YouVersion लोगो
खोज आइकन

प्रस्थानको पुस्तक 6:1-13

प्रस्थानको पुस्तक 6:1-13 NERV

तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महा-शक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि ऊ आफैंले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।” तब परमेश्वरले मोशालाई भन्नु भयो, “म परमप्रभु हुँ, अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सद्दाई भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने। मैले तिनीहरूसित करार बाँधे। मैले तिनीहरूलाई बसो-बास गर्न कनान भूमि दिनेछु भनी प्रतिज्ञा गरें। तिनीहरू त्यस भूमिमा बसे तर त्यो भूमि तिनीहरूको आफ्नै थिएन। इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु। यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा-शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु। तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ। मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।’” यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्। तब परमप्रभुले मोशालाई भन्नुभयो, “जाऊ अनि मिश्रको राजा फिरऊनलाई भन इस्राएलका मानिसहरूलाई उसको भूमिमा जान दिनोस्।” तर मोशाले उत्तर दिए, “इस्राएली मानिसहरूले मेरा कुरा सुन्दैनन् भने। फिरऊनले मेरो कुरा कसरी सुन्छन्? म एउटा एकदमै अयोग्य वक्ता हुँ।” परमप्रभुले मोशा र हारूनसँग कुरा गर्नुभयो। उहाँले तिनीहरूलाई इस्राएली मानिसहरूसित अनि फिरऊनसँग कुरा गर्ने आज्ञा दिनुभयो। परमप्रभुले तिनीहरूलाई भन्नु भयो, इस्राएलका मानिसहरूलाई मिश्रबाट बाहिर लैजाऊ।