YouVersion लोगो
खोज आइकन

प्रेरित 26:1-11

प्रेरित 26:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अग्रिपासले पावललाई भने, “तिमीलाई आफ्‍नो पक्षमा बोल्‍ने अनुमति छ।” तब आफ्‍नो हात पसारेर पावलले आफ्‍नो बचाउमा बोल्‍न लागे: “हे राजा अग्रिपास, यहूदीहरूले मलाई लगाएका सबै दोषको विषयमा आज हजूरको सामुन्‍ने मैले आफ्‍नो बचाउमा बोल्‍न पाएकोमा म आफूलाई भाग्‍यशाली ठान्‍छु। यहूदीहरूका सबै प्रथा र वाद-विवादका कुरामा हजूर विशेष रूपले परिचित हुनुभएको हुनाले, मेरो बयान धैर्यपूर्वक सुनिदिनुहोस्‌ भनी म बिन्‍ती गर्दछु। “मेरो जातिको बीचमा र यरूशलेममा सुरुदेखि बिताएको मेरो युवावस्‍थादेखिको मेरो जीवन शैली यहूदीहरूलाई थाहा छ। लामो समयदेखि तिनीहरूलाई थाहा भएकै कुरा हो, कि हाम्रो धर्मको सबैभन्‍दा कट्टर पन्‍थी दलअन्‍तर्गत मैले एक फरिसी भएर मेरो जीवन यापन गरेको छु। तिनीहरूले चाहे भने यस कुराको गवाही दिन सक्‍नेछन्‌। परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा मैले आशा राखेको कारणले आज म यस मुद्दामा खड़ा भएको छु। हाम्रा बाह्रै कुलहरूले यो आशा प्राप्‍त गर्नलाई रातदिन एक चित्तले आराधना गर्दछन्, र यही आशाको निम्‍ति, हे राजा, यहूदीहरूले मलाई दोष लगाएका छन्‌। परमेश्‍वरले मृतकहरूलाई जीवित पार्नुहुन्‍छ भन्‍ने कुरा किन तपाईंहरू कसैलाई पत्‍यार नलागेको? “नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्‍ने म आफैलाई पनि विश्‍वास थियो। मैले यरूशलेममा त्‍यसै गरें, र मुख्‍य पूजाहारीहरूबाट अख्‍तियार पाएर धेरै सन्‍तहरूलाई मैले झ्‍यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ। अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्‍बार सजाय दिईकन तिनीहरूलाई विश्‍वास त्‍याग गराउने चेष्‍टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्‍मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ।

शेयर गर्नुहोस्
प्रेरित 26 पढ्नुहोस्

प्रेरित 26:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि अग्रिपाले पावललाई भने, “तिमीलाई आफ्नो बचाउमा बोल्ने अनुमति छ।” तब पावलले हात पसारेर आफ्नो बचाउमा बोले: “हे राजा अग्रिपा, म आफूलाई धन्यको ठान्छु, आज म यहाँ यहूदीहरूले लगाएका सम्पूर्ण अभियोगहरूको विरुद्ध मेरो बचाउ पेश गर्न हजुरको सामु उभिएको छु। यसै पनि विशेष गरेर यहूदीहरूका सम्पूर्ण रीतिथितिहरू र विवादहरूको बारेमा तपाईं पूर्ण परिचित हुनुहुन्छ। त्यसकारण मेरा कुराहरू ध्यानपूर्वक सुनिदिनुहुन म तपाईंलाई नम्र निवेदन गर्दछु। “मेरो बाल्यावस्थादेखि आजसम्म मेरो आफ्नै देशमा र यरूशलेममा पनि मैले कसरी जीवन बिताएँ, यी सम्पूर्ण कुराहरू यहूदीहरू जान्दछन्। तिनीहरूले मलाई लामो समयदेखि चिन्दछन् र तिनीहरूले चाहेमा हाम्रो धर्मको अति नै कडा पन्थ फरिसीको जीवन कसरी मैले जिएँ, त्यसको साक्षी तिनीहरूले नै दिन सक्छन्। परमेश्‍वरले हाम्रा पुर्खाहरूलाई जे प्रतिज्ञा गर्नुभएको छ, त्यसैमा मेरो आशा भएको कारणले म आज यस मुद्दामा परेको छु। यो नै त्यो प्रतिज्ञा हो, जसलाई हाम्रा बाह्रै कुलहरूले पूर्ण भएको देख्ने आशा गर्दै तिनीहरूले इमानदारीसँग दिनरात परमेश्‍वरको सेवा गरिरहेका छन्। हे राजा अग्रिपा, यसै आशाका कारण आज यहूदीहरू ममाथि आरोपहरू लगाउँदैछन्। मरेकाहरूलाई परमेश्‍वरले जीवित पार्नुहुन्छ भन्‍ने कुरामा किन तपाईंहरू कति पनि विश्‍वास गर्न सक्नुहुन्‍न? “मेरो पनि दृढ धारणा थियो कि सम्भव भएसम्म नासरतका येशूको नामको विरोध गर्नुपर्छ। अनि मैले ठिक यही नै यरूशलेममा गरेँ। मुख्य पुजारीहरूको अधिकार लिएर धेरै पवित्र जनहरूलाई मैले झ्यालखानामा हालेँ। जब तिनीहरूलाई मारियो, तिनीहरू विरुद्ध मैले पनि सहमति जनाएको थिएँ। तिनीहरूलाई सजाय दिन म धेरै पटक एउटा सभाघरबाट अर्को सभाघर गएँ, र मैले परमेश्‍वरको निन्दा गर्न तिनीहरूलाई बाध्य गराएँ। तिनीहरूलाई सताउन मेरो क्रोध यस्तो थियो कि, सीमा पारिका सहरहरूमा समेत गएर तिनीहरूका खेदो गरेँ।

शेयर गर्नुहोस्
प्रेरित 26 पढ्नुहोस्

प्रेरित 26:1-11 पवित्र बाइबल (NERV)

अग्रिपाले पावललाई भने, “तिमी आफ्नो सुरक्षाको लागि बोल्न सक्नेछौ।” यसर्थ पावलले आफ्नो हात उठाए अनि यसो भन्दै बोल्न थाले। “राजा अग्रिपा, तपाईंहरू अघि उभिन पाउनु मेरो भाग्य हो, यहूदीहरूले ममाथि थोपरेको दोषहरूको म जम्मै उत्तर दिनेछु। म अत्यन्तै खुशी छु कि म तपाईंहरूको सामुन्ने बोल्न योग्यको छु किनभने तपाईंहरू यहूदी रीतिहरू र प्रश्नहरू जुन विषयमा तिनीहरूले तर्क गर्छन् सो जान्नु हुन्छ। कृपाया धैर्यसाथ मेरो कुरा सुनिदिनु होस्। “सबै यहूदीहरूले मेरो सम्पूर्ण जीवनको विषयमा जान्दछन्। मेरो देशमा अनि यरूशलेममा पनि मेरो जीवन शैलीको विषयमा तिनीहरू जान्दछन्। यी यहूदीहरूले धेरै समयदेखि मलाई चिन्छन्। यदि तिनीहरूले इच्छा गरे मलाई एक असल फरिसी मान्न सक्छन्। अनि फरिसीहरूले यहूदी धर्मको व्यवस्थाहरू अन्य कुनै यहूदी समुदायले भन्दा अझ कट्टर प्रकारले मान्दछन। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको भरोसामा म यस परीक्षामा अहिले खडा छु। यो प्रतिज्ञा प्राप्त गर्ने आशामा हाम्रा बाह्र जातिहरू निमग्न रात-दिन परमेश्वरको आराधना गरिरहेका छन्। हे राजान्, यही आशाको निम्ति म यी यहूदीहरूद्वारा दोषिएको हुँ। तपाईंहरूलाई परमेश्वरले मरेको मानिसहरू बौराउँनु हुन्छ भन्ने कुरा ग्रहण गर्न किन अप्ठेरो परेको? “जब म फरिसी थिएँ, मैले यस्तो पनि सोचे कि नासरतका येशूको नाउँ विरुद्ध धेरै कुराहरू मैले गर्नुपर्छ। अनि यरूशलेममा मैले विश्वासीहरूका विरुद्ध धेरै कामहरू गरें। मुख्य पूजाहारीहरूले ती विश्वासीहरूलाई जेलमा थुन्ने अधिकार दिएका थिए। जब येशूका विश्वासीहरू मारिए मैले यो राम्रो कुरा भयो भनेर सहमत दिएँ। जम्मै सभाघरहरूमा मैले तिनीहरूलाई धेरै पल्ट येशूको विषयमा जबरजस्ती नराम्रो कुरो भनाएर दण्ड दिएँ। म यति क्रोधित थिएँ कि म विदेशका शहरहरूमा पनि तिनीहरूको खेदो लाउनु गएँ।

शेयर गर्नुहोस्
प्रेरित 26 पढ्नुहोस्

प्रेरित 26:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि अग्रिपासले पावललाई भने, “अब तिमीलाई आफ्‍नो पक्षमा बोल्‍ने अनुमति छ।” पावलले पनि हात फैलाएर आफ्‍नो बचाउमा यसरी बोल्‍न थाले– “हे राजा अग्रिपास, यहूदीहरूले मलाई दोष लगाएको कुराको बारेमा मैले आज आफ्‍नो कुरा हजुरकै अगाडि भन्‍न पाएकोमा म आफूलाई भाग्‍यमानी सम्‍झन्‍छु। हजुरलाई यहूदीहरूको चालचलन, रीतिरिवाज र तर्कवितर्क गर्ने कुराको बारेमा राम्ररी थाहा भएको हुनाले म आफूलाई झन् भाग्‍यमानी ठान्‍दछु। त्‍यसो हुँदा अब हजुरसँग बिन्‍ती चढाउँछु, मेरो कुरा धीरज राखेर सुनिदिनुहोला। “म आफ्‍नो देशमा अनि यरूशलेम सहरमा यहूदी जातिको बीचमा नै हुर्किएँ। त्‍यसो हुँदा यहूदीहरूले मलाई बालककालदेखि नै राम्ररी चिन्‍दछन्। पहिले म फरिसी भन्‍ने कट्टर धार्मिक समूहको मानिस थिएँ, त्‍यही कट्टर धर्मको जीवन बिताउँथें। यदि तिनीहरूले चाहे भने यो कुरा आफैंले पनि भन्‍न सक्‍छन्। परमेश्‍वरले हाम्रा पिता-पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञामा नै भरोसा राखेकोले मैले आज यसरी हजुरहरूको सामुन्‍ने उभिनुपरेको छ। हे राजा अग्रिपास, त्‍यही प्रतिज्ञा पाउने आशामा हाम्रा बाह्र कुलहरूले पनि दिनरात एक चित्तले परमेश्‍वरलाई पूजा र भक्ति चढाइरहेका हुन्। मैले पनि त्‍यही आशा राखेकोले यहूदीहरूले मलाई दोष लगाएका हुन्। परमेश्‍वरले मरेकाहरूलाई बिउँताउनुहुन्‍छ भन्‍ने कुरामा तपाईंहरू किन विश्‍वास गर्न सक्‍नुहुन्‍न? “हुन त, मैले पनि सकेसम्‍म नासरतको येशूको विरोध गर्नुपर्छ भन्‍ने सम्‍झेको थिएँ। यरूशलेममा त्‍यस्‍तै विरोध गरें। मैले मुख्‍य पूजाहारीहरूबाट अधिकार पाएर प्रभु येशूमा विश्‍वास गर्ने धेरै पवित्र जनहरूलाई थुनाएँ र उनीहरूलाई मार्ने काममा समेत सहायता गरें। धेरैपल्‍ट मैले उनीहरूलाई ‘अबदेखि नासरतको येशूमा विश्‍वास गर्दिनँ’ भन्‍ने पार्नलाई सभाघरहरूमा जबरदस्‍ती गरेर सजाय दिन लगाएँ। म उनीहरूदेखि रिसले यति साह्रो आगो भएको थिएँ कि अरू देशका सहरहरूमा पनि गएर मैले उनीहरूलाई सताउन थालें।

शेयर गर्नुहोस्
प्रेरित 26 पढ्नुहोस्