तब याहवेहले मोशालाई भन्नुभयो, “अब म फारोलाई के गर्नेछु, सो तैँले देख्नेछस्: मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई जान दिनेछ; मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई आफ्नो देशबाट धपाइदिनेछ।” परमेश्वरले मोशालाई यसो पनि भन्नुभयो, “म नै याहवेह हुँ। म अब्राहाम, इसहाक र याकोबकहाँ सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परेँ, तर याहवेह मेरो नामले त मैले आफैँलाई तिनीहरूसित परिचित गराइनँ। मैले तिनीहरू प्रवासी भई बसेको कनान देश तिनीहरूलाई दिनेछु भनी मेरो करार पनि तिनीहरूसित स्थापित गरेँ। यसबाहेक मैले इजिप्टियनहरूले दास बनाइराखेका इस्राएलीहरूका सुस्केरा सुनेको छु, र मैले आफ्नो करार सम्झेको छु। “यसकारण इस्राएलीहरूलाई भन्: ‘म नै याहवेह हुँ, र म तिमीहरूलाई इजिप्टियनहरूका बोझबाट निकालेर ल्याउनेछु। म तिमीहरूलाई तिनीहरूका दासत्वबाट मुक्त गर्नेछु; अनि म तिमीहरूलाई फैलिएको हात र न्यायको पराक्रमी कामले छुटकारा दिनेछु। म तिमीहरूलाई मेरा आफ्नै मानिसहरूझैँ लिनेछु, र म तिमीहरूका परमेश्वर हुनेछु। तब म नै तिमीहरूका याहवेह परमेश्वर हुँ, जसले तिमीहरूलाई इजिप्टियनहरूका दासत्वको जुवामुनिबाट बाहिर निकालेर ल्याउनुभयो भन्ने कुरा तिमीहरूले जान्नेछौ; अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु, जुन देश मैले अब्राहाम, इसहाक र याकोबलाई दिनेछु भनी हात उचालेर शपथ खाएको थिएँ; म त्यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु; म नै याहवेह हुँ।’ ” तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्। तब याहवेहले मोशालाई भन्नुभयो, “जा, र इजिप्टको राजा फारोलाई इस्राएलीहरूलाई त्यसको देशबाट बाहिर जान देऊ भनी भन्।” तर मोशाले याहवेहलाई भने, “यदि इस्राएलीहरूले नै मेरा कुरा सुन्दैनन् भने फारोले झन् मेरो कुरा कसरी सुन्लान्? किनकि म भकभकाउँदै बोल्छु।” फेरि याहवेह इस्राएलीहरू र इजिप्टका राजा फारोका विषयमा मोशा र हारूनसँग बोल्नुभयो; अनि उहाँले तिनीहरूलाई इस्राएलीहरूलाई इजिप्टबाट बाहिर लैजान आज्ञा दिनुभयो।
प्रस्थान 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रस्थान 6:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू