YouVersion लोगो
खोज आइकन

एफिसी 5

5
1यसकारण प्रिय बालबालिकाहरूझैं परमेश्‍वरको अनुकरण गर्नेहरू होओ, 2अनि प्रेमको मार्गमा जिओ, जसरी ख्रीष्‍टले हामीहरूलाई प्रेम गर्नुभयो, र परमेश्‍वरको निम्ति सुगन्धित भेटी र बलिदान भएर हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो।
3तर तिमीहरूमा कुनै प्रकारको यौन अनैतिकता वा अशुद्धता वा लोभको नाउँसम्म आउनुहुँदैन, किनकि परमेश्‍वरका पवित्र जनहरूका निम्ति यी कुराहरू उचित छैनन्। 4अनि कुनै प्रकारका अश्लील, मूर्ख बातचित अथवा बेफाइदाका ठट्यौली नगर, यो ठीक छैन, बरु परमेश्‍वरलाई धन्यवाद दिनेगर। 5किनकि तिमीहरू यो निश्‍चित जान, कुनै व्यभिचारी वा अशुद्ध व्यक्‍ति वा लोभी, यस्तो व्यक्‍ति मूर्तिपूजक हो र ख्रीष्‍ट र परमेश्‍वरको राज्यको हकदार हुन सक्दैन। 6कसैले तिमीहरूलाई खोक्रो कुराले धोका नदेओस्, किनकि यिनै कुराहरूका कारण परमेश्‍वरको क्रोध अनाज्ञाकारीहरूमाथि आउँदछ। 7यसकारण यी मानिसहरूले गर्ने काममा सहभागी नहोओ।
8किनकि तिमीहरू एक समय अन्धकारमा थियौ, तर अहिले प्रभुमा ज्योति भएका छौ। त्यसैले ज्योतिका सन्तानझैं जिओ। 9किनकि ज्योतिका फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ, 10अनि प्रभुलाई मनपर्ने कुरा के हो, त्यो खोज। 11अन्धकारका निष्फल कार्यहरूसँग सहभागी नबन, बरु तिनीहरूलाई प्रकट गरिदेओ। 12अनाज्ञाकारीहरूले गुप्‍तमा जे गर्छन्, त्यो भन्‍नु पनि लज्जास्पद कुरो हो। 13तर ज्योतिद्वारा प्रकट भएका सबै कुरा प्रष्‍टै देखिन्छ; अनि उज्यालोमा ल्याइएका सबै कुरा ज्योति बन्दछ। 14त्यसकारण यस्तो भनिएको छ:
“हे सुतेकाहरू, जाग र
मरेकाहरूबाट उठ,
अनि ख्रीष्‍ट तिमीहरूमा चम्कनुहुनेछ।”
15यसकारण तिमीहरू कसरी जिउनुपर्ने हो, त्यसमा होसियार होऊ। निर्बुद्धि मानिसजस्तो होइन, तर बुद्धिमान् जस्तो होऊ। 16सबै अवसरको पूरा सदुपयोग गर, किनकि दिनहरू खराब छन्। 17यसकारण मूर्ख नबन, तर प्रभुको इच्छा के हो सो बुझ। 18दाखमद्यले नमात्तिओ, किनभने यसले तिम्रो जीवन बर्बाद गर्छ। बरु पवित्र आत्माले भरिपूर्ण#5:18 यसको अर्थ नियन्त्रित हुन्छ होओ। 19भजन, स्तुतिगान र आत्मिकी गीतहरूमा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल। 20हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँमा, सधैं सबै कुराको निम्ति परमेश्‍वर पितालाई धन्यवाद चढाओ।
पति-पत्नीहरूलाई निर्देशन
21ख्रीष्‍टको श्रद्धाको लागि एक-अर्काको अधीनतामा बस।
22हे पत्नीहरूहो, प्रभुको अधीनतामा रहेजस्तै, आ-आफ्ना पतिहरूका अधीनतामा बस। 23किनकि पति नै पत्नीको शिर हुन्, जसरी ख्रीष्‍ट पनि उहाँको शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ, जसको निम्ति उहाँ उद्धारकर्ता हुनुहुन्छ। 24जसरी मण्डली ख्रीष्‍टको अधीनतामा छ, त्यसरी नै पत्नीहरू पनि सबै कुरामा तिनीहरूका पतिहरूको अधीनतामा रहून्।
25हे पतिहरूहो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र मण्डलीको निम्ति आफ्नो जीवन दिनुभयो, 26र त्यसलाई वचनद्वारा पानीले धोएर पवित्र पार्न सकियोस्। 27अनि त्यसलाई आफ्नै निम्ति यस्तो प्रतापी मण्डलीको रूपमा प्रस्तुत गर्न सक्नुभएको होस्, जसमा कुनै दाग नभएको अथवा चाउरी नपरेको वा अरू कुनै खोट नभएको, तर पवित्र र निष्खोट होस्। 28यसरी नै पतिहरूले आ-आफ्नी पत्नीहरूलाई आफ्नै शरीरलाईझैं प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्दछ, त्यसले आफैलाई प्रेम गर्दछ। 29कसैले आफ्नो शरीरलाई घृणा गर्दैन, तर उसले यसको वास्ता गर्छ र पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले मण्डलीलाई गर्नुहुन्छ। 30किनकि हामी उहाँका शरीरका अङ्गहरू हौं। 31“यसैकारण मानिसले आफ्ना बुबा र आमालाई छोड्छ र आफ्ना पत्नीसँग जोडिरहनेछ, अनि ती दुई एउटै शरीर हुन्छन्।”#5:31 उत्प 2:24 32यो एक अति गहन रहस्य हो, तर मैले ता ख्रीष्‍ट र मण्डलीबारे कुरा गरिरहेको छु। 33जसरी तिमी आफैलाई प्रेम गर्छौ, त्यसरी नै हरेकले आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ, र पत्नीले आफ्ना पतिको आदर गर्नुपर्छ।

अहिले सेलेक्ट गरिएको:

एफिसी 5: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्