YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 7:14-25

प्रस्‍थान 7:14-25 NNRV

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, फारोको हृदय कठोर भएको छ। त्‍यसले मानिसहरूलाई जान दिँदैन। तँचाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्‍यसकहाँ जा। नील नदीको किनारमा त्‍यसलाई भेट्‌न उभिरहनू, र त्‍यो साँप बनेको लहुरो पनि हातमा लैजा। त्‍यसलाई यसो भन्‍नू, “परमप्रभु हिब्रूहरूका परमेश्‍वरले मलाई यसो भनेर तपाईंकहाँ पठाउनुभएको छ: ‘मेरा प्रजालाई उजाड़-स्‍थानमा मेरो आराधना गर्नलाई जान दे। तर तैंले अहिलेसम्‍म मानिनस्‌। यसकारण परमप्रभु भन्‍नुहुन्‍छ: म परमप्रभु हुँ भन्‍ने कुरा तैंले यसरी थाहा पाउनेछस्‌। हेर्, म नील नदीको पानी मेरो हातमा भएको लहुरोले हिर्काउनेछु, र त्‍यो रगत बन्‍नेछ। अनि नदीका माछा मर्नेछन्, र नदी साह्रै गन्‍हाएको कारण मिश्रीहरूले त्‍यसको पानी खान सक्‍नेछैनन्‌’।” फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर मिश्रमा जति पानी छ, अर्थात्‌ खोला, कुला र पोखरीका पानी रगत भइजाऊन्‌ भनी ती सबैमाथि तपाईंको हात पसार्नुहोस्‌।’ अनि तिनीहरू रगत हुनेछन्‌। मिश्रभरि भएको पानी, काठ अथवा ढुङ्गाका घड़ाहरूको पानीसमेत रगत हुनेछ।” तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्‍ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्‍मै पानी रगत भइहाल्‍यो। नील नदीका माछाहरू मरे, र नदी गन्‍हाउन लाग्‍यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्‌। मिश्रको सबै पानी रगत भयो। तर मिश्रका जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे। अनि परमप्रभुले भन्‍नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌। तब फारो फर्केर आफ्‍नो महल गए, अनि उनले यस कुराको ख्‍यालै पनि राखेनन्‌। सारा मिश्रीहरूले नीलको वरिपरि पानीको लागि खन्‍न लागे, किनभने नील नदीको पानी खान सकिँदैनथ्‍यो। परमप्रभुको प्रहार नदीमाथि सात दिन रह्यो।