YouVersion लोगो
खोज आइकन

व्यवस्था 11:18-32

व्यवस्था 11:18-32 NNRV

तिमीहरूले मेरा यी वचनहरू आफ्‍ना मन र हृदयमा राख। ती आफ्‍ना हातमा र निधारमा चिन्‍हहरू स्‍वरूप बाँध। आफ्‍नो घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍कँदा र उठ्‌दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्‍ना छोराछोरीहरूलाई सिकाओ। आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख, ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्‍तानहरू पृथ्‍वीमाथि आकाश रहुञ्‍जेल चिरायु होऊन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्‌न र उहाँलाई समातिराख्‍न भनी मैले तिमीहरूलाई मान्‍नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्‍दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ। तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्‍थानदेखि लेबनानसम्‍म, र महानदी यूफ्रेटिसदेखि पश्‍चिमको समुद्रसम्‍मै तिमीहरूको सिमाना हुनेछ। तिमीहरूका सामु कोही पनि टिक्‍न सक्‍नेछैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्‍त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ। हेर, आज म तिमीहरूका सामु आशिष्‌ र अभिशाप राख्‍दैछु। मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने आशिष्‌ पाउनेछौ। र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्‍य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्‍यौ भने तिमीहरूले सराप पाउनेछौ। जब परमप्रभु तिमीहरूका आफ्‍ना परमेश्‍वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू। तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्‍चिमपट्टि, घाम अस्‍ताउने दिशातिर, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्‌। तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गर्न यर्दन पारि जान लागेका छौ। जब तिमीहरू त्‍यस ठाउँलाई अधिकार गरी त्‍यहाँ बसिरहेका हुनेछौ, तब मैले आज तिमीहरूका सामुन्‍ने राखेका यी सबै विधिविधानहरू पालन गर्न ख्‍याल राख।