YouVersion लोगो
खोज आइकन

एफिसी 3

3
गैरयहूदीहरूका निम्ति परमेश्‍वरको महान् योजना
1यसैकारण म पावल, ख्रीष्‍ट येशूको कैदी, तिमी गैरयहूदीहरूका निम्ति,
2तिमीहरूकै निम्ति मलाई परमेश्‍वरको अनुग्रहको व्यवस्थापन दिइएको बारेमा निश्‍चय नै सुनेका छौ होला 3कि, मलाई प्रकाशद्वारा त्यो रहस्य प्रकट गरिएको थियो; जसको बारेमा मैले छोटकरीमा लेखिसकेको छु। 4तिमीहरूले जब यो पढ्नेछौ, ख्रीष्‍टको रहस्यबारे मेरो अन्तर्दृष्‍टि बुझ्नेछौ। 5जुन कुरो अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्‍वरका पवित्र प्रेरितहरू र अगमवक्‍ताहरूलाई आत्माद्वारा प्रकट भएको छ। 6यो रहस्य के हो भने, सुसमाचारमा विश्‍वासद्वारा गैरयहूदीहरू पनि इस्राएलसँगै उत्तराधिकारी, एउटै शरीरका सदस्य, र ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञामा साझेदार हुन्।
7परमेश्‍वरको शक्‍तिको कामअनुसार मलाई दिइएको उहाँको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक बनिएँ। 8यद्यपि प्रभुका सबै सन्तहरूभन्दा म सानो व्यक्‍ति भए तापनि ख्रीष्‍टमा पाइने अगम्य सम्पत्तिको सुसमाचारबारे गैरयहूदीहरूलाई प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइयो। 9अनि सबै थोक सृष्‍टि गर्नुहुने परमेश्‍वरले युगौंयुगसम्म लुकाएर राखिएको यो रहस्यको प्रबन्धबारे सबैलाई सरल ढङ्गमा बुझाउने अनुग्रह मलाई दिनुभयो। 10स्वर्गीय स्थानहरूमा भएका शासकहरू तथा अधिकारीहरूलाई परमेश्‍वरबारे धेरै ज्ञानहरू अब मण्डलीद्वारा प्रकट होस् भन्‍ने उहाँको अभिप्राय थियो। 11जुनचाहिँ उहाँले हाम्रा प्रभु ख्रीष्‍ट येशूमा पूरा गर्नुभएको अनन्त योजनाअनुसार थियो। 12उहाँमा, अनि उहाँमा राखिएको हाम्रो विश्‍वासद्वारा साहस र निश्‍चयतासाथ हामी परमेश्‍वरको उपस्थितिमा पुग्नसक्छौं। 13यसकारण म यो निवेदन गर्दछु, मैले तिमीहरूको निम्ति भोगिरहेको कष्‍टको कारण निरुत्साहित नहोओ, ती त तिमीहरूका गौरव हुन्।
एफिसीहरूको निम्ति प्रार्थना
14यसैकारण म पिताको सामुन्‍ने घुँडा टेक्दछु, 15जसद्वारा स्वर्गमा र पृथ्वीमा भएका हरेक परिवारको नाउँ राखिएको छ। 16म यो प्रार्थना गर्दछु, कि उहाँको महिमित सम्पत्तिअनुसार उहाँले तिमीहरूको भित्री मनुष्यत्वमा उहाँको आत्माको शक्‍तिद्वारा बलवान् बनाऊन्; 17ताकि ख्रीष्‍ट तिमीहरूको हृदयमा विश्‍वासद्वारा वास गरून्। अनि म यो पनि प्रार्थना गर्दछु, कि तिमीहरू प्रेममा जरा गाडेका र स्थापित भएका होओ 18कि, प्रभुका सबै सन्तहरू सँगसँगै ख्रीष्‍टको प्रेमको चौडाइ, लम्बाइ, उचाइ र गहिराइ कति छ भनी तिमीहरूले बुझ्ने शक्‍ति पाउन सक, 19अनि सबै समझभन्दा बाहिरको ख्रीष्‍टको प्रेम जान्‍न सक, ताकि परमेश्‍वरको सारा पूर्णताको नापसम्म तिमीहरू भरिपूर्ण हुन सक।
20अब उहाँलाई, जसले हामीभित्र काम गर्ने आफ्नो शक्‍तिअनुसार हामीले मागेको वा सोचेकोभन्दा ज्यादै प्रशस्त गरी गर्न सक्नुहुन्छ, 21उहाँलाई नै मण्डली र ख्रीष्‍ट येशूमा पुस्तौं-पुस्तौसम्म, सदा-सर्वदाको लागि महिमा होस्! आमेन!

अहिले सेलेक्ट गरिएको:

एफिसी 3: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्