YouVersion लोगो
खोज आइकन

प्रेरित 26:1-11

प्रेरित 26:1-11 NCV

त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले: “हे राजा अग्रिपा, म आफूलाई धन्यको ठान्छु, आज म यहाँ यहूदीहरूले लगाएका सम्पूर्ण अभियोगहरूको विरुद्ध मेरो बचाउ पेश गर्न हजुरको सामु उभिएको छु। यसै पनि विशेष गरेर यहूदीहरूका सम्पूर्ण रीतिथितिहरू र विवादहरूको बारेमा तपाईं पूर्ण परिचित हुनुहुन्छ। त्यसकारण मेरा कुराहरू ध्यानपूर्वक सुनिदिनुहुन म तपाईंलाई नम्र निवेदन गर्दछु। “मेरो बाल्यावस्थादेखि आजसम्म मेरो आफ्नै देशमा र यरूशलेममा पनि मैले कसरी जीवन बिताएँ, यी सम्पूर्ण कुराहरू यहूदीहरू जान्दछन्। तिनीहरूले मलाई लामो समयदेखि चिन्दछन् र तिनीहरूले चाहेमा हाम्रो धर्मको अति नै कडा पन्थ फरिसीको जीवन कसरी मैले जिएँ, त्यसको साक्षी तिनीहरूले नै दिन सक्छन्। परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई जे प्रतिज्ञा गर्नुभएको छ, त्यसैमा मेरो आशा भएको कारणले म आज यस मुद्दामा परेको छु। यो नै त्यो प्रतिज्ञा हो, जसलाई हाम्रा बाह्रै कुलहरूले पूर्ण भएको देख्ने आशा गर्दै तिनीहरूले इमानदारीसँग दिनरात परमेश्‍वरको सेवा गरिरहेका छन्। हे राजा अग्रिपा, यसै आशाका कारण आज यहूदीहरू ममाथि आरोपहरू लगाउँदैछन्। मरेकाहरूलाई परमेश्‍वरले जीवित पार्नुहुन्छ भन्‍ने कुरामा किन तपाईंहरू कति पनि विश्‍वास गर्न सक्नुहुन्‍न? “मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नामको विरोध गर्नुपर्छ। अनि मैले ठिक यही नै यरूशलेममा गरेँ। मुख्य पुजारीहरूको अधिकार लिएर धेरै पवित्र जनहरूलाई मैले झ्यालखानामा हालेँ। जब तिनीहरूलाई मारियो, तिनीहरू विरुद्ध मैले पनि सहमति जनाएको थिएँ। तिनीहरूलाई सजाय दिन म धेरै पटक एउटा सभाघरबाट अर्को सभाघर गएँ, र मैले परमेश्‍वरको निन्दा गर्न तिनीहरूलाई बाध्य गराएँ। तिनीहरूलाई सताउन मेरो क्रोध यस्तो थियो कि, सीमा पारिका सहरहरूमा समेत गएर तिनीहरूका खेदो गरेँ।

प्रेरित 26 पढ्नुहोस्

Video for प्रेरित 26:1-11