्नलाई जान दे। तर तपाईंले अहिलेसम्म सुन्‍नुभएको छैन। याहवेह यसो भन्‍नुहुन्छ: यसद्वारा तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्; म मेरो हातमा भएको लहुरोले नील नदीको पानीलाई हिर्काउनेछु, र त्यो रगतमा परिणत हुनेछ। नील नदीका माछाहरू मर्नेछन्, र नदीको पानी साह्रै गन्हाउनेछ, र इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सक्नेछैनन्।’ ” याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर इजिप्टका पानीहरू—नदीनालाहरू, पोखरीहरू र सबै जलाशयहरूमाथि तेरो हात पसार—तब ती सबै रगत हुनेछन्।’ इजिप्टका सबै ठाउँहरू, यहाँसम्म कि काठका भाँडाहरू र ढुङ्गाका भाँडाहरूमा समेत रगतै-रगत हुनेछ।” मोशा र हारूनले याहवेहले आज्ञा दिनुभएबमोजिम गरे। तिनले फारो र उनका अधिकारीहरूका उपस्थितिमा आफ्नो लहुरो उठाए, र नील नदीको पानीलाई हिर्काए; अनि सबै पानी रगतमा परिणत भयो। नील नदीमा भएका माछाहरू मरे, र नदीमा यति नराम्रो गन्ध आउन थाल्यो कि इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सकेनन्। इजिप्ट देशभरि सबै पानी रगतै-रगत भयो। तर इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यस्तै काम गरे; अनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्। बरु फारो फर्केर आफ्नो महलमा गए, र यस कुरामाथि ध्यानै दिएनन्। अनि सारा इजिप्टियनहरूले पिउने पानीको लागि नील नदीको वरिपरि खने; किनकि उनीहरूले नदीको पानी पिउन सकेनन्। याहवेहले नील नदीमाथि प्रहार गर्नुभएको सात दिन बितिसकेको थियो।

प्रस्थान 7 पढ्नुहोस्