प्रस्‍थान 7:14-25

प्रस्‍थान 7:14-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, फारोको हृदय कठोर भएको छ। त्‍यसले मानिसहरूलाई जान दिँदैन। तँचाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्‍यसकहाँ जा। नील नदीको किनारमा त्‍यसलाई भेट्‌न उभिरहनू, र त्‍यो साँप बनेको लहुरो पनि हातमा लैजा। त्‍यसलाई यसो भन्‍नू, “परमप्रभु हिब्रूहरूका परमेश्‍वरले मलाई यसो भनेर तपाईंकहाँ पठाउनुभएको छ: ‘मेरा प्रजालाई उजाड़-स्‍थानमा मेरो आराधना गर्नलाई जान दे। तर तैंले अहिलेसम्‍म मानिनस्‌। यसकारण परमप्रभु भन्‍नुहुन्‍छ: म परमप्रभु हुँ भन्‍ने कुरा तैंले यसरी थाहा पाउनेछस्‌। हेर्, म नील नदीको पानी मेरो हातमा भएको लहुरोले हिर्काउनेछु, र त्‍यो रगत बन्‍नेछ। अनि नदीका माछा मर्नेछन्, र नदी साह्रै गन्‍हाएको कारण मिश्रीहरूले त्‍यसको पानी खान सक्‍नेछैनन्‌’।” फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘तपाईंको लहुरो लिएर मिश्रमा जति पानी छ, अर्थात्‌ खोला, कुला र पोखरीका पानी रगत भइजाऊन्‌ भनी ती सबैमाथि तपाईंको हात पसार्नुहोस्‌।’ अनि तिनीहरू रगत हुनेछन्‌। मिश्रभरि भएको पानी, काठ अथवा ढुङ्गाका घड़ाहरूको पानीसमेत रगत हुनेछ।” तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्‍ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्‍मै पानी रगत भइहाल्‍यो। नील नदीका माछाहरू मरे, र नदी गन्‍हाउन लाग्‍यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्‌। मिश्रको सबै पानी रगत भयो। तर मिश्रका जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे। अनि परमप्रभुले भन्‍नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌। तब फारो फर्केर आफ्‍नो महल गए, अनि उनले यस कुराको ख्‍यालै पनि राखेनन्‌। सारा मिश्रीहरूले नीलको वरिपरि पानीको लागि खन्‍न लागे, किनभने नील नदीको पानी खान सकिँदैनथ्‍यो। परमप्रभुको प्रहार नदीमाथि सात दिन रह्यो।

शेयर गर्नुहोस्
प्रस्‍थान 7 पढ्नुहोस्

प्रस्‍थान 7:14-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब याहवेहले मोशालाई भन्‍नुभयो, “फारोको हृदय कठोर भएको छ; त्यसले मानिसहरूलाई जान दिँदैन। बिहान फारो नदीमा गएको बेला त्यसकहाँ जा। नील नदीको किनारमा त्यससँग भेट गर्नलाई पर्खिबस्; अनि सर्पमा परिणत भएको त्यो लहुरो हातमा लिएर जा। तब त्यसलाई भन्, ‘याहवेह हिब्रूहरूका परमेश्‍वरले मलाई तपाईंकहाँ यसो भन्‍न पठाउनुभएको छ: मेरा मानिसहरूलाई उजाडस्थानमा मेरो आराधना गर्नलाई जान दे। तर तपाईंले अहिलेसम्म सुन्‍नुभएको छैन। याहवेह यसो भन्‍नुहुन्छ: यसद्वारा तैँले म नै याहवेह हुँ भनी जान्‍नेछस्; म मेरो हातमा भएको लहुरोले नील नदीको पानीलाई हिर्काउनेछु, र त्यो रगतमा परिणत हुनेछ। नील नदीका माछाहरू मर्नेछन्, र नदीको पानी साह्रै गन्हाउनेछ, र इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सक्नेछैनन्।’ ” याहवेहले मोशालाई भन्‍नुभयो, “हारूनलाई भन्, ‘आफ्नो लहुरो लिएर इजिप्टका पानीहरू—नदीनालाहरू, पोखरीहरू र सबै जलाशयहरूमाथि तेरो हात पसार—तब ती सबै रगत हुनेछन्।’ इजिप्टका सबै ठाउँहरू, यहाँसम्म कि काठका भाँडाहरू र ढुङ्गाका भाँडाहरूमा समेत रगतै-रगत हुनेछ।” मोशा र हारूनले याहवेहले आज्ञा दिनुभएबमोजिम गरे। तिनले फारो र उनका अधिकारीहरूका उपस्थितिमा आफ्नो लहुरो उठाए, र नील नदीको पानीलाई हिर्काए; अनि सबै पानी रगतमा परिणत भयो। नील नदीमा भएका माछाहरू मरे, र नदीमा यति नराम्रो गन्ध आउन थाल्यो कि इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सकेनन्। इजिप्ट देशभरि सबै पानी रगतै-रगत भयो। तर इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यस्तै काम गरे; अनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्। बरु फारो फर्केर आफ्नो महलमा गए, र यस कुरामाथि ध्यानै दिएनन्। अनि सारा इजिप्टियनहरूले पिउने पानीको लागि नील नदीको वरिपरि खने; किनकि उनीहरूले नदीको पानी पिउन सकेनन्। याहवेहले नील नदीमाथि प्रहार गर्नुभएको सात दिन बितिसकेको थियो।

शेयर गर्नुहोस्
प्रस्‍थान 7 पढ्नुहोस्

प्रस्‍थान 7:14-25 पवित्र बाइबल (NERV)

तब परमप्रभुले मोशालाई भन्नु भयो, “फिरऊन अट्टेरी गरिरहेकोछ। उसले मानिसहरूलाई जान दिंदैन। बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ। उसलाई यसो भन, ‘परमप्रभु हिब्रूहरूका परमेश्वरले मलाई तपाईंकहाँ यो भन्नु पठाउनु भएको छ: मेरा मानिसहरूलाई मेरो उपासना गर्न मरुभूमिमा पठाऊ। अहिलेसम्म तपाईंले उहाँको कुरा मान्नु भएको छैन।’ यसर्थ परमप्रभु भन्नुहुन्छ, ‘उहाँ परमप्रभु हुनुहुन्छ भनी बुझाउनको निम्ति उहाँले तपाईंलाई केही देखाउनु हुनेछ। म यो मेरो हातको लहुरो नील नदीको पानीमा हिर्काउँछु र नदी रगतमा परिवर्तन हुनेछ। नदीका माछाहरू मर्नेछन् अनि पानी गानाउन थाल्नेछ। तब मिश्रका मानिसहरूले नील नदीको पानी पिउनु सक्ने छैनन्।’” परमप्रभुले मोशालाई भन्नु भयो, “हारूनलाई भन् कि उसले आफ्नो हातको लहुरोले मिश्र देशका मानिसहरूले जम्मा गरेको पानीको कुवा, नहर, नदी, ताल प्रत्येक ठाउँमा हिर्काओस् जब उसले त्यसो गर्छ सबै पानी रगतमा परिवर्तन हुनेछ। यहाँसम्म तिनीहरूले काठ र ढुङ्गाको भाँडामा राखेको पानी पनि रगत बनिनेछ।” यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हारूनले गरे। हारूनले आफ्नो लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो। पानीका माछाहरू मर्न थाले अनि नदीको पानीबाट कुहेको गन्ध आउन थाल्यो। यसर्थ मिश्रका मानिसहरूले नदीबाट पानी पिउन सकेनन्। मिश्रमा जता ततै रगत भयो। जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हारूनको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो। फिरऊन आफ्नो राजमहलमा फर्के। मोशा र हारूनले जे गरे त्यस विषयमा उनले त्यती चासो दिएनन्। मिश्र देशका मानिसहरूले नदीको पानी खान सकेनन्। यसकारण तिनीहरू नदीको वरिपरि पिउने पानीका लागि कुवाहरू खन्न लागे। परमप्रभुले नील नदीलाई परिणत गरेपछि सात दिन बित्यो।

शेयर गर्नुहोस्
प्रस्‍थान 7 पढ्नुहोस्

प्रस्‍थान 7:14-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजा ढिट भएको छ र इस्राएलीहरूलाई जान दिँदैन। बिहान राजा नील नदीमा जाँदा तँ गएर त्‍यसलाई भेट्। त्‍यो साँप बनिएको लट्ठी लिएर जा र नदीको किनारमा त्‍यसलाई पर्खिबस्। अनि राजालाई भन्, ‘परमप्रभु, हिब्रूहरूका परमेश्‍वरले उहाँको प्रजालाई जान दे र तिनीहरूले उजाड-स्थानमा उहाँलाई पुज्‍नेछन् भन्‍नलाई उहाँले मलाई तपाईंकहाँ पठाउनुभएको हो। तर यतिञ्‍जेल तैँले सुनिनस्‌। अब हे राजा, परमप्रभु भन्‍नुहुन्‍छ कि उहाँका कामहरू देखेर तपाईंले उहाँ को हुनुहुन्‍छ भनी चिन्‍नुहुनेछ‌। हेर्नुहोस्, म यस लट्ठीले नदीको पानीलाई हिर्काउनेछु र पानी रगत बनिनेछ। माछाहरू मर्नेछन् र नदी यति साह्रो गन्‍हाउनेछ कि त्‍यसको पानी मिश्रीहरूले पिउन सक्‍नेछैनन्’।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “आफ्‍नो लट्ठी उचालेर मिश्रको सबै नदी, नहर र पोखरीहरूमाथि पसार्‌ भनी हारूनलाई भन्। तब सबै पानी रगत बनिनेछ र देशभरि काठका ठेका र ढुङ्गाका घडाहरूको पानी समेत रगत बनिनेछ।” तब मोशा र हारूनले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे। राजा र भारदारहरूका अघि हारूनले आफ्‍नो लट्ठी उचालेर नदीलाई हिर्काए र त्‍यहाँ भएको सबै पानी रगत भयो। पानीका माछाहरू मरे र त्‍यहाँ यति दुर्गन्‍ध भयो कि मिश्रीहरूले पानी पिउन सकेनन्। मिश्रको सबै पानी रगत भयो। तब राजाका जादूगरहरूले आफ्‍ना जादूमन्‍त्रले पनि त्‍यसै गरे। राजा अघिझैँ ढिट रहे। परमप्रभुले भन्‍नुभएअनुसार राजाले मोशा र हारूनका कुरा सुन्‍न मानेनन्। बरु यी सबै कुरामा केही ध्‍यान नदिई तिनी फर्केर महलमा गए। सबै मिश्रीहरूले नदीको किनारमा पिउने पानी खोज्‍दै खन्‍न लागे किनभने नदीको पानी तिनीहरूले पिउन सकेनन्। परमप्रभुले नदीको पानीलाई रगतमा परिवर्तन गर्नुभएपछि अरू सात दिन बित्‍यो।

शेयर गर्नुहोस्
प्रस्‍थान 7 पढ्नुहोस्