प्रेरित 21:15-26
प्रेरित 21:15-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती दिनपछि हामी तयार भयौं, र यरूशलेमतर्फ लाग्यौं। हाम्रा साथमा कैसरियाका कुनै-कुनै चेलाहरू पनि गए, र तिनीहरूले हामीलाई साइप्रसका एक जना पुराना चेला मनासोन भन्नेको घरमा ल्याए। तिनीकहाँ हामीलाई बस्नुपरेको थियो। अनि जब हामी यरूशलेममा आइपुग्यौं, तब भाइहरूले हामीलाई खुशीसाथ स्वागत गरे। भोलिपल्ट पावल हामीसँग याकूबकहाँ गए। त्यहाँ सबै एल्डरहरू उपस्थित थिए। तिनीहरूलाई अभिवादन गरेपछि, पावलले तिनको सेवकाइद्वारा अन्यजातिहरूका बीचमा परमेश्वरले गर्नुभएका काम तिनीहरूलाई एक-एक गरी बयान गरे। यो सुनेपछि तिनीहरूले परमेश्वरको महिमा गरे। तब तिनलाई भने, “हेर्नुहोस् भाइ, यहूदीहरूका बीचमा विश्वास गर्नेहरू हजारौँ छन्, र व्यवस्थाका कुरामा उनीहरू सबै जोशिला छन्। उनीहरूले तपाईंको बारेमा पनि केही कुरा सुनेका छन्, सो के हो भने, अन्यजातिहरूका बीचमा बस्ने यहूदीहरूलाई तपाईंले ‘मोशालाई त्याग गर्नू र तिनीहरूका बालकहरूलाई खतना नगर्नू र रीतिथिति पालन नगर्नू’ भनेर सिकाउनुभएको छ, अरे। अब के गर्ने हो? तपाईं आउनुभएको छ भनी उनीहरूले निश्चय सुन्नेछन्। यसकारण जे हामी भन्दछौं, सो गर्नुहोस्— भाकल गर्नेहरू चार जना हामीसँग छन्। यिनीहरूलाई लिएर तपाईं पनि यिनीहरूका साथसाथै शुद्ध हुनुहोस्, र यिनीहरूलाई चाहिने खर्च तपाईंले भरिदिनुहोस्, र यिनीहरूले कपाल खौरून्। यसरी तपाईंले व्यवस्था पालन गर्नुभएको देखेर तपाईंको विषयमा सुनेको कुनै कुरो सत्य रहेनछ भनी सबैले थाहा पाउनेछन्। तर अन्यजातिहरू जसले विश्वास गरेका छन्, तिनीहरू मूर्तिलाई बलि चढ़ाएका थोक, रगत, गला अँठ्याएर मारेका पशुको मासु र व्यभिचारबाट अलग्ग रहनुपर्छ भन्ने हाम्रो निर्णय जनाएर हामीले पत्र लेखेका छौं।” तब पावलले ती मानिसहरूलाई लगे, र भोलिपल्ट तिनीहरूका साथसाथै आफूलाई पनि शुद्ध गराए, र शुद्धीकरणका दिनहरू कहिले पूरा हुने हो, तथा हरेकको निम्ति दिइने भेटीको सूचना दिन तिनी मन्दिरभित्र पसे।
प्रेरित 21:15-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि हामी आफ्ना सामानहरू तयारी गरेर यरूशलेमको बाटो लाग्यौं। कैसरियाका प्रभुमा विश्वास गर्ने केही दाजुभाइहरू पनि हामीसँगै आए। उनीहरूले हामीलाई साइप्रस टापुबाट आएर बसेका प्रभुको पुरानो विश्वासी मनासोनको घरमा बास बस्न पुर्याए। हामी यरूशलेममा पुग्दा त्यहाँको मण्डलीका दाजुभाइहरूले बडो खुसीसाथ हाम्रो स्वागत-सत्कार गरे। भोलिपल्ट पावल हामीलाई लिएर याकूबकहाँ गए। याकूबको घरमा मण्डलीका सबै धर्म-गुरुहरू भेला भएका थिए। भेटघाट गरेपछि पावलले अन्य-जातिको बीचमा सुसमाचार प्रचार गर्दा परमेश्वरले कस्तो-कस्तो कामहरू गर्नुभयो, यी सबै उनीहरूलाई बताइदिए। पावलको बयान सुनेर उनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि उनीहरूले पावललाई भने, “यहाँ पनि हजारौं यहूदीहरूले प्रभुमाथि विश्वास गरेर मोशाले दिएका व्यवस्थालाई पनि कडासँग पालन गर्दै छन्। अब ‘मोशाको व्यवस्था मान्नुपर्दैन अनि बालकहरूको शरीरको खतना गर्नुपर्दैन र यहूदी चलनमा चल्नुपर्दैन’ भनी विदेशमा बस्ने यहूदीहरूलाई तपाईंले सिकाउँदै हुनुहुन्छ रे भन्ने कुरा उनीहरूले सुनेका छन्। त्यसो हुँदा अब हामी के गरौं? अब पक्का पनि अहिले तपाईं यहाँ आउनुभएको छ भनेर तिनीहरूले सुन्नेछन्। यसकारण हामीले भनेको मान्नुहोस्। यहाँ अहिले हामीसँग शुद्ध हुने उपवासको भाकल गरेका चार जना मानिस छन्। तिनीहरूले भाकल गरेको समय सकियो। अब तपाईं तिनीहरूलाई लिएर मन्दिरमा गएर शुद्ध हुने काममा भाग लिनुहोस्। खर्चहरूचाहिँ तपाईंले तिरिदिनुहोस् र तिनीहरूको कपाल खौरन लगाउनुहोस्। यसरी तपाईंले व्यवस्था मानेको देखेर तपाईंलाई लगाएको दोष साँचो होइन रहेछ भनेर सबैले थाहा पाउनेछन्। प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्ने अरू जातिका मानिसहरूलाई चाहिँ ‘मूर्तिलाई चढाएको खाना नखानू, रगत नपिउनू र घाँटी निमोठेर मारेको पशुको मासु नखानू अनि व्यभिचारबाट अलग बस्नू’ भनेर हामीले निधो गरी पत्र लेखेर पठाइसकेका छौं।” भोलिपल्ट पावल ती चार जना मानिसहरूलाई लिएर शुद्ध हुने उपवास मान्न मन्दिरमा गए। उनले तिनीहरूसँगै शुद्ध हुने उपवास पनि मनाए। त्यसपछि पावल शुद्ध हुने उपवासको भाकल पूरा गरेर बलि चढाउने दिन कहिले हो भनी पूजाहारीलाई थाहा दिन मन्दिरभित्र पसे।
प्रेरित 21:15-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि हामी सामानहरू तयार गरेर माथि यरूशलेमतिर बाटो लाग्यौँ। हामीसँग कैसरियाका केही चेलाहरू पनि आए। तिनीहरूले हामीलाई मनासोनको घरमा लिएर गए; जो पहिलेका चेलाहरूमध्येका एक थिए। जब हामी यरूशलेम आइपुग्यौँ, तब दाजुभाइ-दिदीबहिनीहरूले हृदयदेखि खुशी भएर हाम्रो स्वागत गरे। भोलिपल्ट पावल र हामी सबै याकोबलाई भेट्न गयौँ, र त्यहाँ सबै मण्डली प्रधानहरू उपस्थित थिए। पावलले सबैलाई अभिवादन गरे, र उनको सेवाद्वारा परमेश्वरले गैरयहूदीहरूको बीचमा के कस्ता काम गर्नुभएको थियो, ती सबैको बयान तिनले एक-एक गरी बताइदिए। तिनीहरूले यो सुनेपछि परमेश्वरको प्रशंसा गरे र तिनीहरूले पावललाई भने: “हेर्नुहोस् भाइ, तपाईंले देख्नुहुन्छ, यहूदीहरूमध्ये कैयौँ हजार विश्वासी भएका छन्; र ती सबै जना मोशाका व्यवस्थामा उत्साहित छन्। तिनीहरूलाई जानकारी गराइएको छ, कि तपाईंले गैरयहूदीहरूका बीचमा बस्ने सबै यहूदीहरूलाई मोशाको व्यवस्थालाई त्यागिदिनू; र तिनीहरूका सन्तानको खतना नगर्नू अथवा हाम्रा रीतिथितिअनुसार नजिऊनू भन्ने शिक्षा दिनुभएको छ। अब हामीले के गर्ने हो? निश्चय नै तपाईं आउनुभएको छ भन्ने कुरा तिनीहरूले सुन्नेछन्, यसकारण हामी जे भन्दछौँ, तपाईं त्यही गर्नुहोस्। यहाँ हामीसित चार जना भाकल गर्ने मानिसहरू छन्। यी मानिसहरूलाई साथमा लिनुहोस् र तिनीहरूसँगै आफैँलाई शुद्ध पार्नुहोस् र त्यसमा लाग्ने तिनीहरूको खर्च तिरिदिनुहोस्। तिनीहरूले आ-आफ्ना कपाल खौरून्। त्यसपछि तपाईंका बारेमा चलाइएका हल्लाहरूमा कुनै सत्यता रहनेछैन, तर तपाईंचाहिँ व्यवस्थाप्रति आज्ञाकारी भएर जिउनुहुँदो रहेछ भनेर हरेकले थाहा पाउनेछन्। जहाँसम्म गैरयहूदी विश्वासीहरूको कुरा छ, मूर्तिहरूलाई बलि चढाइएका भेटी र भोजन खानबाट, रगतबाट, घाँटी निमोठेर मारिएका पशुहरूको मासु खानबाट र व्यभिचारबाट तिनीहरू पूर्ण रूपले अलग हुनुपर्छ भनेर हामीले गरेका निर्णय लिखित रूपमा तिनीहरूलाई पठाइसकिएको छ।” अर्को दिन ती चार जनालाई लिएर पावल गए र तिनीहरूसँगै तिनले आफूलाई पनि शुद्ध पारे। त्यसपछि कहिले शुद्ध हुने दिनहरू समाप्त हुने र हरेकका निम्ति भेटी चढाइनेछ भन्ने जानकारी दिन उनी मन्दिरमा गए।
प्रेरित 21:15-26 पवित्र बाइबल (NERV)
त्यसपछि हामी यरूशलेममतिर जान तयार भयौं सिजरियावासी येशूका कतिपय चेलाहरू हामीसँग गए। ती चेलाहरूले हामीलाई साईप्रसका मानिस मनासोनको घरमा लगे। मनासोन येशूका एकजना एकदम पुरानो चेला थिए। तिनीहरूले हामीलाई उनको घरमा लगे र हामी त्यहीं बस्यौं। यरूशलेममा विश्वासीहरू हामीलाई देखेर अत्यन्त खुशी भए। अर्कोदिन, याकूबलाई भेट्न पावल हामीसँग गए। सबै अग्रजहरू पनि त्यहाँ थिए। पावलले प्रत्येकलाई अभिवादन गरे अनि परमेश्वरले अयहूदीहरूको बीचमा उहाँको सेवकहरूको माध्यमले के-के कामहरू गर्नुभयो एक-एक गरी वृतान्त सुनाए। जब अग्रजहरूले यी कुराहरू सुने, तिनीहरूले परमेश्वरको प्रशंसा गरे। त्यसपछि तिनीहरूले पावललाई भने, “भाइ! तिमीहरूले देख्छौ कि कति हजारौं यहूदीहरू विश्वासी भए। तर तिनीहरू सबैले सोच्छन् कि मोशाको व्यवस्था खुबै महत्वको छ। अरू देशहरूमा गैर-यहूदीहरू माझमा बस्ने यहूदीहरूलाई तिमीले मोशाको व्यस्था पालन नगर्नु भनी शिक्षा दियौ भन्ने तिनीहरूले सुनेकाछन् कि यहूदीहरूका छोरा-छीरीहरूलाई खतना गर्नु पर्दैन र हाम्रो रीति-रिवाज मान्नु पर्दैन भनी तिमीले शिक्षा दियौ। “के गर्नु पर्ने? यहाँ यहूदी विश्वासीहरूले तिमी आएको निश्चय चाल पाउनेछन्। यसर्थ के गर्नु पर्ने हो हामी बताउँछौं हाम्रा चारजना मानिसहरूले परमेश्वरलाई वाचा गरेका छन्। यिनीहरूलाई लिएर जाऊ र तिनीहरूसँगै आफू पनि चोखिनु। तिमीले तिनीहरूको केश खोरने पैसा देऊ यसो गरे यो प्रमाण हुनेछ कि तिम्रो विषयमा तिनीहरूले जे सुने त्यो सत्य होइन। तिनीहरूले तिमीले मोशाको नियम तिम्रो आफ्नै जीवनमा पालन गरेको देख्नेछन्। “गैर-यहूदी विश्वासीहरूको विषयमा हामीले तिनीहरूलाई चिट्ठी यसो भन्दै पठाएका छौः ‘मूर्तिहरूमा चढाएको खाद्य नखानु। निमोठेर मारेका पशू नखानु, रगत नखानु। र कुनै प्रकारको व्यभिचार नगर्नु।’” पावल ती चारजना मानिसहरू आफ्नो साथ लिएर गए र तिनीहरूका चोखिने उत्सवमा भाग लिए। त्यसपछि चोखिने दिनको समापन कहिले हुने अनि तिनीहरू प्रत्येकलाई भेटी दिइने त्यसको उद्घोषण गर्न तिनी मन्दिरभित्र गए।