YouVersion लोगो
खोज आइकन

प्रेरित 24:1-21

प्रेरित 24:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

पाँच दिनपछि प्रधान पूजाहारी हननिया र कतिपय धर्म-गुरुहरू, तर्तुल्‍लस नाउँका एक जना वकीलसँग त्‍यहाँ आए, र तिनीहरूले पावलको विरुद्ध हाकिमको अगि मुद्दा पेश गरे। पावल त्‍यहाँ झिकाइएपछि तर्तुल्‍लसले तिनलाई यसो भन्‍दै अभियोग लाउन थाले, “अति माननीय फेलिक्‍स, हजूरबाट हामीले ठूलो शान्‍ति भोग गर्दैछौं, र हजूरले यस जातिको निम्‍ति सुधारहरू सुरु गर्नुभएको छ। यो कुरा हरप्रकारले सबै ठाउँमा हामी कृतज्ञतासाथ स्‍वीकार गर्छौं। तर हजूरको बढ़ी समय नलिएर हाम्रो बिन्‍ती छोटकरीमा दया गरी सुनिदिनुहोस्‌। “किनकि हामीले यस मानिसलाई जताततै दुःख दिइहिँड्‌ने, संसारभरिका सारा यहूदीहरूका बीचमा आन्‍दोलन मच्‍चाउने, र नासरी पन्‍थका मुख्‍य अगुवाको रूपमा भेट्टाएका छौं। यसले मन्‍दिर अपवित्र पार्ने पनि कोसिस गरेको थियो, तर यसलाई हामीले पक्र्यौं। हाम्रो व्‍यवस्‍थाअनुसार कारवाही गर्ने पनि थियौं, तर सेनापति लुसियसले हामीकहाँ आएर बड़ो जबरदस्‍तसाथ त्‍यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो, र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजूरकहाँ आउने आज्ञा गर्नुभयो। अब हजूर स्‍वयम्‌ले यसको जाँच गर्नुभएमा हामीले यसलाई लाएको अभियोगका यी सबै कुरा ऊबाट थाहा पाउन सक्‍नुहुन्‍छ।” ती यहूदीहरूले पनि ती कुराहरू सबै ठीक हुन्‌ भनी समर्थन गरे। हाकिमले तिनलाई बोल्‍ने इशारा गरेपछि पावलले जवाफ दिए, “धेरै वर्षदेखि हजूर यहूदी जातिका न्‍यायाधीश हुनुभएको कुरा थाहा भएकोले म आफ्‍नो पक्षमा सहर्ष बोल्‍दछु। हजूरले पत्ता लाउन सक्‍नुहुन्‍छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्‍दा बढ़ी भएको छैन। यिनीहरूले न त मलाई कुनै मानिससँग बहस गरिरहेको भेट्टाए, न मन्‍दिरमा वा सभाघरमा अथवा सहरमा जनतालाई उत्तेजित पारेको भेट्टाए, न त मलाई अहिले दोष लाइरहेका कुराहरूको यिनीहरूले प्रमाण दिन सक्‍छन्‌। तर यो म हजूरकै सामने स्‍वीकार गर्दछु, कि जुन मार्गलाई तिनीहरू एउटा पन्‍थ भन्‍दछन्, त्‍यहीबमोजिम व्‍यवस्‍थामा भएका कुरा र अगमवक्ताका पुस्‍तकमा लेखिएका सबै कुरा विश्‍वास गरी मेरा पुर्खाहरूका परमेश्‍वरको आराधना म गर्दछु। धर्मी र अधर्मीहरू दुवैको मृतकबाट पुनरुत्‍थान हुन्‍छ भन्‍ने यिनीहरू आफैले स्‍वीकार गरेजस्‍तै म परमेश्‍वरमा आशा राख्‍दछु। यसैले परमेश्‍वरप्रति र मानिसहरूप्रति म सधैँ शुद्ध विवेक राख्‍ने प्रयत्‍न गर्दछु। “अब केही वर्षपछि आफ्‍नो जातिको निम्‍ति दान र भेटी दिन म आएको थिएँ। यिनीहरूले मलाई मन्‍दिरमा भेट्टाउँदा शुद्ध हुने विधि मैले पूरा गरिसकेको थिएँ। त्‍यहाँ कुनै भीड थिएन, होहल्‍ला पनि थिएन। तर त्‍यहाँ एशियाका कुनै यहूदीहरू थिए, तिनीहरू यहाँ हजूरको सामुन्‍ने हाजिर हुनुपर्नेथियो। मेरो विरुद्धमा यदि केही भन्‍ने कुरा भएदेखि तिनीहरूले अभियोग लाउन सक्‍थे। अथवा यी मानिसहरूले आफै यहाँ भनून्‌— म महासभाको सामुन्‍नेमा खड़ा हुँदा ममा के कसूर भेट्टाएका थिए? केवल यही एक कुरा मात्र हो, जो मैले तिनीहरूका बीचमा उभी कराएर भनेको थिएँ, ‘मरेकाहरूका पुनरुत्‍थानको विषयमा आज तपाईंहरूका सामुन्‍ने मेरो मुद्दा चलिरहेको छ’।”

शेयर गर्नुहोस्
प्रेरित 24 पढ्नुहोस्

प्रेरित 24:1-21 नेपाली समकालीन संस्करण (NCV)

पाँच दिनपछि प्रधान पूजाहारी हननिया आफ्ना साथमा केही प्रधानहरू र तर्तुल्‍लस नाउँको एकजना वकील लिएर कैसरिया पुगे; र त्यहाँ राज्यपालका सामु पावलका विरुद्ध तिनीहरूले आफ्नो मुद्दा पेश गरे। जब पावल त्यहाँ बोलाइए, तर्तुल्‍लसले आफ्नो पक्ष फेलिक्सको सामु यसरी प्रस्तुत गरे: “हजुरको अधीनमा हामीले लामो समयदेखि शान्ति अनुभव गरिरहेका छौं र हजुरको दूरदर्शिताले यस राष्ट्रमा धेरै सुधार भएको छ। हे सम्माननीय फेलिक्स, हामी सबै ठाउँमा हरेक कुराको निम्ति हजुरप्रति अत्यन्तै कृतज्ञ छौं। तर हजुरलाई झर्को नहोस् भनेर बढी समय नलिईकन कृपा गरेर हाम्रो पक्षलाई सुनिदिनुहुन म आग्रह गर्दछु। “यो मानिस एउटा समस्याको जड भएको हामीले पायौं; संसारभरिका यहूदीहरूमा हूलदङ्गा मच्‍चाउने साथै नासरी पन्थको विद्रोहीहरूको यो अगुवा हो, र यसले मन्दिरलाई अपवित्र गर्ने प्रयत्‍न पनि गर्‍यो; त्यसैकारण हामीले यसलाई समातेका हौं। हामी त हाम्रो आफ्नै व्यवस्थाअनुसार यसको न्याय गर्न खोजेका हौं। तर सेनापति लुसियस आएर जबरजस्ती त्यसलाई हाम्रा हातबाट खोसेर लैजानुभयो, र यसको विरुद्धमा अभियोग लाउनेहरूलाई हजुरकहाँ आउने आज्ञा गर्नुभयो। हजुर आफैले त्यसलाई जाँचेर हामीले उसको विरुद्ध लगाएका यी सबै आरोपहरूको सत्यता जान्‍न सक्नुहुन्छ।” त्यहाँ उपस्थित अन्य यहूदीहरूले ती अभियोगहरू सत्य हुन् भन्दै सहमत भए। त्यसपछि राज्यपालले पावललाई आफ्नो पक्ष प्रस्तुत गर्नु भनेकोले पावलले यसरी जवाफ दिए: “मलाई थाहा छ, धेरै वर्षदेखि हजुर यस राष्ट्रको न्यायाधीश रहनुभएको थाहा पाएर म झन् खुशीसाथ आफ्नो बचाउमा बोल्छु। हजुरले सजिलैसँग जाँच गर्न सक्नुहुन्छ, म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन। यिनीहरूले मलाई मन्दिरमा कसैसँग वाद-विवाद गरिरहेको वा सभाघरहरूमा भीडलाई उक्साइरहेको वा शहरको कुनै भागमा त्यस्तै काम गरिरहेको भेट्टाएका होइनन्। मेरा विरुद्धमा अहिले तिनीहरूले लगाएका आरोपहरू पनि तपाईंहरू सामु प्रमाणित गर्न सक्दैनन्। तैपनि तिनीहरूले मार्ग भनेर जसलाई भन्छन्, त्यसको म अनुयायी भएकोले हाम्रा पितापुर्खाहरूको परमेश्‍वरलाई आराधना गर्दछु, भनी म स्वीकार गर्दछु। अगमवक्‍ताका पुस्तकहरूमा लेखिएका सबै कुरा र व्यवस्थासँग मेल खाने हरेक कुरामा म विश्‍वास राख्छु, र यी मानिसहरूको जस्तै मेरो पनि परमेश्‍वरमा त्यही आशा छ, धर्मीहरू र दुष्‍ट दुवै मरेकाहरू पुनर्जीवित हुनेछन्। यसकारण म सधैं परमेश्‍वर र मानिसका सामु मेरो विवेकलाई सफा राख्ने प्रयास गर्दछु। “धेरै वर्षको अन्तरालपछि आफ्ना मानिसबाट गरिबहरूका निम्ति दानहरू र भेटीहरू पुर्‍याउन म यरूशलेममा आएको थिएँ। यिनीहरूले मलाई मन्दिरमा फेला पार्दा म विधिपूर्वक शुद्ध हुँदैथिएँ। मेरा सामु त्यहाँ कुनै भीड थिएन, न ता कुनै उत्पात मच्‍चाउन म लागेको थिएँ। तर त्यहाँ एशिया प्रान्तका केही यहूदीहरू थिए, जो यहाँ हजुरको सामुन्‍ने उपस्थित हुनुपर्थ्यो र मेरो विरुद्ध आरोपहरू लगाउनुपर्थ्यो। अथवा जुन बेला म महासभामा उभिएको थिएँ, तिनीहरूले ममा कुनै अपराध फेला पारेका छन् भने त्यो कुरा अहिले यहाँ भेला हुनुभएका मानिसहरूले भनून्। यही एउटा कुरा मात्र मैले उहाँहरू सामु उभिएर कराएको थिएँ: ‘मरेकाहरू पुनर्जीवित हुन्छन् भन्‍ने सन्दर्भमा मात्रै आज तपाईंहरूसमक्ष मेरो मुद्दा चलिरहेको छ।’ ”

शेयर गर्नुहोस्
प्रेरित 24 पढ्नुहोस्

प्रेरित 24:1-21 पवित्र बाइबल (NERV)

पाँचदिन पछि हनानिया सिजरिया गए। उनी प्रधान पूजाहारी थिए। उनले कतिपय बुढा यहूदी अगुवाहरू र तर्तुल्लस नाउँका वकीललाई आफ्नो साथमा ल्याए। तिनीहरू राज्यपालकको सामु पावलको विरुद्ध मुद्दा उठाउन सिजरिया गए। पावललाई सभामा डाकियो अनि तर्तुल्लसले उनको विरुद्ध यसो भन्दै मुद्दा पेश गर्न थाले, “महामहिम फेलिक्स, तपाईंले गर्दा नै हाम्रा मानिसहरूले शान्ति उपभोग गरिरहेका छन् अनि तपाईंकै दूर-दर्शिताले हाम्रो देशमा हुन पर्ने सुधारहरू भए। हामी ती कुराहरूका लागि तपाईंलाई प्रत्येक ठाउँमा र हरेक तरिकाले धन्यवाद प्रकट गर्छौ। तर म तपाईंको धेरै समय नष्ट गर्न चाहँदिन। यसर्थ म केही शब्दमा तपाई अघि मुद्दा पेश गर्नेछु। दया गरी, धैर्य धारण गरिदिनु होला। यो मानिस एक समस्या ल्याउने मानिस हो र यसले जताततै संसारभरि यहूदीहरू माझ दङ्गा मचाँउछ। यो नासरीदलका नेता हो। यसले मन्दिर अपवित्र बनाउन खोजिरहेको थियो तर हामीले यसलाई रोक्यौ। जब तपाईंले यस मानिसलाई जाँच गर्नु हुनेछ हामीले उमाथि लाएको सबै दोषहरू सत्य हुन भन् आफैं बुझ्नु हुनेछ।” अन्य यहूदीहरू सहमत भए अनि भने, “यी कूराहरू साँचि नै सत्य हुन्।” राज्यपालकले पावललाई बोल्ने संकेत गर्नुभयो। यसकारण पावलले राज्यपाललाई जवाफ दिए, “राज्यपाल फेलिक्स, म जान्दछु कि तपाईं धेरै समयदेखि यस राष्ट्रको न्यायकर्ता हुनुहुन्छ। यसर्थ म आफ्नो बचाउ पक्ष पेश गर्न पाउँदा खुशी छु। म यरूशलेममा आराधाना गर्नलाई बाह्र दिन अघि मात्र गएँ। तपाईं आफैं यो सत्य हो भनेर जाँच्न सक्नु हुन्छ। यी यहूदीहरू जसले मलाई दोष लगाए उनीहरूले मलाई मन्दिरमा कसैसँग बोलेको भेटेनन्। मैले कतै सभाघर मन्दिरमा अथवा यो शहरको अन्यत्र कतै समस्या खडा गर्न भीड जम्मा गरेको छैन। ती यहूदीहरूले मेरो विरुद्धमा अहिले जे दोषारोपण गरे त्यसको प्रमाण दिन सक्तैनन्। “तर म तपाईंलाई भन्दैछुः म हाम्रा पिता पुर्खाहरूका परमेश्वरलाई येशूका चेलाले जस्तै आराधना गर्दछु। यहूदीहरू भन्छन् येशूको मार्ग गल्ती हो। तर मोशाको व्यवस्थाहरूमा बताएको प्रत्येक कुरो अनि अगमवक्ताहरूले किताबमा लेखेकाहरू म विश्वास गर्छु। म परमेश्वरमा त्यही आशा गर्छु जो यी यहूदीहरू गर्छन् कि धर्मी अनि अधर्मी मृत्युबाट बौरी उठ्नेछ। यही कारणले म सधैँ परमेश्वर अनि मानिसहरूको अघि त्यही गर्ने प्रयास गर्छु जुन मेरो विश्वासमा सही हुन्छ। “म धेरै वर्षदेखि यरूशलेमबाट टाढा रहेको थिएँ। म त्यहाँ मेरा मानिसहरूका निम्ति केही दानको उपहारहरू लिएर बलि चढाउनु फर्केको थिएँ। जति बेला तिनीहरूले मलाई मन्दिरमा भेटे मैले शुद्धिकरण विधि सिद्धाएको थिएँ। मैले मेरो वरिपरि कुनै भीड जम्मा गरेको थिइन् न त त्यहाँ मैले कुनै प्रकारको अशान्ति नै सृष्टि गरेको थिएँ। तर कतिपय एशियाबाट आएका यहूदीहरू त्यहाँ थिए। यदि तिनीहरूसँग साँच्चै मेरो विरोधमा केही गवाही भए त्यो प्रमाण गर्न तिनीहरू यहीं हुन पर्ने अथवा यहूदीहरूलाई जो यहाँ छन् सोध्नु होस् यदि तिनीहरूले मेरो विरुद्ध केही गल्तीहरू पाएका छन् कि जति वेला म यरूशलेममा यहूदीहरूको एक महासभामा थिएँ। मैले खाली तिनीहरूको समक्ष एउटै कुरोको घोषणा गरेको थिएँ ‘आज मेरो न्याय गरिदैछ किनभने मानिहरू मृत्युबाट जाग्नेछन् भनेर म विश्वास गर्दछु।’”

शेयर गर्नुहोस्
प्रेरित 24 पढ्नुहोस्

प्रेरित 24:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

पाँच दिनपछि प्रधान पूजाहारी हननिया र केही धर्म-गुरुहरूसमेत तर्तुल्‍लस भन्‍ने वकिल लिएर कैसरियामा आइपुगे। तिनीहरू सबैले बडा-हाकिमकहाँ पावलको विरोधमा उजुर गरे। पावललाई बडा-हाकिमका अगाडि ल्‍याएपछि तर्तुल्‍लसले उनको विरोधमा यसरी वकालत गर्दै भने– “माननीय फेलिक्‍स, हजुर बुद्धिमान् बडा-हाकिम हुनुहुन्‍छ र हामीमा सधैँ सुख-शान्‍ति छ। हाम्रो देशको भलाइको लागि हुनुपर्ने सुधार पनि श्रीमान्‌को अनुग्रहले गर्दा भइ नै रहेको छ। यस कुरालाई हामी सधैँ मान्‍दछौं र हजुरको ऋणी पनि छौं। म हजुरको धेरै समय लिन चाहन्‍नँ, तैपनि एउटा बिन्‍ती छोटकरीमा चढाउँछु। हामीले चिनेको यो मानिस डरलाग्‍दो हुलदङ्गा गर्ने खालको छ। यो मानिसले नासरी भन्‍ने दलको नेता भएर संसारभरिका यहूदीहरूको बीचमा उत्‍पात मच्‍चाउँदै हिँडिरहेछ। यसले मन्‍दिर पनि अपवित्र गर्न खोज्‍दै थियो। त्‍यति नै बेला हामीले यसलाई पक्रियौं। [हामीले हाम्रो आफ्‍नै व्यवस्थाअनुसार यसको दोष देखाउने विचार गरेका थियौं। तर सेनापति लुसियस आएर जबरजस्‍ती यसलाई हामीबाट खोसेर लैजानुभयो र हामीलाई हजुरकहाँ उजुर गर्नू भन्‍ने आज्ञा दिनुभयो।] यदि हजुर आफैंले यसलाई सोध्‍नुभयो भने हामीले उजुर गरेका कुरा यसैबाट सबै थाहा पाउनुहुनेछ।” अरू यहूदीहरूले पनि यो कुरा साँचो हो भनी गवाही दिए। बडा-हाकिमले पावललाई बोल्‍ने आज्ञा दिएपछि पावलले यसरी भने, “मलाई थाहा छ, हजुर धेरै वर्षदेखि यस देशको बडाहाकिम र न्‍यायाधीश हुनुभएको छ। त्‍यसो हुँदा हजुरको अगाडि मलाई आफ्‍नो बयान दिनलाई उत्‍साह बढेको छ। म यरूशलेममा परमेश्‍वरको आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन। यो कुरालाई हजुरले सजिलैसँग पत्ता लगाउन सक्‍नुहुन्‍छ। मैले कसैसँग मन्‍दिरमा झगडा गरिरहेको कुनै यहूदीले पनि देखेको छु भन्‍ने दाबी गर्न सक्‍दैन, नता तिनीहरूले मलाई हाम्रा सभाघरहरूमा वा सहरमा कतै मानिसहरूलाई उत्‍पात मच्‍चाउन सुर्‍याएको देखेका नै छन्। अरू कुरा त परै जाओस्, तिनीहरूले मलाई लगाएको दोषको प्रमाण पनि तिनीहरूसँग छैन। तर यो कुराचाहिँ म भन्‍छु, जुन मुक्ति पाइने बाटोलाई तिनीहरूले झूटो भन्‍छन्, त्‍यही बाटोलाई पछ्याएर म हाम्रा पुर्खाका परमेश्‍वरलाई पुज्‍छु र भक्ति चढाउँछु। तैपनि अगमवक्ताहरूले लेखेको धर्मशास्‍त्र र मोशाले दिएका सबै व्यवस्थामा म विश्‍वास गर्दछु। मैले तिनीहरूले जस्‍तै असल र खराब गर्ने हरेक मानिस मरेपछि फेरि बिउँतनेछन् भन्‍ने आशा राखेको छु। यसैकारण मानिस र परमेश्‍वर दुवैको अगाडि म आफ्‍नो विवेकलाई सफा राख्‍न चाहन्‍छु। “धरै वर्ष बितेपछि म आफ्‍ना यहूदी दाजुभाइहरूलाई दानहरू बुझाउन र परमेश्‍वरलाई भेटी चढाउन यरूशलेम आएको थिएँ। यो काम गर्दागर्दै तिनीहरूले मलाई मन्‍दिरमा भेट्टाए। त्‍यतिखेर मैले शुद्ध हुने विधिलाई पूरा गरिसकेको थिएँ। कुनै किसिमको हुल मसँग लागेको पनि थिएन नता कुनै नराम्रो हुलदङ्गा नै भएको थियो। तर एशिया इलाकाबाट आएका कति जना यहूदीहरूले मलाई मन्‍दिरमा देखे। यदि तिनीहरूको मेरो विरुद्धमा केही कुरा छ भने तिनीहरूले नै हजुरकहाँ आएर उजुर गर्नुपर्थ्‍यो। कि त यहूदीहरूको महासभामा मेरो के दोष फेला पारेका छन्, यहाँ हुनेहरूले बताऊन्। खालि एउटै कुरामा मात्र तिनीहरूले मलाई दोष लगाउन सक्‍लान्। त्‍यो के हो भने, ‘मरेका मानिस फेरि बिउँतनेछन् भन्‍ने कुरामा मैले विश्‍वास गरेकोले यहाँ मेरो मुद्दा चलिरहेछ’ भनेर मैले ठूलो सोरमा कराएको थिएँ।”

शेयर गर्नुहोस्
प्रेरित 24 पढ्नुहोस्