अहीतोपेलले अब्शालोमलाई भने, “कृपया मलाई बाह्र हजार मानिसहरूलाई चुनेर आज राति दावीदलाई खेद्न जाने अनुमति दिनुहोस्। तिनी थाकेका र कमजोर भएका बेलामा म तिनीमाथि आक्रमण गर्नेछु। म तिनलाई आतङ्कित तुल्याउनेछु; अनि तिनीसँग भएका सबै मानिसहरू भागेर जानेछन्। म केवल राजालाई मात्र मार्नेछु। अनि सबै मानिसहरूलाई तपाईंकहाँ फर्काएर ल्याउनेछु। तपाईंले खोज्नुभएको मानिसको मृत्यु हुनु नै सबै मानिसहरू तपाईंतिर फर्कनु हो। सबै मानिसहरूको कुनै हानि हुनेछैन।” यो योजना अब्शालोम र इस्राएलका सबै प्रधानहरूलाई असल लाग्यो। तर अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाइपठाऊ, र तिनले के भन्छन्, त्यो पनि हामी सुनौँ।” हूशै तिनीकहाँ आएपछि अब्शालोमले तिनलाई भने, “अहीतोपेलले यो सल्लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौँ? यदि होइन भने तपाईंको विचार के छ, हामीलाई भन्नुहोस्।” हूशैले अब्शालोमलाई भने, “यस पटक अहीतोपेलले दिएका सल्लाह ठिक छैन। तपाईं आफ्ना पिता र उहाँका मानिसहरूलाई जान्नुहुन्छ। तिनीहरू लडाकुहरू हुन्; अनि तिनीहरू बच्चा खोसिएका जङ्गली भालुजस्तै डरलाग्दा छन्। यसबाहेक तपाईंका पिता एक अनुभवी योद्धा हुनुहुन्छ। उहाँ सेनाहरूसँग रातभरि रहनहुनेछैन। अहिले पनि उहाँ कुनै गुफा, वा अरू कुनै ठाउँमा लुकिरहनुभएको होला। यदि उहाँले तपाईंको सेनाहरूलाई पहिले आक्रमण गर्नुभयो भने यो कुरा सुन्ने हरेकले भन्नेछन्, ‘अब्शालोमका पछि लाग्ने सेनाहरू मारिएका छन्।’ ” त्यसपछि सिंहको जस्तो मुटु भएको अति वीर योद्धा पनि डरले काँप्नेछ। किनकि तपाईंका पिता लडाकु हुनुहुन्छ, र उहाँसित भएका योद्धाहरू शूरवीर छन् भन्ने कुरा सारा इस्राएललाई थाहा छ। “यसकारण म तपाईंलाई सल्लाह दिन्छु: दानदेखि बेर्शेबासम्म भएका समुद्रको किनारका बालुवासरह असंख्य इस्राएलीलाई तपाईंकहाँ भेला गराउनुहोस्। अनि तपाईंकै अगुवाइमा लडाइँमा जानुहोस्। तब हामी दावीदलाई जहाँ भेट्नेछौँ, त्यहीँ आक्रमण गर्नेछौँ। हामी भुइँमा शीत खसेझैँ उहाँमाथि जाइलाग्नेछौँ। उहाँ अथवा उहाँका कुनै पनि मानिस जीवित रहनेछैनन्। यदि उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्यस सहरको पर्खाललाई डोरी लगाएर एउटै ढुङ्गा पनि त्यसको जगमा नरहने गरी हामी घिस्याएर बेँसीमा पुर्याउनेछौँ।” अब्शालोम र इस्राएलका सारा मानिसहरूले भने, “अहीतोपेलको भन्दा अरकी हूशैको सल्लाह असल छ।” किनकि अब्शालोममाथि विपत्ति ल्याउनका निम्ति याहवेहले नै अहीतोपेलको असल सल्लाहलाई विफल तुल्याउने संकल्प गर्नुभएको थियो।
2 शमूएल 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 शमूएल 17:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू