YouVersion लोगो
खोज आइकन

व्यवस्था 11:18-32

व्यवस्था 11:18-32 NCV

मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा राख; यिनलाई तिमीहरूका आफ्ना हातमा र आफ्ना निधारमा चिन्हको रूपमा बाँधिराख। आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यिनको विषयमा चर्चा गर्दै आफ्ना छोराछोरीहरूलाई सिकाओ। यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख; ताकि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमीहरू र तिमीहरूका छोराछोरीहरू पृथ्वीमाथि आकाश रहुन्जेल बाँचिरहून्। यदि मैले तिमीहरूलाई दिइरहेका सबै आज्ञाहरू तिमीहरूले होसियारीसाथ पालन गर्‍यौ, याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गहरूमा आज्ञाकारी भई हिँड्न र उहाँमा लागिरहनका निम्ति सबै आज्ञाहरू पालन गर्‍यौ भने, याहवेहले यी सबै जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछ; अनि तिमीहरूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई तिमीहरूले अधीनमा लिनेछौ। तिमीहरूले आफ्ना खुट्टाले टेकेका हरेक ठाउँ तिमीहरूको हुनेछ: तिमीहरूको प्रान्त उजाडस्थानदेखि लेबनानसम्म र यूफ्रेटिस नदीदेखि भूमध्य सागरसम्म फैलिनेछ। कुनै पनि मानिस तिमीहरूको विरुद्धमा खडा हुन सक्नेछैन। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू जहाँ गए तापनि सारा देशभरि तिमीहरूको डर र आतङ्क हालिदिनुहुनेछ। हेर, मैले आज तिमीहरूका सामु आशिष् र श्राप राखिदिएको छु। मैले आज तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू यदि तिमीहरूले पालन गर्‍यौ भने आशिष् पाउनेछौ। तर यदि तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याएर आज मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गरेनौ भने श्राप पाउनेछौ। जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूले अधिकार गर्न पस्‍न लागेको देशमा तिमीहरूलाई ल्याउनुहुनेछ, तब तिमीहरूले गीरीज्जीम डाँडामा आशिष् र एबाल डाँडामा श्राप घोषणा गर्नू। तिमीहरूलाई थाहै छ, यी पर्वतहरू गिलगालको छेउका अराबामा बस्‍ने कनानीहरूको प्रान्तमा मोरेको फलाँटहरूका छेउमा घाम अस्ताउने दिशापट्टि, बाटोको पश्‍चिम भागमा यर्दनको पारि छन्। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्न र त्यस देशमा अधिकार गर्नलाई यर्दन पार गर्न लागेका छौ। जब तिमीहरूले त्यस देशलाई अधीनमा लिएर त्यसमा बस्‍नेछौ, तब मैले आज तिमीहरूका अगि राखिदिएका सबै उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू।

व्यवस्था 11 पढ्नुहोस्