YouVersion लोगो
खोज आइकन

प्रेरितहरूका काम 7:30-43

प्रेरितहरूका काम 7:30-43 NERV

“चालिस वर्ष पछि मोशा सीनै पर्वतको मरूभूमिमा थिए। बलिरहेको पोथ्राको ज्वालामा एकजना स्वर्गदूत तिनको अघाडि देखा परे। जब मोशाले यस्तो देखे, उनी अचम्मित भए। जब उनी नियालेर हेर्न नजिक गए, मोशाले परमप्रभुको आवाजले भन्दै गरेको सुने। परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर, याकूबका परमेश्वर हुँ।’ मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन। “परमप्रभुले उनलाई भन्नुभयो, ‘तिम्रा जुत्ताहरू खोल, किनभने जुन ठाउँमा तिमी उभिरहकाछौ त्यो पवित्र ठाँउ हो। मैले मेरा मानिसहरूलाई मिश्र देशमा अत्यन्तै कष्ट पाइरहेको देखें। मैले तिनीहरूको विलाप सुने। म तिनीहरूलाई बचाउन तल झरें। अब आऊ, म तिमीलाई मिश्र देश पठाउँछु।’ “यो मोशा त्यही मानिस थिए जसलाई यहूदीहरूले चाहिंदैन भनेका थिए। तिनीहरूले उनलाई भनेका थिए, ‘कसले तिमीलाई हाम्रो शासक र न्यायकर्त्ता बनायो?’ त्यही मानिसलाई परमश्वरले शासक र उद्धारकको रूपमा पठाउनु भएको थियो। परमेश्वरले मोशालाई स्वर्गदूतको माध्यम पठाउनु भएको थियो जो जल्दै गरेको पोथ्रामा उनी अघि देखापरेको थियो। तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस वर्ष सम्म गरे। “उनी त्यही मोशा थिए जसले यहूदीहरूलाई भनेका थिए, ‘परमेश्वरले तिमीहरूको लागि तिमीहरूकै माझबाट एक अगमवक्ता पठाउनु हुनेछ। उनी म जस्तै नै हुनेछन्।’ उनी त्यही मोशा हुन जो यहूदीहरूकै जमघटमा एकत्रित भएर मरूभूमिमा सँगै थिए। तिनी त्यो स्वर्गदूतसँग जो सीनै पर्वतमा तिनीसित बोले अनि तिनी हाम्रा पुर्खाहरूसँग थिए। मोशाले परमेश्वरबाट आदेशहरू प्राप्त गरे जसले जीवन दिन्छ। मोशाले हामीलाई ती आदेशहरू दिए। “तर हाम्रा पुर्खाहरूले मोशाका आज्ञा पालन गर्न चाहेनन्। तिनलाई स्वीकार गरेनन्। अनि तिनीहरूले मिश्रदेश फर्की जाने इच्छा गरे। हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’ यसकारणले मानिसहरूले बाछो जस्तो देखिने एउटा मूर्ति बनाए। त्यसपछि तिनीहरूले त्यसलाई बलिहरू चढाए। मानिसहरू आफ्नै हातले त्यस्तो चीज बनायौं भनेर अत्यन्त खुशी थिए। तर परमेश्वर तिनीहरूबाट टाढा जानु भयो अनि तिनीहरूलाई आकाशको झूटो देवताहरूको पूजा गर्न छाडिदिनु भयो। अगमवक्ताहरूका पुस्तकमा लेखिए जस्तै यो घट्योः ‘तिमी यहूदीहरूले चालीस वर्षसम्म यो मरूभूमिमा मेरा निम्ति पशु-बलि अनि भेटीहरू अर्पण गरेनौं; तिमीहरूले तिनीहरूसित मोलेकको पाल अनि तिम्रो देवता रिफमका तारा ल्यायौ। तिनीहरू मुर्तिहरू थिए जो तिमीहरूले पुज्नलाई बनायौ। ती मूर्तिहरू थिए जसलाई आराधनाका निम्ति बनाइएको थियो। यसैकारण म तिमीहरूलाई बेबिलोन देखि निक्कै टाढा पठाउनेछु।’

Video for प्रेरितहरूका काम 7:30-43