प्रेरित 24
24
फेलिक्सका सामु मुद्दा
1पाँच दिनपछि प्रधान पूजाहारी हननिया आफ्ना साथमा केही प्रधानहरू र तर्तुल्लस नाउँको एकजना वकील लिएर कैसरिया पुगे; र त्यहाँ राज्यपालका सामु पावलका विरुद्ध तिनीहरूले आफ्नो मुद्दा पेश गरे। 2जब पावल त्यहाँ बोलाइए, तर्तुल्लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौं र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ। 3हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौं। 4तर हजुरलाई झर्को नहोस् भनेर बढी समय नलिईकन कृपा गरेर हाम्रो पक्षलाई सुनिदिनुहुन म आग्रह गर्दछु।
5“यो मानिस एउटा समस्याको जड भएको हामीले पायौं; संसारभरिका यहूदीहरूमा हूलदङ्गा मच्चाउने साथै नासरी पन्थको विद्रोहीहरूको यो अगुवा हो, 6र यसले मन्दिरलाई अपवित्र गर्ने प्रयत्न पनि गर्यो; त्यसैकारण हामीले यसलाई समातेका हौं। हामी त हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर्न खोजेका हौं। 7तर सेनापति लुसियस आएर जबरजस्ती त्यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो,#24:7 प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन 8र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा गर्नुभयो। हजुर आफैले त्यसलाई जाँचेर हामीले उसको विरुद्ध लगाएका यी सबै आरोपहरूको सत्यता जान्न सक्नुहुन्छ।”
9त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमत भए।
10त्यसपछि राज्यपालले पावललाई आफ्नो पक्ष प्रस्तुत गर्नु भनेकोले पावलले यसरी जवाफ दिए: “मलाई थाहा छ, धेरै वर्षदेखि हजुर यस राष्ट्रको न्यायाधीश रहनुभएको थाहा पाएर म झन् खुशीसाथ आफ्नो बचाउमा बोल्छु। 11हजुरले सजिलैसँग जाँच गर्न सक्नुहुन्छ, म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन। 12यिनीहरूले मलाई मन्दिरमा कसैसँग वाद-विवाद गरिरहेको वा सभाघरहरूमा भीडलाई उक्साइरहेको वा शहरको कुनै भागमा त्यस्तै काम गरिरहेको भेट्टाएका होइनन्। 13मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईंहरू सामु प्रमाणित गर्न सक्दैनन्। 14तैपनि तिनीहरूले मार्ग भनेर जसलाई भन्छन्, त्यसको म अनुयायी भएकोले हाम्रा पितापुर्खाहरूको परमेश्वरलाई आराधना गर्दछु, भनी म स्वीकार गर्दछु। अगमवक्ताका पुस्तकहरूमा लेखिएका सबै कुरा र व्यवस्थासँग मेल खाने हरेक कुरामा म विश्वास राख्छु, 15र यी मानिसहरूको जस्तै मेरो पनि परमेश्वरमा त्यही आशा छ, धर्मीहरू र दुष्ट दुवै मरेकाहरू पुनर्जीवित हुनेछन्। 16यसकारण म सधैं परमेश्वर र मानिसका सामु मेरो विवेकलाई सफा राख्ने प्रयास गर्दछु।
17“धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्याउन म यरूशलेममा आएको थिएँ। 18यिनीहरूले मलाई मन्दिरमा फेला पार्दा म विधिपूर्वक शुद्ध हुँदैथिएँ। मेरा सामु त्यहाँ कुनै भीड थिएन, न ता कुनै उत्पात मच्चाउन म लागेको थिएँ। 19तर त्यहाँ एशिया प्रान्तका केही यहूदीहरू थिए, जो यहाँ हजुरको सामुन्ने उपस्थित हुनुपर्थ्यो र मेरो विरुद्ध आरोपहरू लगाउनुपर्थ्यो। 20अथवा जुन बेला म महासभामा उभिएको थिएँ, तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्। 21यही एउटा कुरा मात्र मैले उहाँहरू सामु उभिएर कराएको थिएँ: ‘मरेकाहरू पुनर्जीवित हुन्छन् भन्ने सन्दर्भमा मात्रै आज तपाईंहरूसमक्ष मेरो मुद्दा चलिरहेको छ।’ ”
22त्यसपछि फेलिक्सले, जो यस मार्गको राम्रो ज्ञान र परिचित भएका हुनाले, मुद्दाको बहसलाई यसै टारिदिए। अनि तिनले भने, “सेनापति लुसियस आएपछि मात्र म तिम्रो मुद्दाको बारेमा मेरो निर्णय दिनेछु।” 23त्यसपछि उनले एउटा कप्तानलाई पावललाई पाले पहरासहित राख्नू, तर उनलाई केही स्वतन्त्रता दिनू र उनका आवश्यकताहरू पूरा गर्न उनका मित्रहरूलाई अनुमति दिनू भनी आदेश दिए।
24केही दिनपछि फेलिक्स आफ्नी पत्नी द्रूसिल्लालाई साथमा लिएर त्यहाँ आए, जो यहूदी थिइन्। तिनले पावललाई बोलाए, र ख्रीष्ट येशूमा भएको विश्वासका बारेमा उनले बोलेका कुराहरू ध्यानसित सुने। 25जब पावलले धार्मिकता, आत्मनियन्त्रण र आउने दिनहरूको न्यायको बारेमा वर्णन गरे, तब फेलिक्स भयभीत भएर भने, “अहिलेलाई यति नै वर्णन काफी छ! अब तिमी गए हुन्छ। जब मलाई फुर्सद हुनेछ, म तिमीलाई फेरि बोलाउनेछु।” 26साथसाथै पावलले तिनलाई केही घूस देलान् भन्ने तिनको आशा थियो, त्यसैले तिनले उनलाई घरी-घरी बोलाउँथे र तिनीसँगै कुराकानी गर्थे।
27जब दुई वर्ष बित्यो, फेलिक्सको पदमा पोर्सियस फेस्तस आए। यहूदीहरूलाई कृपा देखाउन चाहेकाले फेलिक्सले पावललाई झ्यालखानामै छोडे।
अहिले सेलेक्ट गरिएको:
प्रेरित 24: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.