YouVersion लोगो
खोज आइकन

प्रेरित 23:1-10

प्रेरित 23:1-10 सरल नेपाली

पावलले सभाको चारैतिर हेरेर भने, “दाजुभाइहरू हो, आजसम्‍म मेरो जीवनको यात्रामा मैले मेरो विवेकलाई परमेश्‍वरको अघि शुद्ध राखेको छु।” पावलले यो कुरा भनेको सुनेर प्रधान पूजाहारी हननियाले नजिकै उभिएका मानिसहरूलाई पावलको मुखमा हिर्काउने आज्ञा दिए। तर पावलले हननियालाई भने, “हे सेतो कमेरो लाएको भित्तो! तिमीलाई पनि परमेश्‍वरले हिर्काउनुहुनेछ। तिमी व्यवस्थाअनुसार मेरो न्‍याय गर्न बसेका छौ र पनि व्यवस्था मिचेर मलाई कुट्‍ने आज्ञा किन दिन्‍छौ?” पावलका नजिकै हुनेहरूले भने, “के तिमी परमेश्‍वरले ठहराउनुभएका प्रधान पूजाहारीलाई पनि गाली दिन्‍छौ?” पावलले भने, “दाजुभाइहरू हो, उहाँ नै प्रधान पूजाहारी हुनुहुन्‍छ भन्‍ने कुरा मलाई थाहा थिएन। आफ्‍ना मानिसहरूमाथि अधिकार गर्ने प्रधानको विरोधमा नराम्रो कुरा बोल्‍नुहुँदैन भन्‍ने धर्मशास्‍त्रमा लेखिएको त्‍यो कुरा म जान्‍दछु।” महासभामा सदुकी र फरिसी समूहका मानिसहरू बसेका छन् भन्‍ने कुरा जानेर पावलले ठूलो सोरमा भने, “दाजुभाइहरू हो, म फरिसीको छोरा फरिसी नै हुँ। मरेको मानिस फेरि बिउँतनेछन् भन्‍ने आशा राखेकाले यहाँ मेरो मुद्दा चलिरहेछ।” पावलले भनेको यस कुराले गर्दा सदुकी र फरिसीहरूमा मतभेद भयो र सभामा फाटो हुन गयो किनभने सदुकीहरूले मानिस मरेपछि फेरि बिउँतनेछन् भन्‍ने कुरामा विश्‍वास गर्दैनथे अनि स्‍वर्गदूत र आत्‍मा छँदैछैनन् भन्‍दथे। तर फरिसीहरूले चाहिँ यी तीन कुरामा विश्‍वास गर्दथे। त्‍यसैले गर्दा महासभामा ठूलो होहल्‍ला मच्‍चियो। फरिसी समूहका केही धर्म-गुरुहरूले उभिएर सदुकीहरूको घोर विरोध गर्दै भने, “हामी त यो मानिसको कुनै दोष नै देख्‍तैनौं। यी मानिससँग कुनै आत्‍मा वा स्‍वर्गदूतले बोलेका नै हुन् भने के भयो त!” तिनीहरूको झगडा निक्‍कै चर्केर गयो। झगडामा पावललाई लुछलाछ पारेर मार्लान् भन्‍ने डरले सेनापतिले ‘पावललाई सभाबाट निकालेर किल्‍लामा लैजाओ’ भनेर सिपाहीहरूलाई पठाइदिए।

प्रेरित 23 पढ्नुहोस्

Video for प्रेरित 23:1-10