YouVersion लोगो
खोज आइकन

प्रेरित 21:15-26

प्रेरित 21:15-26 सरल नेपाली

त्‍यसपछि हामी आफ्‍ना सामानहरू तयारी गरेर यरूशलेमको बाटो लाग्‍यौं। कैसरियाका प्रभुमा विश्‍वास गर्ने केही दाजुभाइहरू पनि हामीसँगै आए। उनीहरूले हामीलाई साइप्रस टापुबाट आएर बसेका प्रभुको पुरानो विश्‍वासी मनासोनको घरमा बास बस्‍न पुर्‍याए। हामी यरूशलेममा पुग्‍दा त्‍यहाँको मण्डलीका दाजुभाइहरूले बडो खुसीसाथ हाम्रो स्‍वागत-सत्‍कार गरे। भोलिपल्‍ट पावल हामीलाई लिएर याकूबकहाँ गए। याकूबको घरमा मण्‍डलीका सबै धर्म-गुरुहरू भेला भएका थिए। भेटघाट गरेपछि पावलले अन्य-जातिको बीचमा सुसमाचार प्रचार गर्दा परमेश्‍वरले कस्‍तो-कस्‍तो कामहरू गर्नुभयो, यी सबै उनीहरूलाई बताइदिए। पावलको बयान सुनेर उनीहरूले परमेश्‍वरको प्रशंसा गरे। त्‍यसपछि उनीहरूले पावललाई भने, “यहाँ पनि हजारौं यहूदीहरूले प्रभुमाथि विश्‍वास गरेर मोशाले दिएका व्यवस्थालाई पनि कडासँग पालन गर्दै छन्। अब ‘मोशाको व्यवस्था मान्‍नुपर्दैन अनि बालकहरूको शरीरको खतना गर्नुपर्दैन र यहूदी चलनमा चल्‍नुपर्दैन’ भनी विदेशमा बस्‍ने यहूदीहरूलाई तपाईंले सिकाउँदै हुनुहुन्‍छ रे भन्‍ने कुरा उनीहरूले सुनेका छन्। त्‍यसो हुँदा अब हामी के गरौं? अब पक्‍का पनि अहिले तपाईं यहाँ आउनुभएको छ भनेर तिनीहरूले सुन्‍नेछन्। यसकारण हामीले भनेको मान्‍नुहोस्। यहाँ अहिले हामीसँग शुद्ध हुने उपवासको भाकल गरेका चार जना मानिस छन्। तिनीहरूले भाकल गरेको समय सकियो। अब तपाईं तिनीहरूलाई लिएर मन्‍दिरमा गएर शुद्ध हुने काममा भाग लिनुहोस्। खर्चहरूचाहिँ तपाईंले तिरिदिनुहोस् र तिनीहरूको कपाल खौरन लगाउनुहोस्। यसरी तपाईंले व्यवस्था मानेको देखेर तपाईंलाई लगाएको दोष साँचो होइन रहेछ भनेर सबैले थाहा पाउनेछन्। प्रभु येशू ख्रीष्‍टमाथि विश्‍वास गर्ने अरू जातिका मानिसहरूलाई चाहिँ ‘मूर्तिलाई चढाएको खाना नखानू, रगत नपिउनू र घाँटी निमोठेर मारेको पशुको मासु नखानू अनि व्‍यभिचारबाट अलग बस्‍नू’ भनेर हामीले निधो गरी पत्र लेखेर पठाइसकेका छौं।” भोलिपल्‍ट पावल ती चार जना मानिसहरूलाई लिएर शुद्ध हुने उपवास मान्‍न मन्‍दिरमा गए। उनले तिनीहरूसँगै शुद्ध हुने उपवास पनि मनाए। त्‍यसपछि पावल शुद्ध हुने उपवासको भाकल पूरा गरेर बलि चढाउने दिन कहिले हो भनी पूजाहारीलाई थाहा दिन मन्‍दिरभित्र पसे।

प्रेरित 21 पढ्नुहोस्

Video for प्रेरित 21:15-26