YouVersion लोगो
खोज आइकन

प्रेरित 7:30-43

प्रेरित 7:30-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्‍थानमा जलिरहेको पोथ्राको ज्‍वालामा एउटा स्‍वर्गदूत तिनीकहाँ देखा परे। जब मोशाले यो देखे तब तिनी यस दर्शनले छक्‍क परे, र त्‍यो हेर्नलाई नजिक जाँदा परमप्रभुको यस्‍तो वाणी भयो, ‘म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ— अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर।’ मोशा काम्‍न लागे, र तिनले त्‍यतातिर हेर्नेसम्‍म आँट गरेनन्‌। “तब परमप्रभुले तिनलाई भन्‍नुभयो, ‘तिम्रा खुट्टाका जुत्ता फुकाल, किनकि जुन स्‍थानमा तिमी खड़ा छौ, त्‍यो पवित्र स्‍थान हो। मिश्रमा भएका मेरा प्रजाको दुर्दशा मैले देखें, र तिनीहरूको बिलौना पनि सुनें। तिनीहरूलाई छुटकारा दिन म ओर्लिआएको छु। अब आऊ, म तिमीलाई मिश्रदेशमा पठाउनेछु।’ “यही मोशा, जसलाई तिनीहरूले ‘कसले तिमीलाई हाकिम र न्‍यायकर्ता तुल्‍यायो’ भनेर इन्‍कार गरेका थिए, तिनलाई परमेश्‍वरले पोथ्रामा देखा पर्ने स्‍वर्गदूतद्वारा हाकिम र उद्धारकर्ता तुल्‍याएर पठाउनुभयो। यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्‍थानमा उदेकका काम र चिन्‍हहरू गरिकन तिनीहरूलाई बाहिर ल्‍याए। “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्‍वरले मलाई खड़ा गर्नुभएजस्‍तै तिमीहरूका दाजुभाइहरूमध्‍येबाट तिमीहरूका निम्‍ति एक जना अगमवक्ता खड़ा गर्नुहुनेछ।’ यी तिनै मोशा हुन्, जो उजाड-स्‍थानमा भएको समुदायमा स्‍वर्गदूतसँग थिए, जुन स्‍वर्गदूतले सीनै पर्वतमा र हाम्रा पुर्खाहरूसँग बोलेका थिए, र तिनैले हामीलाई दिनका निम्‍ति जीवित वाणीहरू पाएका थिए। “हाम्रा पुर्खाहरूले तिनको आज्ञापालन गर्न इन्‍कार गरे। तिनीहरूले तिनलाई पन्‍छाएर मिश्रदेशमै फर्केर जाने मन गरे। तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्‍ने कोही देवताहरू हाम्रा निम्‍ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउने यी मोशालाई के कसो भयो हामी जान्‍दैनौं।’ ती दिनमा तिनीहरूले एउटा बाछाको मूर्ति बनाए, र त्‍यसमा बलि पनि चढ़ाए, र आफ्‍ना हातको काममा खुशी मनाए। तर परमेश्‍वरले तिनीहरूलाई तिरस्‍कार गर्नुभयो, र तिनीहरूलाई आकाशका तारामण्‍डलको उपासना गर्न छोडिदिनुभयो, जस्‍तो अगमवक्ताहरूका पुस्‍तकमा लेखिएको छ, ‘इस्राएलका मानिस हो, के तिमीहरूले चालीस वर्षसम्‍म उजाड-स्‍थानमा मलाई पशुबलि र भेटीहरू चढ़ायौ? तिमीहरूले मोलोखको तम्‍बू र रेफन देवताको तारा, र तिमीहरूले पुज्‍नलाई बनाएका मूर्तिहरू उठाइलग्‍यौ। अब म तिमीहरूलाई बेबिलोनदेखि पारी निर्वासित गर्नेछु।’

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:30-43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“चालीस वर्ष बितेपछि सीनै पर्वत नजिकैको मरुभूमिको एउटा जलिरहेको पोथ्रामा एक जना स्वर्गदूत मोशाकहाँ देखा परे। जब मोशाले यो देखे, तब त्यस दर्शनले गर्दा तिनी आश्‍चर्यचकित भए। त्यसलाई नियालेर हेर्न जब तिनी नजिकै गए, तब तिनले परमेश्‍वरको यस्तो वचन सुने: ‘म तेरा पुर्खाहरूका परमेश्‍वर हुँ, म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर हुँ।’ मोशा डराएर काम्न लागे, र तिनले त्यस दृश्यतिर हेर्न आँट गरेनन्। “त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, ‘यसभन्दा नजिक नआइजा। तेरो खुट्टाको जुत्ता फुकाल। किनकि तँ उभिएको ठाउँ पवित्र भूमि हो। इजिप्टमा मेरा जनहरूमाथि भएको अत्याचार मैले निश्‍चय नै देखेको छु। तिनीहरूका चीत्कार मैले सुनेको छु। त्यसैले तिनीहरूलाई दुःखबाट छुटकारा दिलाउन म आएको हुँ। अब आइज, म तँलाई इजिप्टमै पठाउनेछु।’ “यिनी तिनै मोशा थिए, जसलाई तिनीहरूले यस्तो वचन बोलेर अस्वीकार गरेका थिए; ‘तिमीलाई कसले हाम्रो शासक र न्यायकर्ता नियुक्त गर्‍यो?’ तिनीहरूका शासक र मुक्तिदाता हुनका निम्ति परमेश्‍वरले पोथ्रामा उनका सामु देखाउनुभएको दूतद्वारा तिनी त्यहाँ पठाइए। इजिप्टमा लाल समुद्रमा र उजाडस्थानमा चालीस वर्षसम्म अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू देखाउँदै तिनले तिनीहरूलाई इजिप्टबाट बाहिर ल्याए। “ती तिनै मोशा हुन्, जसले इस्राएलीहरूलाई यसो भनेका थिए, ‘परमेश्‍वरले तिमीहरूका निम्ति तिमीहरूकै इस्राएली दाजुभाइहरूका बीचबाट मजस्तै एक जना अगमवक्ता खडा गर्नुहुनेछ।’ मोशा उजाडस्थानको समुदायमा थिए। ती स्वर्गदूतसँग, जो सीनै पर्वतमा तिनीसँग बोलेका थिए र हाम्रा पुर्खाहरूसँग थिए। अनि त्यहाँ तिनले हामीलाई दिनका निम्ति जीवित वचनहरू पाएका थिए। “तर हाम्रा पुर्खाहरूले तिनको वचनको पालना गर्न अस्वीकार गरे। त्यसको साटो तिनीहरूले तिनको अपहेलना गरे। अनि आफ्नो हृदयमा इजिप्ट फर्कन अठोट गरे। तिनीहरूले हारूनलाई यसो भने, ‘हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस्। किनकि हामीलाई इजिप्टबाट बाहिर लिएर आउने यी मानिस मोशालाई के भयो हामीलाई थाहा छैन।’ त्यसै बेला तिनीहरूले बाछाको आकृतिको एउटा मूर्ति बनाए। त्यसमा तिनीहरूले बलि चढाए, र आफ्नै हातले जे निर्माण गरेका थिए, त्यसकै सम्मानमा उत्सव मनाए। तब परमेश्‍वर तिनीहरूबाट विमुख हुनुभयो र आकाशका तारामण्डलको पूजा आराधना गर्न तिनीहरूलाई छोडिदिनुभयो, जस्तो अगमवक्ताहरूको पुस्तकमा लेखिएको छ: “ ‘हे इस्राएलका घराना हो, उजाडस्थानमा चालीस वर्षसम्म के तिमीहरूले मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ? मोलेखको पाल र तिमीहरूको देवता रेफनको तारा र आफूले आराधना गर्न तिमीहरूले बनाएको मूर्ति तिमीहरूले उठाइलग्यौ। त्यसैले म तिमीहरूलाई बेबिलोनभन्दा टाढा निर्वासनमा पठाउनेछु।’

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:30-43 पवित्र बाइबल (NERV)

“चालिस वर्ष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे। जब मोशाले यस्तो देखे, उनी अचम्मित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने। परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, याकूबका परमेश्वर हुँ।’ मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन। “परमप्रभुले उनलाई भन्नुभयो, ‘तिम्रा जुत्ताहरू खोल, किनभने जुन ठाउँमा तिमी उभिरहकाछौ त्यो पवित्र ठाँउ हो। मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरें। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।’ “यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो। तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस वर्ष सम्म गरे। “उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।’ उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा सँगै थिए। तिनी त्यो स्वर्गदूतसँग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसँग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए। “तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे। हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’ यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए। तर परमेश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः ‘तिमी यहूदीहरूले चालीस वर्षसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं; तिमीहरूले तिनीहरूसित मोलेकको पाल अनि तिम्रो देवता रिफमका तारा ल्यायौ। तिनीहरू मुर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ। ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो। यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्

प्रेरित 7:30-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“चालीस वर्ष बितेपछि सीनै पर्वतको उजाड-स्थानमा जलिरहेको पोथ्राको ज्वालामा एउटा स्‍वर्गदूत मोशाकहाँ देखा परे। यो देखेर मोशा छक्‍कै परे अनि राम्ररी हेर्नलाई त्‍यस झाडीको नजिकै जाँदा उनले प्रभुको आवाज सुने, ‘म तेरा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ’। यो सुनेर मोशा डरले थरथर काँप्‍न थाले र उनले हेर्ने साहससम्‍म पनि गरेनन्। प्रभुले मोशालाई भन्‍नुभयो, ‘तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको ठाउँ पवित्र छ। मिश्रदेशमा भएका मेरा मानिसहरूले दु:ख-कष्‍ट भोगेको मैले देखेको छु र तिनीहरूको छटपटी र बिलौना सुनेको छु। म तिनीहरूलाई बचाउन आएको हुँ र यस कामको लागि म तँलाई मिश्रदेशमा पठाउनेछु’। “यिनै मोशा हुन्, जसलाई आफ्‍नै जातिले यसो भनी त्‍यागेका थिए, ‘कसले तँलाई हामीमाथि राजा र न्‍यायाधीश बनाएर पठायो?’ बलिरहेको झाडीमा यिनीसँग स्‍वर्गदूतद्वारा परमेश्‍वरले बोल्‍नुभयो र उनले नै इस्राएलीहरूलाई छुट्‍कारा दिन र तिनीहरूमाथि अगुवा हुनलाई ठहराएर पठाउनुभयो। उनले नै इस्राएलीहरूलाई मिश्रदेशबाट बाहिर निकाले अनि परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको देशमा जाँदा मिश्रदेश, लाल समुद्र र उजाड-स्थानहरूमा उनले चालीस वर्षसम्‍म अचम्‍मका काम र चिन्‍हहरू देखाए। उनै मोशाले इस्राएलीहरूलाई भनेका थिए, ‘परमेश्‍वरले तिमीहरूका आफ्‍नै दाजुभाइका बीचबाट मजस्‍तो एक जना अगमवक्ता तिमीहरूकहाँ पठाइदिनुहुनेछ’। इस्राएलीहरू उजाड-स्थानमा सीनै पर्वतको फेदमा भेला हुँदा मोशा तिनीहरूसँगै थिए। स्‍वर्गदूत सीनै पर्वतमा उनैसँग बोल्‍ने गर्थे र उनले नै स्‍वर्गदूतबाट पाएको जिउँदो शिक्षा इस्राएलीहरूलाई सुनाए। “तर हाम्रा पिता-पुर्खाहरूले उनको कुरालाई सुन्‍दा पनि सुनेनन्, टेर्दा पनि टेरेनन्। मोशालाई छोडेर तिनीहरूले मिश्रदेशमा नै फर्कने इच्‍छा गरे। तिनीहरूले मोशाका दाजु हारूनलाई यसरी भने, ‘अब हामीलाई आफ्‍नो देवता बनाएर अघि लैजाऊ। हामीलाई छुटाएर ल्‍याउने मोशा मरे कि भागे, हामीलाई के थाहा छ र?’ “त्‍यसपछि तिनीहरूले बाछाको एउटा मूर्ति बनाए र त्‍यसका अगाडि बलि चढाए। आफ्‍नै हातले बनाएको मूर्तिको खुसीयाली मा तिनीहरूले भोज लगाए। त्‍यसकारण परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नुभयो र स्‍वर्गका ग्रह र ताराहरूलाई पुजून् भनेर छोडिदिनुभयो। त्‍यसको बारेमा धर्मशास्‍त्रमा अगमवक्ताहरूले यसरी लेखेका छन्– हे इस्राएली हो! तिमीहरूले चालीस वर्षसम्‍म उजाड-स्थानमा जुन बलि चढायौ, त्‍यो त मेरो लागि थिएन। तिमीहरूले मोलेख भन्‍ने देवताको पाल बोकेर लग्‍यौ अनि रेफन देवता भन्‍ने ताराको मूर्ति पनि ल्‍यायौ। तिनीहरू तिमीहरूले नै बनाएका मूर्तिहरू थिए। त्‍यसैकारण म तिमीहरूलाई दण्‍ड दिन बेबिलोनपारिसम्‍म पनि पठाउनेछु।

शेयर गर्नुहोस्
प्रेरित 7 पढ्नुहोस्