YouVersion लोगो
खोज आइकन

प्रेरित 24:1-21

प्रेरित 24:1-21 NNRV

पाँच दिनपछि प्रधान पूजाहारी हननिया र कतिपय धर्म-गुरुहरू, तर्तुल्‍लस नाउँका एक जना वकीलसँग त्‍यहाँ आए, र तिनीहरूले पावलको विरुद्ध हाकिमको अगि मुद्दा पेश गरे। पावल त्‍यहाँ झिकाइएपछि तर्तुल्‍लसले तिनलाई यसो भन्‍दै अभियोग लाउन थाले, “अति माननीय फेलिक्‍स, हजूरबाट हामीले ठूलो शान्‍ति भोग गर्दैछौं, र हजूरले यस जातिको निम्‍ति सुधारहरू सुरु गर्नुभएको छ। यो कुरा हरप्रकारले सबै ठाउँमा हामी कृतज्ञतासाथ स्‍वीकार गर्छौं। तर हजूरको बढ़ी समय नलिएर हाम्रो बिन्‍ती छोटकरीमा दया गरी सुनिदिनुहोस्‌। “किनकि हामीले यस मानिसलाई जताततै दुःख दिइहिँड्‌ने, संसारभरिका सारा यहूदीहरूका बीचमा आन्‍दोलन मच्‍चाउने, र नासरी पन्‍थका मुख्‍य अगुवाको रूपमा भेट्टाएका छौं। यसले मन्‍दिर अपवित्र पार्ने पनि कोसिस गरेको थियो, तर यसलाई हामीले पक्र्यौं। हाम्रो व्‍यवस्‍थाअनुसार कारवाही गर्ने पनि थियौं, तर सेनापति लुसियसले हामीकहाँ आएर बड़ो जबरदस्‍तसाथ त्‍यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो, र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजूरकहाँ आउने आज्ञा गर्नुभयो। अब हजूर स्‍वयम्‌ले यसको जाँच गर्नुभएमा हामीले यसलाई लाएको अभियोगका यी सबै कुरा ऊबाट थाहा पाउन सक्‍नुहुन्‍छ।” ती यहूदीहरूले पनि ती कुराहरू सबै ठीक हुन्‌ भनी समर्थन गरे। हाकिमले तिनलाई बोल्‍ने इशारा गरेपछि पावलले जवाफ दिए, “धेरै वर्षदेखि हजूर यहूदी जातिका न्‍यायाधीश हुनुभएको कुरा थाहा भएकोले म आफ्‍नो पक्षमा सहर्ष बोल्‍दछु। हजूरले पत्ता लाउन सक्‍नुहुन्‍छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्‍दा बढ़ी भएको छैन। यिनीहरूले न त मलाई कुनै मानिससँग बहस गरिरहेको भेट्टाए, न मन्‍दिरमा वा सभाघरमा अथवा सहरमा जनतालाई उत्तेजित पारेको भेट्टाए, न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्‍छन्‌। तर यो म हजूरकै सामने स्‍वीकार गर्दछु, कि जुन मार्गलाई तिनीहरू एउटा पन्‍थ भन्‍दछन्, त्‍यहीबमोजिम व्‍यवस्‍थामा भएका कुरा र अगमवक्ताका पुस्‍तकमा लेखिएका सबै कुरा विश्‍वास गरी मेरा पुर्खाहरूका परमेश्‍वरको आराधना म गर्दछु। धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्‍थान हुन्‍छ भन्‍ने यिनीहरू आफैले स्‍वीकार गरेजस्‍तै म परमेश्‍वरमा आशा राख्‍दछु। यसैले परमेश्‍वरप्रति र मानिसहरूप्रति म सधैँ शुद्ध विवेक राख्‍ने प्रयत्‍न गर्दछु। “अब केही वर्षपछि आफ्‍नो जातिको निम्‍ति दान र भेटी दिन म आएको थिएँ। यिनीहरूले मलाई मन्‍दिरमा भेट्टाउँदा शुद्ध हुने विधि मैले पूरा गरिसकेको थिएँ। त्‍यहाँ कुनै भीड थिएन, होहल्‍ला पनि थिएन। तर त्‍यहाँ एशियाका कुनै यहूदीहरू थिए, तिनीहरू यहाँ हजूरको सामुन्‍ने हाजिर हुनुपर्नेथियो। मेरो विरुद्धमा यदि केही भन्‍ने कुरा भएदेखि तिनीहरूले अभियोग लाउन सक्‍थे। अथवा यी मानिसहरूले आफै यहाँ भनून्‌— म महासभाको सामुन्‍नेमा खड़ा हुँदा ममा के कसूर भेट्टाएका थिए? केवल यही एक कुरा मात्र हो, जो मैले तिनीहरूका बीचमा उभी कराएर भनेको थिएँ, ‘मरेकाहरूका पुनरुत्‍थानको विषयमा आज तपाईंहरूका सामुन्‍ने मेरो मुद्दा चलिरहेको छ’।”

Video for प्रेरित 24:1-21