YouVersion लोगो
खोज आइकन

प्रेरित 26:1-11

प्रेरित 26:1-11 NNRV

अग्रिपासले पावललाई भने, “तिमीलाई आफ्‍नो पक्षमा बोल्‍ने अनुमति छ।” तब आफ्‍नो हात पसारेर पावलले आफ्‍नो बचाउमा बोल्‍न लागे: “हे राजा अग्रिपास, यहूदीहरूले मलाई लगाएका सबै दोषको विषयमा आज हजूरको सामुन्‍ने मैले आफ्‍नो बचाउमा बोल्‍न पाएकोमा म आफूलाई भाग्‍यशाली ठान्‍छु। यहूदीहरूका सबै प्रथा र वाद-विवादका कुरामा हजूर विशेष रूपले परिचित हुनुभएको हुनाले, मेरो बयान धैर्यपूर्वक सुनिदिनुहोस्‌ भनी म बिन्‍ती गर्दछु। “मेरो जातिको बीचमा र यरूशलेममा सुरुदेखि बिताएको मेरो युवावस्‍थादेखिको मेरो जीवन शैली यहूदीहरूलाई थाहा छ। लामो समयदेखि तिनीहरूलाई थाहा भएकै कुरा हो, कि हाम्रो धर्मको सबैभन्‍दा कट्टर पन्‍थी दलअन्‍तर्गत मैले एक फरिसी भएर मेरो जीवन यापन गरेको छु। तिनीहरूले चाहे भने यस कुराको गवाही दिन सक्‍नेछन्‌। परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा मैले आशा राखेको कारणले आज म यस मुद्दामा खड़ा भएको छु। हाम्रा बाह्रै कुलहरूले यो आशा प्राप्‍त गर्नलाई रातदिन एक चित्तले आराधना गर्दछन्, र यही आशाको निम्‍ति, हे राजा, यहूदीहरूले मलाई दोष लगाएका छन्‌। परमेश्‍वरले मृतकहरूलाई जीवित पार्नुहुन्‍छ भन्‍ने कुरा किन तपाईंहरू कसैलाई पत्‍यार नलागेको? “नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्‍ने म आफैलाई पनि विश्‍वास थियो। मैले यरूशलेममा त्‍यसै गरें, र मुख्‍य पूजाहारीहरूबाट अख्‍तियार पाएर धेरै सन्‍तहरूलाई मैले झ्‍यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ। अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्‍बार सजाय दिईकन तिनीहरूलाई विश्‍वास त्‍याग गराउने चेष्‍टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्‍मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ।

Video for प्रेरित 26:1-11