“चालीस वर्ष बितेपछि सीनै पर्वत नजिकैको मरुभूमिको एउटा जलिरहेको पोथ्रामा एक जना स्वर्गदूत मोशाकहाँ देखा परे। जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्चर्यचकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, तब तिनले परमेश्वरको यस्तो वचन सुने: ‘म तेरा पुर्खाहरूका परमेश्वर हुँ, म अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकोबका परमेश्वर हुँ।’ मोशा डराएर काम्न लागे, र तिनले त्यस दृश्यतिर हेर्न आँट गरेनन्। “त्यसपछि परमेश्वरले तिनलाई भन्नुभयो, ‘यसभन्दा नजिक नआइजा। तेरो खुट्टाको जुत्ता फुकाल। किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो। इजिप्टमा मेरा जनहरूमाथि भएको अत्याचार मैले निश्चय नै देखेको छु। तिनीहरूका चीत्कार मैले सुनेको छु। त्यसैले तिनीहरूलाई दुःखबाट छुटकारा दिलाउन म आएको हुँ। अब आइज, म तँलाई इजिप्टमै पठाउनेछु।’ “यिनी तिनै मोशा थिए, जसलाई तिनीहरूले यस्तो वचन बोलेर अस्वीकार गरेका थिए; ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्यो?’ तिनीहरूका शासक र मुक्तिदाता हुनका निम्ति परमेश्वरले पोथ्रामा उनका सामु देखाउनुभएको दूतद्वारा तिनी त्यहाँ पठाइए। इजिप्टमा लाल समुद्रमा र उजाडस्थानमा चालीस वर्षसम्म अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू देखाउँदै तिनले तिनीहरूलाई इजिप्टबाट बाहिर ल्याए। “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई यसो भनेका थिए, ‘परमेश्वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ।’ मोशा उजाडस्थानको समुदायमा थिए। ती स्वर्गदूतसँग, जो सीनै पर्वतमा तिनीसँग बोलेका थिए र हाम्रा पुर्खाहरूसँग थिए। अनि त्यहाँ तिनले हामीलाई दिनका निम्ति जीवित वचनहरू पाएका थिए। “तर हाम्रा पुर्खाहरूले तिनको वचनको पालना गर्न अस्वीकार गरे। त्यसको साटो तिनीहरूले तिनको अपहेलना गरे। अनि आफ्नो हृदयमा इजिप्ट फर्कन अठोट गरे। तिनीहरूले हारूनलाई यसो भने, ‘हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस्। किनकि हामीलाई इजिप्टबाट बाहिर लिएर आउने यी मानिस मोशालाई के भयो हामीलाई थाहा छैन।’ त्यसै बेला तिनीहरूले बाछाको आकृतिको एउटा मूर्ति बनाए। त्यसमा तिनीहरूले बलि चढाए, र आफ्नै हातले जे निर्माण गरेका थिए, त्यसकै सम्मानमा उत्सव मनाए। तब परमेश्वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: “ ‘हे इस्राएलका घराना हो, उजाडस्थानमा चालीस वर्षसम्म के तिमीहरूले मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ? मोलेखको पाल र तिमीहरूको देवता रेफनको तारा र आफूले आराधना गर्न तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइलग्यौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’
प्रेरित 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 7:30-43
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू