YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 7:14-25

प्रस्‍थान 7:14-25 सरल नेपाली

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजा ढिट भएको छ र इस्राएलीहरूलाई जान दिँदैन। बिहान राजा नील नदीमा जाँदा तँ गएर त्‍यसलाई भेट्। त्‍यो साँप बनिएको लट्ठी लिएर जा र नदीको किनारमा त्‍यसलाई पर्खिबस्। अनि राजालाई भन्, ‘परमप्रभु, हिब्रूहरूका परमेश्‍वरले उहाँको प्रजालाई जान दे र तिनीहरूले उजाड-स्थानमा उहाँलाई पुज्‍नेछन् भन्‍नलाई उहाँले मलाई तपाईंकहाँ पठाउनुभएको हो। तर यतिञ्‍जेल तैँले सुनिनस्‌। अब हे राजा, परमप्रभु भन्‍नुहुन्‍छ कि उहाँका कामहरू देखेर तपाईंले उहाँ को हुनुहुन्‍छ भनी चिन्‍नुहुनेछ‌। हेर्नुहोस्, म यस लट्ठीले नदीको पानीलाई हिर्काउनेछु र पानी रगत बनिनेछ। माछाहरू मर्नेछन् र नदी यति साह्रो गन्‍हाउनेछ कि त्‍यसको पानी मिश्रीहरूले पिउन सक्‍नेछैनन्’।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “आफ्‍नो लट्ठी उचालेर मिश्रको सबै नदी, नहर र पोखरीहरूमाथि पसार्‌ भनी हारूनलाई भन्। तब सबै पानी रगत बनिनेछ र देशभरि काठका ठेका र ढुङ्गाका घडाहरूको पानी समेत रगत बनिनेछ।” तब मोशा र हारूनले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे। राजा र भारदारहरूका अघि हारूनले आफ्‍नो लट्ठी उचालेर नदीलाई हिर्काए र त्‍यहाँ भएको सबै पानी रगत भयो। पानीका माछाहरू मरे र त्‍यहाँ यति दुर्गन्‍ध भयो कि मिश्रीहरूले पानी पिउन सकेनन्। मिश्रको सबै पानी रगत भयो। तब राजाका जादूगरहरूले आफ्‍ना जादूमन्‍त्रले पनि त्‍यसै गरे। राजा अघिझैँ ढिट रहे। परमप्रभुले भन्‍नुभएअनुसार राजाले मोशा र हारूनका कुरा सुन्‍न मानेनन्। बरु यी सबै कुरामा केही ध्‍यान नदिई तिनी फर्केर महलमा गए। सबै मिश्रीहरूले नदीको किनारमा पिउने पानी खोज्‍दै खन्‍न लागे किनभने नदीको पानी तिनीहरूले पिउन सकेनन्। परमप्रभुले नदीको पानीलाई रगतमा परिवर्तन गर्नुभएपछि अरू सात दिन बित्‍यो।

प्रस्‍थान 7 पढ्नुहोस्