YouVersion लोगो
खोज आइकन

एफिसी 6

6
1हे छोराछोरीहरूहो, प्रभुमा आफ्ना आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ। 2“आफ्ना बुबा र आमाको आदर गर”—यो प्रतिज्ञासहितको पहिलो आज्ञा हो, 3“ताकि तिमीहरूको भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु भएर बाँच्न सक।”#6:3 व्यव 5:16
4हे बुबाहरूहो#6:4 अथवा अभिभावकहरू, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, बरु तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।
5हे सेवकहरूहो, ख्रीष्‍टको आज्ञा पालन गरेझैं तिमीहरू आफ्ना सांसारिक मालिकहरूका आदर, भय, र हृदयको इमानदारीतासाथ आज्ञा पालन गर। 6केवल उनीहरूलाई खुशी पार्ने हेतुले उनीहरूका आँखा अगाडि मात्र होइन, तर ख्रीष्‍टका सेवकहरूझैं तिमीहरूका हृदयदेखि नै परमेश्‍वरको इच्छा पूरा गर्दै उनीहरूको आज्ञा पालन गर। 7तिमीहरूले मानिसको सेवा गरेझैं होइन, तर प्रभुको सेवा गरेझैं, सम्पूर्ण हृदयले सेवा गर। 8किनकि तिमीहरू जान्दछौ कि, हरेक मानिसले जे असल कार्य गर्दछ, त्यही अनुसारको इनाम प्रभुले त्यसलाई दिनुहुन्छ, चाहे तिनीहरू सेवक हुन् या फुक्‍का हुन्।
9हे मालिकहरूहो, तिमीहरूले पनि आफ्ना सेवकहरूसँग त्यस्तै व्यवहार गर। तिनीहरूलाई धम्की नदेओ, किनकि तिमी जान्दछौ कि, तिमीहरू दुवैका मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँमा कुनै पक्षपात हुँदैन।
परमेश्‍वरका हातहतियार
10अन्त्यमा प्रभुमा र उहाँको शक्‍तिशाली सामर्थ्यमा बलिया होओ। 11परमेश्‍वरका सारा हातहतियार धारण गर, ताकि तिमीहरू शैतानका युक्‍तिहरूको विरुद्धमा खडा हुन सक। 12किनकि हाम्रो लडाइँ मानिसहरूका#6:12 मूल भाषामा शरीर र रगत विरुद्धमा होइन, तर शासकहरूका विरुद्ध, अधिकारीहरूका विरुद्ध, संसारका अन्धकारका शक्‍तिहरूका विरुद्ध र स्वर्गीय स्थानहरूमा दुष्‍टताका आत्मिकी सेनाहरूका विरुद्ध हो। 13यसकारण परमेश्‍वरका सारा हातहतियार धारण गर; ताकि खराब समयमा आफ्ना शत्रुलाई प्रतिकार गर्न सक। तब युद्धपछि पनि तिमी स्थिर भई खडा हुन सक्नेछौ। 14यसकारण कम्मरमा सत्यताको पेटीले बाँधेर, धार्मिकताको छाती-पाता लगाएर खडा होऊ; 15अनि खुट्टामा शान्तिको सुसमाचारको तयारीको जुत्ता लगाओ। 16यी सबै कुराबाहेक विश्‍वासको ढाल हातमा उठाओ, जसद्वारा तिमीले शैतानका सबै अग्निवाणहरू निभाउन सक्नेछौ। 17शिरमा मुक्‍तिको टोप लगाओ र हातमा आत्माको तरवार लेओ, जोचाहिँ परमेश्‍वरको वचन हो।
18अनि सब अवस्थाहरूमा, सबै प्रकारका निवेदन र अन्तर्विन्तीसहित आत्मामा प्रार्थना गर। यी कुरालाई सम्झदै मनमा सचेत भएर प्रभुका सबै सन्तहरूका निम्ति सधैं प्रार्थना गर। 19मेरो निम्ति पनि प्रार्थना गर, जब म बोल्छु, सुसमाचारको रहस्य निर्धक्‍कसँग भन्‍नलाई मलाई शब्दहरू दिइयोस्, 20जसको लागि म साङ्लाहरूमा बाँधिएको एक राजदूत हुँ। मैले जसरी बोल्नुपर्ने हो, त्यसरी नै म विनाडर घोषणा गर्न सकूँ, भनी प्रार्थना गर।
अन्तिम अभिवादन
21मेरो प्यारो भाइ र प्रभुमा विश्‍वासयोग्य सेवक, तुखिकसले तिमीहरूलाई सबै कुरा भन्‍नेछन्; र तिमीहरूले मेरा सबै अवस्थाबारे जान्‍नेछौ। 22मैले तिनलाई यही विशेष उद्देश्यले तिमीहरूकहाँ पठाउँदैछु, कि हाम्रो हालचाल कस्तो छ भनी तिमीहरूले जान्‍न सक र उनले तिमीहरूलाई उत्साहित गराऊन्।
23दाजुभाइ-दिदीबहिनीहरूलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट विश्‍वाससहितको प्रेम र शान्ति।
24हाम्रा प्रभु येशू ख्रीष्‍टलाई अमर प्रेमले प्रेम गर्नेहरू सबैमा अनुग्रह रहोस्।

अहिले सेलेक्ट गरिएको:

एफिसी 6: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्