येहू उभिए अनि घरभित्र पसे। तब युवक अगमवक्ताले येहूको टाउकोमाथि तेल खन्याए। युवक अगमवक्ताले येहूलाई भने, “इस्राएलका परमेश्वरले भन्नु भएको छ, ‘इस्राएल अनि परमप्रभुका मानिसहरूको नयाँ राजाको रूपमा तिमीलाई अभिषेक गर्दै छु। तिमीले आफ्नो राजा आहाबको परिवारलाई नष्ट पार्नु पर्छ। यस प्रकार म ईजेबेललाई मेरा सेवकहरू, अगमवक्ताहरू तथा परमप्रभुका सबै सेवकहरूको मृत्य, (जसको हत्या गरिएको थियो) को लागि सजाय दिनेछु। यसप्रकार आहाबको सब परिवार मर्नेछ। म आहाबको परिवारको कुनै बालक जिउँदो रहन दिने छैन। यसको कुनै अर्थ हुँदैन त्यो बालक दास हो अथवा इस्राएलको स्वतन्त्र मानिस हो। म आहाबको परिवारलाई नबातको छोरा यारोबाम वा अहियाहका छोरा बाशाको परिवार जस्तो बनाउने छु। यिज्रेलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।’”
तब युवक अगमवक्ताले ढोका खोले अनि हिंडे।
येहू आफ्नो राजाका अधिकारीहरूतिर फर्किए। एकजना अधिकारीले येहूलाई सोधे, “सबै कुरा ठीकै छ? त्यो बौलाहा मानिस तिमी कहाँ किन आएछ?”
येहूले सेवकहरूलाई जवाफ दिए, “तिमीलाई त्यो थाहा छ बौलाह मानिस सधैँ केही कुराहरूको विषयमा हतारिन्छ?”
अधीकारीहरूले भने, “होइन! हामीलाई साँच्चो कुरा भन। उसले के भन्यो?” येहूले अधिकारीहरूलाई युवक अगमवक्ताले भनेको कुरा बताए। येहूले भने, “उसले भन्यो, ‘यो कुरा परमप्रभुले भन्नुभएको हो मैले तिमीलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गरेको छु।’”
तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येहू अघि सींडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येहू राजा हुन्।”
यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहूले योरामको विरोधमा योजनाहरू बनाए।
त्यस समयमा योराम र इस्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए। राजा योरामले अरामका राजा हजाएलको विरोधमा लडाईँ गरे। तर अरामीहरूले राजा योरामलाई घाइते बनाए अनि उनी ती घाउहरू निको पार्नका लागि यिज्रेल गए।
यसकारण येहूले अधिकारीहरूलाई भने, “यदि तिमीहरू सहमत छौ, म नयाँ राजा हुँ, तब शहरको कुनै मानिसलाई यिज्रेलमा खबर भन्नकालागि त्यसै हिंड्न नदिनु।”
योराम यिज्रेलमा विश्राम गरिरहेका थिए। यस कारण येहू आफ्नो रथमा चढे अनि यिज्रेलतिर हिंडे। यहूदाका राजा अहज्याह पनि योरामसँग भेट गर्न यिज्रेल आएका थिए।
एक जना रक्षक यिज्रेलमा स्तम्भमाथि उभिएको थियो। उसले येहूको विशाल समूहलाई आउँदै गरेको देख्यो। उसले भन्यो, “म मानिसहरूको विशाल समुह देख्दै छु।”
योरामले भने, “तिनीहरूसँग भेट गर्न कसैलाई घोडामा पठाऊ। त्यस दूतलाई ती मानिसहरू शान्तिको इच्छाले आएका हुन, कि सोध।”
यसकारण दूत घोडामाथि चढ्यो अनि येहूसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?’”
येहूले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।”
रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो र अहिलेसम्म फर्केर आएको छैन।”
तब योरामले अर्को दूतलाई घोडामाथि पठाए। यो मानिस येहूको समूहकहाँ आयो र भन्यो, “राजा योराम भन्नुहुन्छ। ‘शान्ति।’”
येहूले जवाफ दिए, “तिमीले शान्तिसँग केही गर्नु पर्ने छैन। आऊ र मेरो पछि लाग।”
रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येहू जस्तै नै चलाइ रहेको छ।”
योरामले भने, “मेरो रथ तयार गर!”
यसकारण सेवकले योरामको रथ ल्यायो। इस्राएलका राजा योराम अनि यहूदाका राजा अहज्याह दुवै जनाले आ-आफ्नो रथ लिए अनि येहूसँग भेट गर्न हिंडे। तिनीहरूले येहूसँग यिज्रेली नाबोतको जग्गाको छेऊमा भेट गरे।
योरामले येहूलाई हेरेर सोधे, “येहू, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?”
येहूले जवाफ दिए, “जबसम्म तिम्री आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका काम गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”