YouVersion लोगो
खोज आइकन

२ राजाहरू 9:6-22

२ राजाहरू 9:6-22 NNRV

येहू उठेर घरभित्र गए। तब ती अगमवक्ताले तिनको शिरमा तेल खन्‍याएर यसो भनेर घोषणा गरे, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘म तँलाई परमप्रभुको प्रजा इस्राएलमाथि राजा अभिषेक गर्दछु। तैंले आफ्‍ना मालिक आहाबको घरानालाई सर्वनाश गर्नुपर्छ, र ईजेबेलले बगाएको मेरा दासहरू, अर्थात्‌ अगमवक्ताहरूको रगत र प्रभुका सबै दासहरूका रगतको साटो म लिनेछु। आहाबका सबै घराना नष्‍ट हुनेछन्‌। इस्राएलमा त्‍यसका घरानाको हरेक पुरुषलाई, फुक्‍का वा बँधुवा होस्, म नाश गर्नेछु। म आहाबको घरानालाई नबातको छोरो यारोबाम र अहियाहको छोरा बाशाको घरानाजस्‍तै तुल्‍याउनेछु। ईजेबेललाई चाहिँ यिजरेलको एउटा ठाउँमा कुकुरहरूले भक्षण गर्नेछन्, र कसैले त्‍यसलाई गाड्‌नेछैन’।” त्‍यसपछि ढोका खोलेर तिनी कुदेर गए। जब येहू फेरि सङ्गी-अधिकृतहरूकहाँ बाहिर आए, तब तिनीहरूमध्‍येका एक जनाले तिनलाई सोधे, “के सबै ठीकै छ? त्‍यो बौलाहा मान्‍छे किन तिमीकहाँ आएछ?” येहूले जवाफ दिए, “तिमीहरू ती मानिसलाई चिन्‍दछौ, र त्‍यसले के भन्‍छ सो त तिमीहरूलाई थाहै छ।” तिनीहरूले भने, “त्‍यो कुरा सत्‍य होइन, हामीलाई ठीक कुरा बताऊ।” येहूले भने, “तिनले मलाई के भने, त्‍यो त्‍यही हो: ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: म तँलाई इस्राएलमाथि राजा अभिषेक गर्दैछु’।” तब तिनीहरूले झट्टै आ-आफ्‍ना बाहिरी पोशाक उतारेर सिँढ़ीका ढुङ्गामा तिनी हिँड्‌नलाई ओछ्याइदिए। तब तिनीहरूले तुरही फुके र कराएर भने, “येहू राजा हुनुहुन्‍छ!” यसैले निम्‍शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्‌यन्‍त्र रचे। अब योराम र सबै इस्राएलीहरूले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए, तर राजा योरामचाहिँ अरामका राजा हजाएलको विरुद्धमा लड़ाइँ गर्दा अरामीहरूले तिनलाई लाएको चोटबाट निको हुनलाई यिजरेलमा गएका थिए। येहूले भने, “यदि तिमीहरूको यस्‍तै इच्‍छा छ भने, यिजरेलमा यो समाचार लैजानलाई सहरबाट कोही पनि उम्‍कन नपाओस्‌ है।” तब तिनी आफ्‍नो रथमा चढ़ेर यिजरेलमा गए, किनभने योराम त्‍यहाँ आराम लिइरहेका थिए, र यहूदाका राजा अहज्‍याह तिनलाई हेर्न भनी त्‍यहीँ झरेका थिए। जब यिजरेलको धरहरामा उभिरहेको पहरादारले येहूका फौजलाई आइरहेका देखे, तब उनले कराएर भने, “म केही फौजहरू आइरहेका देख्‍दैछु।” योरामले हुकुम दिए, “एउटा घोड़चढ़ी तिनीहरूलाई भेट गर्न पठाएर सोध्‍न लगा, ‘के तपाईंहरू मित्रभावले आउनुभएको हो?” त्‍यो घोड़चढ़ी येहूलाई भेट्‌न गयो, र भन्‍यो, “राजा यसो भन्‍नुहुन्‍छ: “के तपाईं मित्रभावले आउनुभएको हो’?” येहूले जवाफ दिए, “मित्रभावसित तँलाई के वास्‍ता? तँ मेरो पछि लाग्‌।” त्‍यस पहरादारले बताइदियो, “त्‍यो खबर लैजानेले तिनीहरूलाई भेट्‌न त भेट्यो, तर त्‍यो फर्केर आएन।” तब राजाले अर्को घोड़चढ़ी पठाए। जब त्‍यो तिनीहरूकहाँ आयो, तब त्‍यसले भन्‍यो, राजा यसो भन्‍नुहुन्‍छ, “के तपाईं मित्रभावले आउनुभएको हो?” येहूले जवाफ दिए, “मित्रभावसित तँलाई के वास्‍ता? तँ मेरो पछि लाग्‌।” तब पहरादारले बताइदियो, “त्‍यसले तिनीहरूलाई भेट्‌न त भेट्यो, तर त्‍यो पनि फर्केर आएन। त्‍यो रथ हाँकेको त निम्‍शीका छोरा येहूले हाँकेजस्‍तै छ। तिनले बौलाहाजस्‍तै हाँक्‍छन्‌।” योरामले भने, “मेरो रथ तयार गर।” जब उनीहरूले त्‍यो तयार गरे, तब इस्राएलका राजा योराम र यहूदाका राजा अहज्‍याह आ-आफ्‍नो रथमा सवार भएर येहूलाई भेट्‌न गए। तिनीहरूले तिनलाई यिजरेली नाबोतको जमिनमै भेटे। जब योरामले येहूलाई देखे तब तिनले सोधे, “येहू, के तिमी मित्रभावले आएका हौ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलका सबै मूर्तिपूजा र सबै मन्‍त्रतन्‍त्र रहँदा केको मित्रभाव?”