YouVersion लोगो
खोज आइकन

एफिसी 4

4
ख्रीष्‍टको शरीरमा एकता र परिपक्वता
1यसकारण म, प्रभुको निम्ति एक कैदी, तिमीहरू जुन बोलावटमा बोलाइएका छौ, त्यही योग्यको जीवन यापन गर भनी विन्ती गर्दछु। 2पूर्ण रूपले नम्र र विनयी बन र एक-अर्कालाई प्रेममा सहँदै धैर्य धारण गर। 3शान्तिको बन्धनद्वारा आत्माको एकता राख्नलाई हर प्रयत्‍न गर। 4एउटै शरीर छ, र एउटै आत्मा, जसरी तिमीहरूको बोलावट हुँदा एउटै आशामा बोलाइएका थियौ। 5एउटै प्रभु, एउटै विश्‍वास र एउटै बप्‍तिस्मा, 6एउटै परमेश्‍वर र सबैका पिता, जो सबैमाथि, सबैको माध्यम र सबैमा हुनुहुन्छ।
7तर हामीहरू प्रत्येकलाई ख्रीष्‍टको नापअनुसार अनुग्रह दिएको छ। 8यसैकारण धर्मशास्त्रमा यस्तो लेखिएको छ:
“जब उहाँ उच्‍चमा चढिजानुभयो,
उहाँले धेरैलाई बन्दी बनाउनुभयो
अनि उहाँका मानिसहरूलाई वरदानहरू दिनुभयो।”#4:8 भजन 68:18
9(“उहाँ उच्‍चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो कि, उहाँ पृथ्वीको तल्‍लो भागसम्म पनि ओर्लनुभयो। 10उहाँ जो ओर्लनुभयो, सबै स्वर्गहरूभन्दा माथि उक्लनु पनि भयो, ताकि सारा जगतमा उहाँको उपस्थिति रहोस्।) 11यसरी ख्रीष्‍टले कसैलाई प्रेरितहरू, कसैलाई अगमवक्‍ताहरू, कसैलाई प्रचारकहरू, कसैलाई गोठालाहरू र शिक्षकहरू नियुक्‍त गर्नुभयो 12सेवाको कामको लागि परमेश्‍वरका जनहरूलाई सुसज्जित पार्न, ताकि ख्रीष्‍टको शरीरको निर्माण हुन सकोस्, 13जबसम्म हामी सबै परमेश्‍वरका पुत्रको ज्ञानमा र विश्‍वासमा एकता प्राप्‍त गर्दैनौं र ख्रीष्‍टको पूर्णताको पूरा नापसम्म परिपक्व बन्दैनौं।
14तब हामी छालहरूले अघि र पछि हुत्याइएका, विभिन्‍न सिद्धान्तहरूको हर बतास र छालहरूले यताउति पार्दै, धूर्त मानिसहरूका जालझेल, धूर्तता र तिनीहरूका छलपूर्ण योजनाद्वारा ठगिने साना बालकहरूजस्ता हुनेछैनौं। 15बरु प्रेममा सत्य बोल्दै, उहाँमा अर्थात् ख्रीष्‍टमा, जो शिर हुनुहुन्छ, हामी हर प्रकारले परिपक्व हुनालाई बढ्दै जानेछौं। 16उहाँबाट नै सारा शरीर जोडिएको र हरेक जोर्नीहरू गाँसिएको हुन्छ र शरीरका हरेक अङ्गले आफ्नो काम गरेअनुसार प्रेममा आफै वृद्धि हुँदै र निर्माण हुँदैजान्छ।
विश्‍वासी जीवनका निर्देशनहरू
17यसकारण म तिमीहरूलाई यो भन्दछु, र प्रभुको नाममा यो जोड दिँदछु, कि तिमीहरू अब गैरयहूदीहरूझैं तिनीहरूका विचारको व्यर्थतामा नजिओ। 18तिनीहरूका समझ अन्धकारले भरिएका, र तिनीहरूका हृदयका कठोरताले ल्याएको अज्ञानताको कारणले तिनीहरू परमेश्‍वरमा पाइने जीवनदेखि अलग भएका छन्। 19पूरै लाज पचाएर तिनीहरू आफैलाई सबै किसिमको कामुकतामा समावेश गराएर, अझ धेरै सबै प्रकारको अशुद्धता र लोभले परेका छन्।
20तथापि तिमीहरूले त ख्रीष्‍टको विषयमा यस्तो शिक्षा सिकेका थिएनौ, 21जब तिमीले ख्रीष्‍टको बारेमा सुन्यो र येशूमा भएको सत्यताअनुसार नै तिमीहरूले उहाँमा सिक्यौ। 22तिमीहरूले आफ्नो पुरानो जीवन, जो छली चाहनाद्वारा दूषित भइरहेको छ, त्यो पुरानो स्वभावको जीवन जिउने तरिकालाई त्याग्नुपर्छ भनी सिकेका छौ; 23र आफ्ना मनको स्वभावमा नयाँ बन्‍न सक; 24अनि नयाँ स्वभावलाई धारण गर, जो साँचो धार्मिकता र पवित्रतामा परमेश्‍वरजस्तै हुनालाई सृष्‍टि गरिएको छ।
25यसकारण तिमीहरू प्रत्येकले झूटलाई त्यागेर आफ्ना छिमेकीसँग सत्य बोल्नुपर्छ; किनकि हामी सबै एउटै शरीरका अङ्गहरू हौं। 26“क्रोध गर, तर पाप नगर”#4:26 भजन 4:4: घाम अस्ताउनु अघि नै तिमीहरूको रिस मरोस्, 27र शैतानलाई कुनै मौका नदेओ। 28चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस् कि, आफ्नै हातले केही फाइदाजनक काम गरी खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्।
29तिमीहरूको मुखबाट कुनै नराम्रो बोली ननिस्कोस्, तर अरूहरूको आवश्यकता अनुसार निर्माण गर्न सहायता पुग्ने र सुन्‍नेहरूलाई फाइदा हुने बोली मात्र बोल। 30अनि परमेश्‍वरको पवित्र आत्मालाई दुःखी नबनाओ जसद्वारा तिमी मुक्‍तिको दिनका लागि छाप लगाइएका छौ। 31सबै तीतोपना, क्रोध र रिस, झैझगडा र निन्दा, सबै किसिमका घृणासमेत त्यागिदेओ। 32एक-अर्काप्रति दयालु र कोमल मनका होओ, ख्रीष्‍टमा परमेश्‍वरले तिमीहरूलाई क्षमा गर्नुभएझैं, एक-अर्कालाई क्षमा गर।

अहिले सेलेक्ट गरिएको:

एफिसी 4: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्