YouVersion लोगो
खोज आइकन

1राजाहरू 22:1-14

1राजाहरू 22:1-14 NCV

तीन वर्षसम्म अराम र इस्राएलको बीचमा कुनै युद्ध भएन। तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजा आहाबलाई भेट्न गए। इस्राएलका राजाले आफ्ना अधिकारीहरूलाई भने, “रामोत-गिलाद हाम्रो हो; र पनि हामीले त्यसलाई अरामका राजाबाट फिर्ता लिन केही पनि गरेका छैनौँ भनी तपाईंहरूलाई थाहा छैन?” यसकारण तिनले यहोशापातलाई सोधे, “के तपाईं हामीसित रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जानुहुन्छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्। मेरा घोडाहरू तपाईंकै घोडाहरूजस्तै हुन्।” तर यहोशापातले इस्राएलका राजालाई यो पनि भने, “पहिले याहवेहसित सल्‍लाह माग्नुहोस्।” यसकारण इस्राएलका राजाले चार सय जति अगमवक्ताहरू भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनीहरूले भने, “जानुहोस्, किनकि प्रभुले त्यसलाई राजाको हातमा दिनुहुनेछ।” तर यहोशापातले सोधे, “यहाँ याहवेहका कुनै अगमवक्ता छैनन्, जसलाई हामीले यसको बारेमा सोध्न सकौँ?” इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “याहवेहसित सल्‍लाह लिन एक जना मानिस त छ, तर म उसलाई घृणा गर्छु; किनकि उसले मेरो विषयमा कहिल्यै पनि भलो अगमवाणी गर्दैन; सधैँ कुभलो मात्र गर्छ। ऊ यिम्‍लाको छोरा मीकाया हो।” यहोशापातले जवाफ दिए, “राजाले त्यसो भन्‍नुहुँदैन।” यसकारण इस्राएलका राजाले आफ्ना एक जना अधिकारीलाई बोलाएर भने, “झट्टै यिम्‍लाका छोरा मीकायालाई लिएर आऊ।” आफ्ना राजकीय पोशाकहरू पहिरेर इस्राएलका राजा र यहूदाका राजा यहोशापात सामरियाको मूलढोकाको प्रवेशद्वार नजिकको खलामा आफ्ना सिंहासनहरूमा बसिरहेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामु अगमवाणी गरिरहेका थिए। केनानका छोरा सिदकियाहले फलामका सिङहरू बनाएका थिए; अनि तिनले घोषणा गरे, “याहवेह यसो भन्‍नुहुन्छ: ‘यी सिङहरूद्वारा नै तिमीहरूले अरामीहरूलाई तिनीहरू नाश नभएसम्म हान्‍नेछौ।’ ” अरू सबै अगमवक्ताहरूले पनि अगमवाणीद्वारा त्यही कुरा भनिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि आक्रमण गरेर विजयी हुनुहोस्; किनकि याहवेहले त्यसलाई राजाको हातमा दिनुहुनेछ।” मीकायालाई बोलाउन जाने समाचारवाहकले तिनलाई भने, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले एकै मत भएर राजाको सफलताको पूर्व सूचना दिइरहेका छन्। तपाईं पनि तिनीहरूसितै सहमत भएर असल कुरा बोलिदिनुहोस्।” तर मीकायाले भने, “निश्‍चय नै जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, म तिनलाई याहवेहले मलाई भन्‍नुभएको कुरा मात्र भन्‍नेछु।”

1राजाहरू 22 पढ्नुहोस्