YouVersion लोगो
खोज आइकन

प्रेरित 21:15-26

प्रेरित 21:15-26 NCV

त्यसपछि हामी सामानहरू तयार गरेर माथि यरूशलेमतिर बाटो लाग्यौँ। हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए। जब हामी यरूशलेम आइपुग्यौँ, तब दाजुभाइ-दिदीबहिनीहरूले हृदयदेखि खुशी भएर हाम्रो स्वागत गरे। भोलिपल्ट पावल र हामी सबै याकोबलाई भेट्न गयौँ, र त्यहाँ सबै मण्डली प्रधानहरू उपस्थित थिए। पावलले सबैलाई अभिवादन गरे, र उनको सेवाद्वारा परमेश्‍वरले गैरयहूदीहरूको बीचमा के कस्ता काम गर्नुभएको थियो, ती सबैको बयान तिनले एक-एक गरी बताइदिए। तिनीहरूले यो सुनेपछि परमेश्‍वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुहुन्छ, यहूदीहरूमध्ये कैयौँ हजार विश्‍वासी भएका छन्; र ती सबै जना मोशाका व्यवस्थामा उत्साहित छन्। तिनीहरूलाई जानकारी गराइएको छ, कि तपाईंले गैरयहूदीहरूका बीचमा बस्‍ने सबै यहूदीहरूलाई मोशाको व्यवस्थालाई त्यागिदिनू; र तिनीहरूका सन्तानको खतना नगर्नू अथवा हाम्रा रीतिथितिअनुसार नजिऊनू भन्‍ने शिक्षा दिनुभएको छ। अब हामीले के गर्ने हो? निश्‍चय नै तपाईं आउनुभएको छ भन्‍ने कुरा तिनीहरूले सुन्‍नेछन्, यसकारण हामी जे भन्दछौँ, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चार जना भाकल गर्ने मानिसहरू छन्। यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैँलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्। त्यसपछि तपाईंका बारेमा चलाइएका हल्‍लाहरूमा कुनै सत्यता रहनेछैन, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्। जहाँसम्म गैरयहूदी विश्‍वासीहरूको कुरा छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।” अर्को दिन ती चार जनालाई लिएर पावल गए र तिनीहरूसँगै तिनले आफूलाई पनि शुद्ध पारे। त्यसपछि कहिले शुद्ध हुने दिनहरू समाप्‍त हुने र हरेकका निम्ति भेटी चढाइनेछ भन्‍ने जानकारी दिन उनी मन्दिरमा गए।

प्रेरित 21 पढ्नुहोस्

Video for प्रेरित 21:15-26