YouVersion लोगो
खोज आइकन

प्रस्‍थान 6:1-13

प्रस्‍थान 6:1-13 NNRV

तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म फारोलाई के गर्नेछु, अब तैंले देख्‍नेछस्‌। त्‍यसले मेरो शक्तिशाली हातको कारणले तिनीहरूलाई जान दिनेछ। मेरो बलियो हातको कारणले तिनीहरूलाई आफ्‍नो देशबाट त्‍यसले धपाउनेछ।” अनि परमेश्‍वरले मोशालाई भन्‍नुभयो, “म परमप्रभु हुँ”। अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान्‌ परमेश्‍वरको रूपमा देखा परें, तर “परमप्रभु” भन्‍ने मेरो नाउँले त तिनीहरूकहाँ प्रकट भइनँ। तिनीहरू प्रवास गरेको देश, अर्थात्‌ कनान देश तिनीहरूलाई दिने मेरो करार मैले तिनीहरूसित बाँधेको छु। यसबाहेक मिश्रीहरूले दासत्‍वमा राखेका इस्राएलीहरूका कष्‍टको सुस्‍केरा मैले सुनेको छु, र मलाई मेरो करारको सम्‍झना भएको छ। “यसकारण इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ’। म तिमीहरूलाई मिश्रीहरूका बोझामुनिबाट निकाल्‍नेछु, र तिनीहरूको दासत्‍वबाट छुटकारा दिनेछु। आफ्‍नो हात उठाएर तिनीहरूलाई ठूलो दण्‍ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्‍वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ, जसले तिमीहरूलाई मिश्रीहरूको दासत्‍वबाट निकाल्‍नुभयो भन्‍ने कुरा तिमीहरूले जान्‍नेछौ। अनि म तिमीहरूलाई त्‍यस देशमा ल्‍याउनेछु जो अब्राहाम, इसहाक र याकूबलाई दिने मैले शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। म त्‍यो तिमीहरूको अधिकारमा दिनेछु। म परमप्रभु हुँ।” तब मोशाले इस्राएलीहरूलाई त्‍यसै भनेर सुनाए, तर कठोर दासत्‍व र नैराश्‍यले गर्दा तिनीहरूले मोशाका कुरा सुनेनन्‌। अनि परमप्रभुले मोशालाई भन्‍नुभयो, “जा, मिश्रको राजा फारोलाई त्‍यसले इस्राएलीहरूलाई त्‍यसको देशबाट जान देओस्‌ भन्‌।” तर मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले मेरो कुरा सुनेनन्‌ भने, म बोल्‍नै नजान्‍ने मानिसको कुरा फारोले झन्‌ कसरी सुन्‍लान्‌ र?” तब इस्राएलीहरू र मिश्रका राजा फारोका विषयमा परमप्रभुले मोशा र हारूनसित बोल्‍नुभयो, र इस्राएलीहरूलाई मिश्रबाट निकाली ल्‍याउने आज्ञा तिनीहरूलाई दिनुभयो।