YouVersion लोगो
खोज आइकन

प्रेरित 24:1-21

प्रेरित 24:1-21 NCV

पाँच दिनपछि प्रधान पूजाहारी हननिया आफ्ना साथमा केही प्रधानहरू र तर्तुल्‍लस नाउँको एकजना वकील लिएर कैसरिया पुगे; र त्यहाँ राज्यपालका सामु पावलका विरुद्ध तिनीहरूले आफ्नो मुद्दा पेश गरे। जब पावल त्यहाँ बोलाइए, तर्तुल्‍लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौं र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ। हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौं। तर हजुरलाई झर्को नहोस् भनेर बढी समय नलिईकन कृपा गरेर हाम्रो पक्षलाई सुनिदिनुहुन म आग्रह गर्दछु। “यो मानिस एउटा समस्याको जड भएको हामीले पायौं; संसारभरिका यहूदीहरूमा हूलदङ्गा मच्‍चाउने साथै नासरी पन्थको विद्रोहीहरूको यो अगुवा हो, र यसले मन्दिरलाई अपवित्र गर्ने प्रयत्‍न पनि गर्‍यो; त्यसैकारण हामीले यसलाई समातेका हौं। हामी त हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर्न खोजेका हौं। तर सेनापति लुसियस आएर जबरजस्ती त्यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो, र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा गर्नुभयो। हजुर आफैले त्यसलाई जाँचेर हामीले उसको विरुद्ध लगाएका यी सबै आरोपहरूको सत्यता जान्‍न सक्नुहुन्छ।” त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमत भए। त्यसपछि राज्यपालले पावललाई आफ्नो पक्ष प्रस्तुत गर्नु भनेकोले पावलले यसरी जवाफ दिए: “मलाई थाहा छ, धेरै वर्षदेखि हजुर यस राष्ट्रको न्यायाधीश रहनुभएको थाहा पाएर म झन् खुशीसाथ आफ्नो बचाउमा बोल्छु। हजुरले सजिलैसँग जाँच गर्न सक्नुहुन्छ, म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन। यिनीहरूले मलाई मन्दिरमा कसैसँग वाद-विवाद गरिरहेको वा सभाघरहरूमा भीडलाई उक्साइरहेको वा शहरको कुनै भागमा त्यस्तै काम गरिरहेको भेट्टाएका होइनन्। मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईंहरू सामु प्रमाणित गर्न सक्दैनन्। तैपनि तिनीहरूले मार्ग भनेर जसलाई भन्छन्, त्यसको म अनुयायी भएकोले हाम्रा पितापुर्खाहरूको परमेश्‍वरलाई आराधना गर्दछु, भनी म स्वीकार गर्दछु। अगमवक्‍ताका पुस्तकहरूमा लेखिएका सबै कुरा र व्यवस्थासँग मेल खाने हरेक कुरामा म विश्‍वास राख्छु, र यी मानिसहरूको जस्तै मेरो पनि परमेश्‍वरमा त्यही आशा छ, धर्मीहरू र दुष्‍ट दुवै मरेकाहरू पुनर्जीवित हुनेछन्। यसकारण म सधैं परमेश्‍वर र मानिसका सामु मेरो विवेकलाई सफा राख्ने प्रयास गर्दछु। “धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्‍याउन म यरूशलेममा आएको थिएँ। यिनीहरूले मलाई मन्दिरमा फेला पार्दा म विधिपूर्वक शुद्ध हुँदैथिएँ। मेरा सामु त्यहाँ कुनै भीड थिएन, न ता कुनै उत्पात मच्‍चाउन म लागेको थिएँ। तर त्यहाँ एशिया प्रान्तका केही यहूदीहरू थिए, जो यहाँ हजुरको सामुन्‍ने उपस्थित हुनुपर्थ्यो र मेरो विरुद्ध आरोपहरू लगाउनुपर्थ्यो। अथवा जुन बेला म महासभामा उभिएको थिएँ, तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्। यही एउटा कुरा मात्र मैले उहाँहरू सामु उभिएर कराएको थिएँ: ‘मरेकाहरू पुनर्जीवित हुन्छन् भन्‍ने सन्दर्भमा मात्रै आज तपाईंहरूसमक्ष मेरो मुद्दा चलिरहेको छ।’ ”

प्रेरित 24 पढ्नुहोस्

Video for प्रेरित 24:1-21