YouVersion लोगो
खोज आइकन

२ शमूएल 17:1-14

२ शमूएल 17:1-14 NNRV

अहीतोपेलले अब्‍शालोमलाई भने, “बाह्र हजार मानिस छान्‍नुहोस्, र आज राती दाऊदलाई खेद्‌नुहोस्‌ भन्‍ने मेरो सल्‍लाह छ। तिनी थाकेर हैरान भएको बेलामा तिनलाई हमला गर्नुहोस्‌। तिनलाई आतङ्कित बनाउनुहोस्, र तिनीसँग भएका सबै मानिस तितरबितर हुनेछन्‌। राजालाई बाहेक अरू कसैलाई नमार्नुहोस्‌। सबै मानिसहरूलाई तपाईंकहाँ फर्काइल्‍याउनुहोस्‌। तिनको मृत्‍युले नै सबै जनालाई फर्काइल्‍याउन सक्‍छ। अरू सबै मानिसहरूमाथि चाहिँ कुनै हानि हुनेछैन।” अब्‍शालोम र इस्राएलका सबै धर्म-गुरुहरूले अहीतोपेलको सल्‍लाह स्‍वीकार गरे। तर अब्‍शालोमले भने, “अरकी हूशैलाई बोलाइपठाओ, र तिनले के भन्‍दारहेछन्‌ सो हामी सुनौं।” हूशै आए, र अहीतोपेलले भनेका सबै कुरा अब्‍शालोमले तिनलाई भनिदिए, र तिनलाई सोधे, “अहीतोपेलले हामीलाई यस्‍तो सल्‍लाह दिएका छन्‌। के हामी तिनले भनेअनुसार गरौं? होइन भने, तिम्रो के विचार छ भन।” हूशैले अब्‍शालोमलाई भने, “यस पल्‍ट अहीतोपेलले दिएका सल्‍लाह ठीक छैन।” हूशैले अझै भने, तपाईंका पिता र उहाँसँग भएका मानिसहरू अनुभवी लड़ाकाहरू छन्, र बच्‍चा खोसिएका जङ्गलका क्रोधी भालूहरूजस्‍ता छन्‌। तपाईंका पिता युद्ध-कलामा निपुण हुनुहुन्‍छ, अनि उहाँ राती सेनासँग बस्‍नुहुनेछैन। अहिले पनि उहाँ कुनै ओड़ारमा वा अरू त्‍यस्‍तै ठाउँमा लुकिरहनुभएको छ होला। यदि उहाँले उछिनेर पहिले नै तपाईंको फौजलाई हमला गर्नुभयो भने र यो कुरा थाहा लाग्‍यो भने सुन्‍नेले भन्‍नेछन्‌ ‘अब्‍शालोमका पछि लाग्‍ने फौजहरू त नष्‍ट भएका छन्‌।’ त्‍यसो हुँदा कस्‍तै सूरो र सिंहजस्‍तै मुटु भएको मानिसको साहस पनि हराउनेछ। किनभने सारा इस्राएलले जान्‍दछ कि तपाईंका पिता एक महावीर हुनुहुन्‍छ, र उहाँसँग हुनेहरू पनि साहसीहरू छन्‌। यसैले मेरो सल्‍लाह यही छ: दानदेखि बेर्शेबासम्‍मका सारा इस्राएललाई समुद्रका बालुवाका कणजस्‍तै तपाईंकहाँ जम्‍मा हुन दिनुहोस्, र तिनीहरूका अगाड़ि तपाईं आफै युद्धमा मानिसहरूलाई लिएर जानुहोस्‌। तब उहाँ जहाँ हुनुभए तापनि हामी कहीँ न कहीँ उहाँमाथि आक्रमण गर्नेछौं, र भूइँमा शीत परेझैँ उहाँमाथि ओइरिनेछौं, अनि उहाँका घरानाको एउटै पनि अथवा उहाँपछि लाग्‍नेहरू कुनै पनि जीवित छोड़िनेछैन। उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्‍यस सहरलाई लठारा ल्‍याएर एउटै ढुङ्गा पनि त्‍यसको जगमा नपाइने गरी हामी घिस्‍स्‍याएर बेँसीमा पुर्‍याउनेछौं।” अब्‍शालोम र इस्राएलका सबै मानिसहरूले भने, “अरकी हूशैले अहीतोपेलको भन्‍दा राम्रो सल्‍लाह दिएका छन्‌।” यो त अहीतोपेलको राम्रो सल्‍लाह विफल बनाउने, अनि यसरी अब्‍शालोमको विनाश गर्ने परमप्रभुको अभिप्राय मात्र थियो।