त्यसपछि दुई वर्षसम्म इस्राएल र अरामका बीचमा लडाइँ भएन; तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजा आहाबलाई भेट्न गए। आहाबले आफ्ना भारदारहरूलाई सोधे, “हामीले किन अरामका राजाका हातबाट गिलादको रामोत फिर्ता लिन केही गरेनौं? त्यो ठाउँ त हाम्रो हो नि?” अनि आहाबले यहोशापातलाई सोधे, “के तपाईं रामोतमाथि आक्रमण गर्न जानुहुन्छ?” यहोशापातले उत्तर दिए, “तपाईं तयार हुनुभए म पनि तयार छु। मेरा पैदल र घोडचढी सेनाहरू पनि तयार छन्। तर पहिले हामी परमप्रभुको इच्छा बुझौं।” आहाबले अगमवक्ताहरूलाई बोलाए। तिनीहरू ४०० जनाजति थिए। उनले तिनीहरूलाई सोधे, “म गएर रामोतमाथि हमला गरूँ कि नगरूँ?” तिनीहरूले जवाफ दिए, “हमला गर्नुहोस्। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।” तर यहोशापातले सोधे, “परमप्रभुको इच्छा बुझ्नलाई अर्का कुनै अगमवक्ता छैनन्?” आहाबले उत्तर दिए, “यिम्लाको छोरो मीकाया नाम गरेको एक जना अगमवक्ता त छ; तर म त्यसलाई मन पराउँदिनँ किनभने त्यसले कहिल्यै मलाई असल अगमवाणी भन्दैन, सधैँ खराब वचन मात्र भन्छ।” “तपाईंका मुखबाट यस्तो वचन निस्कनुहुन्न,” यहोशापातले उत्तर दिए। त्यसपछि आहाबले एक जना महलको अधिकारीलाई बोलाए र झट्टै गएर मीकायालाई लिई आउन आज्ञा गरे। ती दुई राजाहरू आफ्ना राजकीय पोशाक पहिरेर सामरियाको मूल-ढोकाबाहिर अन्न दाइँ गर्ने ठाउँनिर आफ्ना सिंहासनमा बसेका थिए। सबै अगमवक्ताहरूले तिनीहरूका सामुन्ने अगमवाणी भन्दै थिए। तीमध्ये एक जना केनानाको छोरो सिदकियाहले फलामका सिङहरू बनाएर आहाबलाई भने, “परमप्रभु भन्नुहुन्छ– ‘यस्ता सिङहरू लिएर अरामीहरूसित लडाइँ गरी तिनीहरूमाथि पूरा विजय गर्नेछस्।” तिनीहरू सबैले भने, “रामोतमाथि हमला गर्नुहोस्। परमप्रभुले तपाईंलाई विजय दिनुहुनेछ।” त्यही बीचमा मीकायालाई बोलाउन जाने भारदारले उनलाई भने, “सबै अगमवक्ताहरूले राजालाई सफल हुनुहुनेछ भनी अगमवाणी भनेका छन् र अब तपाईंले पनि त्यसै भनिदिनुहोस्।” मीकायाले भने, “जीवित परमप्रभुलाई साक्षी राखी म वचन दिँदछु, परमप्रभुले मलाई जे भन्नुहुन्छ, त्यही मात्र म बोल्नेछु।”
१ राजा 22 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ राजा 22:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू