YouVersion लोगो
खोज आइकन

2 राजाहरू 9:6-22

2 राजाहरू 9:6-22 NCV

येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले येहूको शिरमा तेल खन्याएर घोषणा गरे, “याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘म तँलाई याहवेहको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु। तैँले आफ्नो मालिक आहाबको घरानालाई नष्‍ट गर्नुपर्छ; र म ईजेबेलसँग त्यसले मेरा सेवक अगमवक्ताहरूका र याहवेहका सबै सेवकहरूका रगत बगाएको बदला लिनेछु। आहाबको सम्पूर्ण परिवार नष्‍ट हुनेछ। इस्राएलमा रहेका आहाबका प्रत्येक अन्तिम पुरुष, चाहे त्यो कमारा होस् वा फुक्‍का, म नाश गर्नेछु। म आहाबको घरानालाई नबातको छोरा यारोबामको घरानाझैँ र अहीयाहको छोरा बाशाको घरानाझैँ बनाउनेछु। ईजेबेलको विषयमा चाहिँ यिजरेलको जमिनमा त्यसलाई कुकुरहरूले खानेछन्, र कसैले पनि त्यसलाई गाड्नेछैन।’ ” त्यसपछि ढोका खोलेर तिनी भागे। जब येहू आफ्ना सङ्गी-अधिकारीहरूकहाँ बाहिर निस्के, तब तीमध्ये एक जनाले सोधे, “के सबै ठिक छ? ती बौलाहा मानिस तिमीकहाँ किन आएका थिए?” येहूले जवाफ दिए, “ती मानिस कस्ता छन् र तिनले कस्तो कुरा गर्छन्, त्यो तिमीलाई थाहै छ।” तिनीहरूले भने, “त्यो होइन! हामीलाई साँचो-साँचो भन।” येहूले भने, “त्यसले मलाई यसै भन्यो: ‘याहवेह यसो भन्‍नुहुन्छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु।’ ” तिनीहरूले तुरुन्तै आफ्ना खास्टोहरू खोलेर सिँढीमा ओछ्याए। अनि तिनीहरूले तुरही फुकेर “येहू राजा हुनुहुन्छ!” भनी कराए। यसकारण निम्शीका नाति यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। (योराम र सारा इस्राएलले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए, तर राजा योराम अरामका राजा हजाएलसितको लडाइँमा अरामीहरूले तिनलाई चोट पुर्‍याएका थिए। तर तिनी निको हुनलाई यिजरेलमा फर्किएका थिए।) अनि येहूले भने, “यदि तपाईंहरू मलाई राजा बनाउन चाहनुहुन्छ भने यिजरेलमा गएर यो खबर दिनलाई यस सहरबाट एक जनालाई पनि उम्केर जान नदिनुहोस्।” तब तिनी आफ्नो रथमा चढे, र यिजरेलमा गए। किनकि योराम त्यहाँ विश्राम गरिरहेका थिए। यहूदाका राजा अहज्याह तिनलाई भेट्न त्यहाँ आएका थिए। जब यिजरेलको धरहराबाट हेरिरहेका पहरेदारले येहूका दलहरू नजिक आउँदैगरेका देखे, “म केही दलहरू आइरहेको देखिरहेछु” भनेर तिनी कराए। योरामले हुकुम दिए, “एक जना घोडचढी तयार गर। त्यसलाई तिनीहरूलाई भेट्न पठाएर सोध्न लगा, ‘के तपाईं शान्तिपूर्वक आउनुभएको हो?’ ” त्यो घोडचढी येहूलाई भेट्न गयो, र भन्यो, “तपाईं शान्तिको लागि आउनुभएको हो?” येहूले जवाफ दिए, “तँलाई शान्तिसित के मतलब भयो र? मेरो पछि लाग्!” तब पहरेदारले यस्तो खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर तिनी फर्केको छैन।” यसकारण राजाले दोस्रो घोडचढीलाई पठाए। तिनी उनीहरूकहाँ पुगेपछि तिनले भने, “तपाईं शान्तिको लागि आउनुभएको हो?” येहूले जवाफ दिए, “शान्तिसित तँलाई के मतलब? मेरो पछि लाग्!” पहरेदारले खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर त्यो पनि फर्केको छैन। रथको हँकाइ त निम्शीका छोरा येहूको जस्तो छ; तिनी बौलाहा मानिसझैँ हाँक्छन्।” योरामले हुकुम दिए, “मेरो रथ तयार गर।” अनि त्यो तयार पारिएपछि इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह येहूलाई भेट्न आ-आफ्नै रथहरूमा सवार भए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमा भेटे। येहूलाई देखेपछि योरामले सोधे, “येहू, तिमी शान्तिपूर्वक आएका हौ?” येहूले जवाफ दिए, “तपाईंकी आमा ईजेबेलका मूर्तिपूजा र तन्त्रमन्त्र रहेसम्म कसरी शान्ति हुन सक्छ?”

2 राजाहरू 9 पढ्नुहोस्