तब पावलले महासभातिर टिठ लगाएर हेर्दै भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, आजका दिनसम्म मैले असल विवेकमा परमेश्वरप्रति मेरो कर्तव्य पूरा गरेको छु।” यो कुरा सुन्नसाथ प्रधान पुजारी हननियाले पावलका नजिकै उभिएका मानिसलाई उनको मुखमा हिर्काउने आदेश दिए। अनि पावलले भने, “हे चून पोतिएको भित्ता, परमेश्वरले तपाईंलाई प्रहार गर्नुहुनेछ! व्यवस्थाअनुसार मेरो न्याय गर्न तपाईं त्यहाँ बस्नुभएको छ, तर पनि मलाई हिर्काउने आदेश दिएर तपाईं स्वयम् त्यस कानुनको उल्लङ्घन गर्दै हुनुहुन्छ।” यो सुनेर पावलका नजिकै उभिनेहरूले उनलाई भने, “तैँले कसरी परमेश्वरका प्रधान पुजारीलाई बेइज्जत गर्ने आँट गरिस्?” पावलले तिनीहरूलाई जवाफ दिए, “दाजुभाइ-दिदीबहिनीहरू हो, उहाँ प्रधान पुजारी हुनुहुन्छ भन्ने मैले थाहा पाउन सकिनँ; किनकि यस्तो लेखिएको छ: ‘आफ्ना मानिसहरूका शासकलाई नसराप्नू।’ ” जब पावलले महासभामा कोही सदुकी दलका र कोही फरिसी दलका रहेछन् भनेर थाहा पाए, तब उनले उच्च सोरमा भने, “मेरा दाजुभाइ-दिदीबहिनीहरू हो, म फरिसीहरूको छोरा एउटा फरिसी हुँ। मरेकाहरू पुनरुत्थान हुनेछन् भन्ने कुरामा मेरो आशा रहेकोले, म दोषीको रूपमा यहाँ उभिएको छु।” जब उनले यो कुरा भने, त्यहाँ भएका सदुकीहरू र फरिसीहरूका बीच मतभेद उत्पन्न भयो र महासभामा फाटो आयो। सदुकीहरू भन्छन् कि मरेकाहरू पुनरुत्थान हुनेछैनन् र स्वर्गदूतहरू, आत्माहरू पनि छैनन्, तर फरिसीहरू यी सबै कुराको अस्तित्व स्वीकार गर्दछन्। त्यहाँ ठूलो खैलाबैला मच्चियो र फरिसी दलका केही व्यवस्थाका शिक्षकहरू उठेर घमासान तर्क गर्न थाले। तिनीहरूले भने, “यस मानिसमा कुनै किसिमको गल्ती हामी भेट्टाउँदैनौँ। कतै एउटा आत्मा वा स्वर्गदूत पो यस मानिससँग बोलेको हो कि?” तिनीहरू बीचको झगडा यति हिंसात्मक हुन थाल्यो कि तिनीहरूले पावललाई लुछलाछ पार्लान् कि भन्ने सेनापतिलाई डर भयो। त्यसकारण तिनले आफ्ना सैनिकहरूलाई “तल गई पावललाई तिनीहरूका बीचबाट निकालेर ब्यारेकभित्र लैजाऔ” भन्ने आदेश दिए।
प्रेरित 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 23:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू