YouVersion लोगो
खोज आइकन

१ राजाहरू 22:1-14

१ राजाहरू 22:1-14 NNRV

तीन वर्षसम्‍म अराम र इस्राएलका बीचमा युद्ध भएन। तर तेस्रो वर्षमा यहूदाका राजा यहोशापात इस्राएलका राजासित भेट गर्नलाई तल झरे। इस्राएलका राजाले आफ्‍ना अधिकारीहरूलाई भनेका थिए, “रामोत-गिलाद हाम्रो हो भनी तिमीहरूलाई थाहा छैन, र पनि अरामका राजाबाट त्‍यो फिर्ता लिन हामी केही गर्दैनौं?” यसैले तिनले यहोशापातलाई सोधे, “रामोत-गिलादको विरुद्ध लड़ाइँ गर्न के तपाईं मसँग जानुहुन्‍छ?” यहोशापातले इस्राएलका राजालाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, मेरा मानिसहरू तपाईंकै मानिसहरूजस्‍तै, मेरा घोड़ाहरू तपाईंकै घोड़ाहरूजस्‍तै हुन्‌।” तर यहोशापातले इस्राएलका राजालाई यसो पनि भने, “पहिले परमप्रभुसँग सल्‍लाह लिनुहोस्‌।” यसकारण इस्राएलका राजाले चार सय जति अगमवक्ताहरूलाई भेला गराएर तिनीहरूलाई सोधे, “म रामोत-गिलादको विरुद्धमा युद्ध गर्न जाऊँ कि नजाऊँ?” तिनीहरूले जवाफ दिए, “जानुहोस्, किनकि परमप्रभुले राजाको हातमा त्‍यो दिनुहुनेछ।” तर यहोशापातले सोधे, “के परमप्रभुका अगमवक्ता यहाँ छैनन्, जसलाई हामी सोध्‍न सक्‍छौं?” इस्राएलका राजाले यहोशापातलाई जवाफ दिए, “परमप्रभुबाट सोध्‍नलाई एक जना त छन्, तर म तिनलाई घृणा गर्दछु, किनभने तिनले मेरो निम्‍ति असल अगमवचन कहँदैनन्, तर सधैँ खराबी मात्र। तिनी यिम्‍लाका छोरा मीकाया हुन्‌।” यहोशापातले जवाफ दिए, “राजाले यस्‍तो भन्‍नुहुन्‍न।” तब इस्राएलका राजाले आफ्‍ना अधिकारीहरूमध्‍ये एक जनालाई बोलाएर भने, “यिम्‍लाका छोरा मीकायालाई तुरुन्‍तै ल्‍याऊ।” इस्राएलका राजा र यहूदाका राजा यहोशापात राजकीय पोशाकमा सामरियाको मूल ढोकाका सामुको खला नजिक आ-आफ्‍नो सिंहासनमा बसिरहेका थिए, र सबै अगमवक्ताहरूले चाहिँ तिनीहरूका अगि अगमवाणी कहिरहेका थिए। केनानाका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्‍म उनीहरू नष्‍ट हुँदैनन्‌ तबसम्‍म हान्‍नुहुनेछ’।” अरू सबै अगमवक्ताहरूले त्‍यस्‍तै अगमवाणी कहिरहेका थिए। तिनीहरूले भने, “रामोत-गिलादमाथि चढ़ाइ गरेर विजयी हुनुहोस्‌। किनकि परमप्रभुले त्‍यो राजाको हातमा सुम्‍पिदिनुहुनेछ।” मीकायालाई बोलाएर ल्‍याउनलाई गएको समाचारवाहकले तिनलाई भन्‍यो, “हेर्नुहोस्, अरू अगमवक्ताहरूले त एकै मत भएर राजालाई सफलताको अगमवाणी कहिरहेछन्‌। तपाईंको वचन पनि तिनीहरूको वचनसितै सहमत भएको होस्, राम्रो कुरा भन्‍नुहोस्‌।” तर मीकायाले भने, “जीवित परमप्रभुको नाउँमा म शपथ खाएर भन्‍दछु, परमप्रभुले मलाई जे भन्‍नुहुन्‍छ, त्‍यही मात्र म बोल्‍नेछु।”